यात्रा अनुभव : ‘स्वर्ग रहेछ नेपाल, दयालु रहेछन् नेपाली’ (फोटो फिचर)


म्याक्स अभय पोख्रेल । घुम्ने रहर सानैदेखि, कसैले कतै घुम्न जाउँभन्दा सायद नै कसैलाई नाइँ भनेँ होला । नयाँ ठाउँ पुगेर नयाँ ठाउँ जानुको मज्जा बेग्लै लाग्थ्यो । एक दुई चोटी घरबाट भागियो पनि घुम्ने रहर बोकेर ।


नेपाल सुन्दरताले भरिपूर्ण देश, आफूलाई फोटो खिच्ने रहर भएर हरेक दिन सामाजिक सञ्जालमा आफ्नै देशका रमाइला ठाउँ र नौला मानिसका फोटो देख्दा डाहा लाग्थ्यो, ती ठाउँ कहिले पुग्ने होला भनेर । तर यो सुन्दर र शान्त देशमा हामी आफैँ भाँडिएको देख्दा दुःख लाग्छ । हामी मिल्नुको सट्टा आफैँमा लड्न र झगडा गर्नमा व्यस्त छौँ । नेपाललाई कसैले हेपेको छैन र नेपाल सानो वा निरिह छैन, वास्तवमा हामी नेपाली आफैँले एक अर्कालाई हेपेका छौँ ।


मिल्नै पर्ने ठाउँमा हामी आफैँ विभाजित छौं । एकता विविधता भनेर चिनिने देशबाट आज नकारात्मक सन्देश गइरहेको छ । नेपाल घुम्न आउने बाहिरी पर्यटक पनि यस्तै कारणले कम आउन थालेका छन् । त्यही माथि भर्खरै भुकम्पले हल्लाएको हाम्रो देशको पर्यटन…उफ् !
यस्ता नकारात्मक सन्देश रोक्न र सम्पूर्ण नेपालीलाई मिलेका छन् भनेर बुझाउन आवश्यक छ । नेपाल सुन्दर र शान्त छ भनी देखाउन देशका विभिन्न ठाउँमा यात्रा गर्नुपर्ने आवश्यकता देखेँ । तर देशभर यात्रा गर्नु सजिलो थिएन । पहिले चाहिने कुरा थियो, पैसा । यति लामो यात्रा गर्न लाग्ने खर्च जुटाउन नै गाह्रो थियो । त्यसैले कम खर्च हुने गरी हिँडेरै यात्रा गर्ने सोचें । नेपालको सबै ठाउँ जाने सपना साँचेँ, त्यसमा पनि केही छुटाउनै नहुने ठाउँहरुको सुची तयार गरेँ । अब एउटा कुराको खाँचो थियो, साथी । मैले यो कुरा मेरो एक जना साथी सुमन कार्कीलाई सुनाएँ । उसले मेरो योजना सुन्नासाथ भन्यो, ‘हुन्छ, विदेशबाट फर्किएपछि कतै जाऊँ भनेर सोचिराखेको थिएँ ।’


साथीको कुराले मलाई झन् ऊर्जा थप्यो । एक महिनापछि नै हामीले यात्रा थाल्यौं । ७५ वटै जिल्ला घुम्ने योजना बन्यो । त्यो पनि पैदल । किनकी हामीसँग देश घुम्न बसलाई तिर्ने पैसा थिएन । हामीले अभावका बिच सम्भावना खोज्यौं । हामी चिन्तित थिएनौं । हिड्दा हाम्रा पैताला पोल्लान्, खुट्टा दुःख्लान् । तर हामी पुर्खाको प्राकृतिक गन्तव्य पछ्याउँदैछौं । अनि प्रकृतिको आनन्द लिँदैछौं ।


यो इतिहासप्रतिको हाम्रो समर्पण समेत हो । त्यसैले हामीले आँट गरेका थियौं । यो गाह्रो कामको लागि हाम्रो यात्राको एउटै आधार थियो, ‘यात्राको क्रममा भेटिएका मानिसहरुको माया ।’ २०७३ साल फागुन १ गते घरबाट बिदा भएर महेन्द्रनगरको गाडी समात्यौँ र सुदूरपश्चिमको कन्चनपुर पुग्यौं । भेटिएका नेपालीसँग खाना र सुत्ने ठाउँ माग्दै आफ्नो यात्रा दोधारादेखि सुरु गर्यौं । आज यात्रा सुरु गरेको पाँच महिना बढी भइसक्यो । यसबीचमा २९ जिल्ला पुगेका छौं । मुस्ताङमा रहेर यी कुरा लेख्दै गर्दा लाग्छ साँच्चै स्वर्ग रहेछ नेपाल र साँच्चै नै दयालु रहेछन् नेपाली ।

हामी अहिले पनि बेखर्ची छौँ । साथ र सहयोग माग्दै छौँ । एउटा नैतिक सहयोग, माया, साथ अनि सहयोग पाउँदा पनि गर्व महसुस हुन्छ । कहीँ कतै गाह्रो भएपनि एकजना भेटिएकै छ माया र यो यात्रालाई सहयोग गर्ने । यहाँ हरेक पाइलामा नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ भेष भेटिन्छ तर ती सबै नयाँ पनि आत्मीय लाग्ने । त्यसैले हरेक पाइलामा आमा, बुबा, दिदिबहिनी, भाइ भेटिए ।


यात्राको ९७औं दिनमा मेरो अर्को साथी करण कार्की पनि यात्रामा सहभागी हुन आइपुगेको छ । विदेश जाने तयारी गर्न लागेको साथी हामीले सामाजिक सञ्जालमा हालेका फोटोहरु देखेर छक्क पर्दै रहेछ । रारा, से फोक्सुण्डोका तस्विर देख्दा उसले आफूलाई रोक्न सकेनछ । हामी कैलालीमा हुँदा यात्राको ९५औं दिनमा ऊ टुप्लुक्क आइपुग्यो । हामी पनि निकै खुसी भयौं । अहिले हामी तीनजना नेपालभर पैदलै घुम्दैछौं ।
नेपालीलाई एकता र सद्भावको मालामा उन्दैछौं ।

हाम्रो मुख्य उद्देश्य भनेको नै यो देश सुन्दर र शान्त छ भनेर चिनाउनु हो । हामीलाई यस देशका मानिसहरुभित्र अझै पनि माया र मानवीयता जिउँदो रहेको छ भनेर देखाउनु छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
आजको राशिफल : कार्तिक २ गते, आइतबार