झापा ११ को विजय सुरुवात
राजु पौडेल
झापा, कार्तिक २८ । झापाको शिवसताक्षीमा मंगलबारबाट दोस्रो सताक्षी गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टोली झापा ११ ले विजय सुरुवात गरेको छ ।

झिलझिलेस्थित खेलमैदानमा झापा ११ ले पोखरा ११ कास्कीलाई शुन्यका बिरुद्ध ५ गोलले हराउँदै सेमीफाइनलको यात्रा समेत तय गरेको छ । पहिलो हाफको १२ औं मिनेटमा झापाका लागि बिदेशी खेलाडी मार्टिन अजयले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । उनले बिपक्षी पोष्टको सेकेण्ड बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको १७ औ मिनेटमा योगेश गुरुङको पासलाई वान टच खेल्दै झापाका गोल मेशीन कर्ण लिम्बुले टीमको अग्रता दोब्बर बनाए । १९ औं मिनेटमा झापाका लागि बिशाल राईले गोल पोष्टको दायाँ बार च्याप्दै गरेको भली प्रहार गोलमा परिणत भएको थियो । किपर बीट भएको मौका पारी राईले सुन्दर गोल गरेका हुन् ।

दोस्रो हाफको ११ मिनेटमा झापाका मिडफिल्डर खमिर गिल्सन कन्दङवाले पोखराका गोलकिपर दीप कार्की अगाडी बढेको मौकामा मैदानका मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको ३१ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बुले व्यक्तिगत दोस्रो तथा टीमको लागि पाँचौ गोल गर्दै गोल अन्तर फराकिलो बनाएका थिए ।

पहिलो हाफको ३८ औं मिनेटमा पोखराका खेलाडीले गरेको प्रहार झापाका गोलकिपर किशोर गिरीले आकर्षक बचाउ गरे । दोस्रो हाफको १५ मिनेटमा पोखराका खेलाडी अजित गुरुङले हानेको प्रहार झापाका गोलरक्षक बिफल बनाए । घरेलु दर्शकको भरपुर समर्थन पाएको झापाले गोल गर्न पाएको अवसर खेर फालेको थिएन ।

खेलको म्यान अफ द म्याच झापा ११ का कप्तान योगेश गुरुङ घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । खेलको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भोलीको खेल मध्य प्रदेश भारत र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन् ।