माओवादी लडाकुको कारुणिक कथा : निस्किने भयो १५ बर्षदेखि शरीरमा रहेको गोली (भिडियो सहित)


ईपूर्व डेक्स
झापा, चैत १९ । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामार अनुपा राईको उपचार झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले निःशुल्क गरिदिने भएको छ । शरीरमा रहेका गोलीका छर्रा निकाल्न अनुपा बिएण्डसी अस्पताल आइपुगेकी छन् ।

                     

अस्पतालले पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङ घर भएकी पूर्व छापामार अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशूल्क उपचार गरिदिने भएको हो । उहाँको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि अस्पतालले निःशुल्क उपचार गरिदिने व्यवस्था मिलाईएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । प्रसाई पनि माओवादी कार्यकर्ता नै हुन् ।

अनुपालाई २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर युद्धमा गोली लागेको थियो । उनको टाउको र देब्रे छातीमा लागेको छर्राले अहिले धेरै पीडा दिन थालेको छ । पटक पटक माओवादी सरकारमा गएपनि, धेरै नेताहरुलाई आफ्नो पिडा सुनाएपनि कतैबाट उपचारका लागि पहल नगरिएको उनले गुनासो गरिन् । निजी क्षेत्रको अस्पतालले आफ्नो उपचारमा चासोमा देखाएकोप्रति उनले खुसी व्यक्त गरिन् । ‘केही अस्पतालमा आफ्नै खर्चमा उपचार गर्न गएँ’ उनले भनिन्, ‘तर भएन, उहाँहरुले आफ्नै खर्चमा उपचार गरिदिने भन्नु भएको छ, अब राम्रो हुन्छ होला ।’

जनयुद्धमा अनुपाको संर्घष

वि.सं. २०५७ मा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षामा पढ्दापढ्दै अनुपा युद्धमा होमिइन्, जतिबेला उनी १५ वर्षकी थिइन् । ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ’ उनले भनिन्, “२०६३ सालमा छोरा जन्मेपछि पार्टीको सैन्य फाँट छोडँे, र आफ्नो छापामार जीवनकालमा पाँचवटा युद्ध लडेँ ।”

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले वीरतापूर्वक लडिन् । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भइन् । घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उनले लडेको अन्तिम युद्ध हो ।

‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन्, ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ लगेछन्, त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’ गोली लागेर बेहोस भएकी उनी छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेकी थिइन् ।

उनी शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर, काजकिरिया चाँही गरिएन घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुगिन् । तर, छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम पनि भरिन् । तर, अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति नपाएको उनको दुखेसो छ ।

यसरी हुदै उपचार

पार्टीले उपचार गरिदिन्छ भन्नेमा उनी आशावादी थिइन्, तर त्यसो हुन सकेनन् । ‘हाम्रै कारणले मुलूकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र मजस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ अनुपाले भनिन् ।

बिएण्डसी अस्पताल प्रशासनका अनुसार मंगलबार उनको शशिरमा भएका गोलीका छर्राहरु निकालिनेछ । अस्पतालका वरिष्ठ सर्जन पंकजराज नेपालले टाउकोको एउटा र घाँटीमा २ वटा छर्रा सुरुमा निकालिने बताए । शशिरका अन्य भागमा अरु छर्राहरु भएपनि यी छर्राहरुले पिडा दिएका कारण हाललाई ति छर्रा मात्र निकालिने उनको भनाई थियो ।

युद्धकालमै पाँचथर तत्कालीन छापामार मनकुमार राईसँग पाटीभित्रै विवाह गरेकी अनुपाका श्रीमान् चार वर्ष यता मलेसियामा छन् । उपचारका लागि उनका केही आफन्त र १२ बर्षीय छोरा लिएर अनुपा यतिबेला बिएण्डसीमा छिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा
बिर्तामोडबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुई पक्राउ
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम