आहा ! क्या राम्रो कन्याम (वृत्तचित्र सहित)


राजु पौडेल
कन्याम (इलाम), कार्तिक २८ । कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो ।


झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । कन्याम घुम्न आउने मानिसहरुले घोडा चढेर मनोरञ्जन लिन सक्छन् । दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन थालेपछि व्यवसाय फस्टाउन थालेको हो । फिक्कल र कन्यामका गरी अहिले ३० वटाभन्दा बढी घोडा दिनहुँ पर्यटक ओसारपसारमा निस्केका हुन्छन् । कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् । प्रायः साताको शनिबार अत्यधिक पर्यटक आउने गरेका छन् ।
पिकनिक खाने र घुम्ने सिजन सुरु भएसँगै झापा, मोरङ्ग सुनसरीदेखि लिएर काठमाडौँ पोखराबाट समेत यहाँ पर्यटक आउन थालेका छन् । शनिबार पर्यटकको चाप र उनीहरुले प्रयोग गरेका गाडीका कारण मेची राजमार्गअन्तर्गतको कन्याम–हर्कटे सडकखण्ड अवरुद्धसमेत हुने गरेको छ ।

कसरी पुग्ने ?
सुदुर पूर्वको झापामा रहेको भद्रपुर विमानस्थलबाट करिब ४८ किलोमिटर उत्तर दिशामा अवस्थित छ कन्याम । भद्रपुर विमानस्थलबाट चारआली हुँदै कन्याम पुग्न सकिन्छ । पूर्वपश्चिम राजमार्ग भएर आउने यात्रु तथा पर्यटकले झापाको चारआलीबाट ३८.४ किलोमिटर यात्रा तय गरेपछि इलामको पर्यटकिय नगरी कन्याम पुगिन्छ । भौतिक पूर्वाधार तथा यातायातका साधनहरू गुड्ने फराकिलो सडक भएको कारण निजि सवारी एवम् साना तथा ठुला सवारीहरू समेत प्रयोग गरेर कन्यामको अवलोकन, भम्रण गर्न सकिन्छ । –(विकीपिडियाको सहयोगमा)

यस्तो छ कन्यामको व्यथा !
सरकारले प्रत्येक बर्ष पर्यटकीय क्षेत्रको विकासका लागि भन्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा नेपालको पर्यटनको पहिचान झल्काउन पर्यटकीय स्थलहरुको प्रचारप्रसार समेत गरिरहेको हुन्छ । त्यस मध्ये एक हो पहाडकी रानी भनेर चिनिने इलामको कन्याम । तर, सरकारकै अदुरदर्शी सम्झौताका कारण यो क्षेत्रको पर्यटकीय विकासले भने गति लिन सकिरहेको छैन ।
पहाडकी रानी भनेर चिनिने इलामको कन्याम पूर्वकै पर्यटकीय क्षेत्रहरु मध्येको एक प्रमुख गन्तव्य हो । यो क्षेत्रको डाँडाँकाडाँमा फैलिएको चियाको बोटहरु यसको प्रमुख आर्कषण हो । तर, ४३ सय रोपनी क्षेत्रफलको सरकारी जमिनमा चियाका बोटहरु फैलिएको भएपनि यो क्षेत्रको हकदार भने संघाई गु्रप हो । २०५७ सालमा तत्कालिन श्री ५ को सरकारले कन्याम चिया बगान सहित झापा र इलामका सात वटा बगानलाई निजीकरण गरेदेखी यो क्षेत्रको पर्यटकीय विकासले गति लिन सकेको छैन ।
कन्यामको चिया बगान हेर्न दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु आइरहेपनि यो क्षेत्रको व्यवस्थित विकास हुन सकेको छैन । पिकनिक स्पट, खानेपानी, शौचालय, पार्किङ्ग, सुरक्षा व्यवस्था र व्यवस्थि होटलहरु नहुँदा समस्या भएको आन्तरिक पर्यटक बताउँछन् ।
केही वर्ष अघि घोषणा भएको सुर्याेदय नगरपालिका र स्थानीय पर्यटन व्यवसायीहरुसँग यो क्षेत्रको पर्यटकीय विकास गर्ने थुपै्र योजनाहरु छन् । तर, संघाई गु्रपले सञ्चालन गर्दै आएको निगम अन्र्तगतको यो बगानमा कुनै पनि पर्यटकीय गतिविधी सञ्चालन गर्न नदिने गरेको स्थानीय पर्यटन व्यवसायीको दुखेसो छ । ‘संघाई गु्रपले केही गतिविधी नै गर्न दिदैन’ स्थानीय काजिमान कागतेले भने, ‘सरकारकै कमजोरीका कारणले कन्यामको विकास हुन सकिरहेको छैन ।’
नेपाल चिया विकास निगमको मातहतमा रहेका कन्याम चिया बगान सहित सात वटा चिया बंगानमा सरकारको पंैतिस र संघाई गु्रपको पैंसठी प्रतिशत शेयर छ । संघाईको बढी सेयर भएकै कारण बगान माथिको एकाधिकार उसले प्रयोग गर्दै आएको छ । सरकारसँग निगमले जग्गा भाडामा लिएका कारण त्यो क्षेत्रमा कुनैपनि कार्यक्रम सञ्चालन गर्न नमिल्ने नेपाल चिया विकास निगम लिमिटेडका प्रशासन प्रमुख लोकनाथ दंगाल बताउनुहुन्छ ।
व्यवसायीक घराना संघाई गु्रपले आफ्नो हितका लागि यस किसिमको कार्य गर्नु एकातिर जायजै होला । तर, सुवासचन्द्र संघाई कार्यकारी निर्देशक रहेको निगमले नै प्रत्येक वर्ष घाटा भएको विवरण अर्थमन्त्रालयलाई पेश गर्दै आएको छ । यति मात्र होइन सरकारलाई नै बुझाउनु पर्ने एकीकृत सम्पति कर पनि बषौं देखी बुझाएको छैन । संघाईकै बगानमा काम गर्दै साँझविहानको छाक टार्ने गरेका स्थानीय समेत यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिए आफ्नो जिवनस्तर उकासिने राय राख्छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक