फिदिम नगर कप : झापाको रेड स्टार फाइनलमा प्रवेश


पाँचथर । पाँचथरको रानीटारमा जारी तेस्रो फिदिम नगर कपको अन्तिम सेमिफाइनल खेलबाट झापा बिर्तामोडको रेड स्टार एफसी फाइनलमा प्रवेश गरेको छ ।

फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै रेड स्टार झापा फाइनलमा प्रवेश गरेको हो ।

तेस्रो पटक फाइनल यात्रा गरेको झापाका लागि सानुका लिम्बू र सरोज कार्कीले गोल गरेका थिए भने काठमाडौँका लागि एकमात्र सान्त्वना गोल कप्तान सोम थापाले गरेका हुन् । स्मरणीय छ, यसअघि दुई संस्करणको साविक विजेता रेड स्टार एफसी झापा हो ।

कडा प्रतिस्पर्धा भएको खेलमा दुवै टोलीले पहिलो हाफ १-१ गोलको बराबरी खेलेका थिए । झापाका लागि फाइनल यात्रा तय गर्न उपकप्तान सरोज कार्की भाग्यमानी सावित भएका थिए ।

पहिलो हाफको २४औँ मिनेटमा सानुका लिम्बूले गोल गर्दै रेड स्टारलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अन्तिम समयमा चर्च ब्वाइजका कप्तान सोम थापाले गोल गर्दै खेलमा फर्किएको थियो ।

दोस्रो हाफमा लय समाएको चर्च ब्वाइजले थुप्रै अवसर खेर फालेको थियो । फाइनल यात्रा तय गर्नका लागि कडा प्रतिप्रस्धा गरेका दुवै टोलीले अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेका थिए ।

म्यान अफ दी म्याच घोषित झापाका सरोज कार्कीले खेल सकिन ३ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल सम्झनलायक बन्यो । करिब ३० यार्डको दूरीबाट गरेको प्रहारले पहिलो बार च्याप्दै जाली चुमेपछि झापा तेस्रो पटक फाइनल यात्रामा पुगेको हो ।

झापाको फाइनल यात्रासँगै भोलि हुने महाभिडन्तमा ताप्लेजुङको कर्णसिं सोनाम मेमोरियल एफसीसँग उपाधिका लागि भेट पक्का पनि गरेको छ । यी दुवै टोलीले कम्तिमा ८० हजार सुरक्षित गरे ।

स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल भोलि पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा गोल्डकप फागुन २१ बाट हुने
तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
झापालाई तेस्रो पटक फिदिम नगर कपको उपाधि