फिदिम नगर कप : झापालाई हराउँदै ताप्लेजुङ फाइनलमा


पाँचथर । झापाको अल इन वान क्लब सैनिकलाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम मेमोरियल एफसी तेस्रो फिदिम नगर कपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार झापालाई झिनो गोलअन्तरले पाखा लगाउँदै ताप्लेजुङ फाइनल प्रवेश गरेको हो ।

झापालाई १-० गोलको कठिन जितबाट ताप्लेजुङले फाइनल यात्रा तय गरेको हो । दुुवै टोलीको प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङले दोस्रो हाफमा बाजी मारेको हो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

ताप्लेजुङको जितमा मनिराज लिम्बू भाग्यमानी सावित भए । म्यान अफ दी म्याच घोषित मनिराजले टिमका लागि दोस्रो हाफको २२औँ मिनेटमा गोल नै निर्णायक बनेको थियो । अन्तिम क्षणसम्म दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।

खेलको अन्तिम समयतिर ताप्लेजुङका युवराज लिम्बू रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनले झापाली खेलाडी आशिष गुरुङमाथि फाउल गरेपछि मुख्य रेफ्री गम्भीरहाङ नेम्बाङ रातो कार्ड देखाएका थिए ।

दुवै टोलीले पाएको थुप्रै अवसर गोलमा परिणत नहुँदा खेलको ५७औँ मिनेटसम्म गोलको खडेरी नै रहेको थियो । फाइनल प्रवेशका लागि भएको खेल सम्झनलायक नरहे पनि रोमाञ्चक बनेको थियो ।

ताप्लेजुङले सेमिफाइनलबाट जित दर्ता गर्दै फाइनल प्रवेश गरेसँगै कम्तिमा ८० हजार सुरक्षित गरेको छ । आजै अन्तिम सेमिफाइनल खेल पनि हुनेछ । जसमा झापाको रेड स्टार एफसी र काठमाडौँको चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा गोल्डकप फागुन २१ बाट हुने
तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
झापालाई तेस्रो पटक फिदिम नगर कपको उपाधि