फिदिम नगर कप : इलामसँग कमब्याक गर्दै चर्च ब्वाइजको जित


पाँचथर । उत्कृष्ट कमब्याक गर्दै काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेड फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो खेलमा चर्च ब्वाइजले इलामको पशुपति ११ लाई ४-२ गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवातमै १ ० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चर्च ब्वाइजले इलाममाथि बाजी मारेको हो ।

इलामले खेलको ५ मिनेटमै उत्कृष्ट गोल गर्दै अग्रता लिएको थियो । इलामका लागि शेखर राईले दर्शनीय गोल गरेका थिए । पहिलो हाफमा इलामले अग्रता लिएको थियो ।

तर, चर्च ब्वाइजका सनम भुजेलले दोस्रो हाफको ५औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए । यस्तै, चर्च ब्वाइजका कप्तान सोम मगरले खेलको २९ र ४८औँ मिनेट, विवेक पौडेलले ४१औँ मिनेटमा गोल गर्न सफल भए । इलामका लागि सविन राईले खेलको ५०औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे । खेलकाे म्यान अफ दी म्याच चर्च ब्वाइजका कप्तान सोम मगर घाेषित भए ।

चर्च ब्वाइजले भोलि (बिहीबार) सिक्किमको पाण्डा स्पोर्टिङ क्लबसँग दोस्रो खेल खेल्नेछ भने पहिलो खेलमा झापाको रेड स्टार क्लब र पाँचथर क्लबबीच भिडन्त हुनेछ ।

स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा गोल्डकप फागुन २१ बाट हुने
तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
झापालाई तेस्रो पटक फिदिम नगर कपको उपाधि