अर्जुनधारामा महागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरिने


अर्जुनधारा । झापाको अर्जुनधारा ९ स्थित सालबारीमा समाज सुधारक तथा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको नवनिर्मित शालिकको मंसिर २६ गते अनावरण गरिने भएको छ ।

फाल्गुनन्द स्मृति प्रतिष्ठानलले स्थापना गरेको शालिकसँगै किरातेश्वर मन्दिरको प्राण प्रतिस्थापन पनि सोही दिन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो क्षेत्रमा प्रतिष्ठानले धार्मिक पर्यटन स्थल तयार पारेको छ । धार्मिक पर्यटनलाई प्रर्वद्धन र विकास गर्ने उदेश्यले नमुना सामाुदायिक वन क्षेत्रभित्र किरातेश्वर हाङसाम थेवा युमा माङहिम धार्मिक स्थलको भौतिक संरचना निर्माण गरेको आयोजक समितिका कोषाध्यक्ष खगेन्द्र इङनामले जानकारी दिए ।

बहुधार्मिक पर्यटकीय पहिचान बनाउन सुरु गरेको नमुना सामुदायिक वन क्षेत्रमा विभिन्न जातजाति र धर्मावलम्वीहरुको धार्मिक आस्थाका मन्दिर निर्माण भइसकेको छ । जस अन्र्तगत २०७४ सालमा निर्माण सुरु गरिएको माङहिम २०७५ सालमा आएर सम्पन्न भएको छ । माङहिमसंगै किरात धर्मका आस्थाका धरोहर महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक बनाइएको छ ।

उक्त शालिकको अनावरण र माङहिमको उद्घाटन मंसिर २६ गते नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्राहाङमाले गर्ने कार्यक्रम तय भएको आयोजक समितिका प्रचारप्रसार समिति संयोजक लवकुश गौतमले बताए ।

किरात धार्मिक क्षेत्रमा मुल मन्दिर, महागुरुको शालिक, धुनी कुण्ड, पुजारी आश्रम, मूलगेट, शौचालय, घेराबारा लगायतको भौतिक संरचना निर्माण गरिएको छ । उक्त धार्मिक क्षेत्र निर्माणको लागि नेपाल सरकारबाट २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र दाताहरुबाट उठेको २५ लाख गरि जम्मा ५० लाखको लागतमा निर्माण सम्पन्न भएको मुल आयोजक समितिका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

धार्मिक स्थलमा आर्कषणको रुपमा रहेको महागुरु फाल्गुनन्दको शालिक रहेको छ । शालिक निर्माणमा समितिले १० लाख खर्च गरेको छ । उक्त ढुङ्गाको शालिक मोरङ उर्लाबारीस्थित मन्जुल मेतेरी कला केन्द्रका मूर्तिकार भक्त राईले तयार पारेका हुन् ।

२६ गते हुने कार्यक्रमलाई भव्य बनाउन समितिले विभिन्न कार्यक्रमहरु तयार पारेकोे छ । धर्मगुरुहरुलाई स्वागत गर्नको लागि खुदुनाबारीको फाल्गुनन्द चोकबाट र्याली सहित ल्याउने तयारी गरेको छ । आयोजकले विभिन्न उपसमितिहरु पनि बनाएको छ ।

उपसमितिहरुको संयोजकमा प्रचारप्रसार तथा स्वमंसेवक परिचालन लवकुश गौतम, अतिथि एवम् दानवीर दाता सत्कार शेरबहादुर इङनाम, खाद्यान्न व्यवस्थापन तिलसिंह लिम्बू, पूजा सामग्री तथा प्रसाद व्यवस्थापन फिपराज कुरुम्वाङ, कार्यक्रमस्थल व्यवस्थापन मोहन सुब्बा, अनुगमन उपसमिति संयोजकमा लक्ष्मी इङनामको संयोजकत्वमा उपसमिति बनाइएको छ । पत्रकार भेटघाट कार्यक्रममा स्वागत मूलसमिति सदस्य मोहन सुब्बा र संचालन खगेन्द्र लिम्बुले गरेका थिए ।

देशकै नमूना प्रतिष्ठानको रुपमा विकास गर्ने लक्ष्यका साथ माङहिमको गुरुयोजना तयार पारिएको, फाल्गुन्द वाटिका निर्माण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्ने लगायतको योजनाहरु फाल्गुनन्द स्मृति प्रतिष्ठानले अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकमा मनाइयो टोपी दिवश
बिर्तामोडमा तेस्रो नेवा : फूड फेस्टिवलको तयारी
बुद्धशान्तिमा बन्द गराउँदै हिँड्ने विप्लवका इन्चार्ज सहित ७ प्रकाउ
बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ