संसद् बैठक आज पनि, चल्न नदिने एमालेको रणनीति


काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ ।

सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए ।

अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ । तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए ।

‘अदालतमा बिचाराधीन मुद्दा २८ गते छिनोफानो हुँदैछ भन्ने जान्दा जान्दै बैठक राख्ने हतारो के थियो । सभामुखको नियत नै मुठभेड गराउने देखिन्छ,’ रानाले भने, ‘अदालतबाट पनि न्याय नपाए सभामुखलाई महाअभियोग लगाउँछौँ ।’

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र नै  पाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
पाथीभरा दर्शन आजदेखि खुला
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने