बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ


झापा । झापाको बिर्तामोडमा दाइको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्या गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय भाइ रतन राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजबंशी आइतबार बिहान साढे ७ बजे मृत फेला परेका थिए। शव सुत्ने कोठाभित्र फेला परेको थियो। प्रहरीका अनुसार मृतकको अनुहारमा चोटपटक देखिएको थियो।

उनी अटो रिक्सा चालक थिए। हत्याको खबरपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिएको थियो।मृतक भात्रुका १५ वर्षीय छोरा देव नारायणले आफ्ना कान्छा काका रतनलालले बुवाको हत्या गरेको प्रहरीसमक्ष बताएका थिए। तर रतनलाल घटनास्थलबाट फरार भइसकेका थिए।

रतनलालले आफ्ना नौ वर्षीय छोरालाई साइकलमा लिएर फरार भएको देव नारायणले प्रहरीलाई बताएका थिए । प्रहरीको टोलीले रतनलाललाई आइतबार राति ९ बजे मेचीनगर नगरपालिका वडा नम्बर १५ स्थित आफन्तको घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। रतनलाल मिस्त्री काम गर्थे।

हत्या गर्न प्रयोग भएको मार्तलसमेत प्रहरीले बरामद गरेको उनले बताए। हत्या गर्नुपर्ने ठूलो कारण केही नभएको प्रहरीले बताएको छ।

‘उनीहरू केहीदिनदेखि सँगै बस्दै आएका थिए। दाजुभाइबीच सामान्य झगडा भएको रहेछ। ठूलो कारण केही छैन,’ प्रहरी उपरीक्षक थापाले भने,’हाम्रो वादविवाद पहिल्यैदेखि भइरहन्थ्यो। मलाई रिस उठ्यो अनि हत्या गरें भनेका छन्।’

झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ
अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला
लक्ष्मीपुरका होटल व्यवसायी राजेश महत निर्माणाधिन घरमा मृत फेला
करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु