काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात


झापा । आर्थिक वर्ष २०७७/०७८ मा पूर्वीनाका काँकडभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको जडीबुटी निर्यात भएको छ ।

यस अवधिमा विभिन्न प्रजातिका १८७.६ मेट्रिक टन जडीबुटी निर्यात भएको प्लान्ट क्वारेनटिन कार्यालय काँकरभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ९० लाख रुपैयाँले कमी हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको ३ सय १ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी भारत तथा बङ्गलादेश निर्यात भएको थियो ।

कोभिड-१९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनका कारण सिमानाका ठप्प हुँदा निर्यात घटेको साहुको भनाइ छ ।

जडीबुटी निर्यातबापत मेची भन्सार कार्यालयले प्रतिकेजी १ रुपैयाँका दरले राजस्व लिने गरेको प्रमुख भन्सार अधिकृत युवराज विश्वकर्माले बताउनुभयो । सो नाका भएर चिराइतो, रिट्ठा, पदमचाल, सतबरी, मजेठोलगायतका जडीबुटी बङ्गलादेश र भारततर्फ निर्यात हुँदै आएको छ ।

नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात भने घटेको व्यवसायीहरूको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?
सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा