नेपालले दशरथ रंगशालामा भारतसँग खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने शुक्रबार जनाएको हो ।एन्फाले दुबै मैत्रीपूर्ण खेल नेपालमा हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा हराएको थियो । दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई २(१ ले हराएको थियो । त्यसपछिको पाँच भेटमा नेपालले एक बराबरी खेल्दा अन्य खेल गुमाएको छ ।

१३औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुनेछ । तर, आयोजक राष्ट्र तय भएको छैन ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरिसकेको छ । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड १९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।

नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ। नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स
आजबाट फुटबल टिमको बन्द प्रशिक्षण