मुलुकभर आठवटा खोप भण्डारण गृह सञ्चालन


झापा । कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेका बेला सरकारले मुलुकभर आठवटा खोप भण्डारण गृह सञ्चालनमा ल्याएको छ । 

कोरोनाविरुद्धको खोपलाई सुरक्षितसाथ राख्न मिल्ने गरी सातवटै प्रदेशमा भण्डारण गृह निर्माण गरेर सञ्चालन गरिएको सरकारी अधिकारीले जनाएका छन् । सातवटा प्रदेशमा एक–एकवटा र बाराको पथलैयामा केन्द्र रहने गरी सञ्चालनमा ल्याइएका गृहमा लगाउनुअघि खोपलाई सुरक्षित गरेर राखिने छ । 

मुलुकभर खोप भण्डारण गृह निर्माणमा सरकारले छ करोड ६० लाख रूपैयाँ खर्च गरेको छ । अहिले कोरोनाविरुद्धको खोप भण्डारण गरेर राखिने गृहमा पछि अरु पनि खोप भण्डारण गर्न सकिने बताइएको छ । 

बाराको पथलैयामा, प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुरधामस्थित मुजेलिया, वाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा खोप भण्डारण गृह सञ्चालनमा ल्याइएको हो । 

आत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण गरिएका मध्ये केही भण्डारण गृह सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राख्ने तथा बाँकी खोप पथलैयास्थित केन्द्रीय भण्डारण गृहमा राख्ने योजना बनाएको छ । 

एकै पटकमा ठूलो मात्रामा खोप खरिद गरिए पनि यसअघि राख्ने ठाउँको अभाव थियो । गृह सञ्चालनपछि भने अब खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै