हल्दिवारीमा ११ वटा वहुवर्षीय योजना सञ्चालनमा: ‘हल्दिवारीको बाचा झापाभरि माछा’


झापा । झापाको हल्दिवारी गाउँपालिकामा ११ वटा बहुवर्षीय आयोजनाहरु सञ्चालनमा रहेको पाइएको छ । चालू आर्थिक वर्षमा विकास निर्माणका काम मध्ये ९० प्रतिशत सम्पन्न भएको र कोभिडका कारण १० प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको हल्दिवारी गाउँपालिकाले जनाएको छ ।
२०७७÷०७८ को वजेटले निर्दिष्ट गरेका योजनामध्ये ९० प्रतिशत योजनाको काम सम्पन्न भएको र वाँकी रहेका १० प्रतिशत काम आगामी आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहालले बताए ।
गाउँपालिकामा सञ्चालित वहुवर्षीय योजनाहरुमा ११ वटा योजना सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ ।

हल्दिवारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहने गरी यस अघिकै गाउँसभाले स्वीकृत गरी ठेक्का बन्दोबस्त भई सञ्चालित योजनाहरुमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, काठेपुल मुक्त गाउँपालिका अन्तर्गत काठे पुलहरु विस्थापन गरी ३९ वटा स्ल्याव कल्भर्ट निर्माण योजना (जसलाई ४ वटा प्याकेज वनाई ठेक्का बन्दोवस्त गरिएको थियो), ७ की.मी. लम्वाई भएको रमाइलो चौक बाघडाँडा लक्ष्मी मावि पाराखोपी हँुदै गरामनी जोड्ने कालोपत्रे सडक आयोजना, ४ की.मी. लम्बाई भएको पिपल चौक हल्दिबारी भेलागाडा चौक हँुदै गरामनी जोड्ने कालोपत्रे सडक योजना हुन् प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।
त्यस्तै गाउँपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई संख्यात्मक र गुणात्मक रुपमा वृद्धि गरी गाउँपालिकाको आन्तरिक आय बढाई सक्षम गाउँपालिका निर्माण गर्ने हेतुले गाउँसभाबाट लिइएको ‘फेरि पनि घुम्न जाउँ, हल्दिवारी गाउँ’ भन्ने नारालाई आत्मसात गर्न भेलागुढी शहीद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना समेत कार्यान्वयनमा रहेको वहवर्षीय आयोजना रहेको छ ।
आर्थिक वर्ष ०७७÷०७८को नीति तथा कार्यक्रम र आय–व्ययको अनुमान (बजेट) पारित गर्ने सन्दर्भमा बसेको हल्दिवारी गाउँपालिकाको सातौँ गाउँसभाबाट समेत केही योजनाहरु बहुवर्षे योजनाको रुपमा स्वीकृत भई यस वर्ष कार्यान्वयनमा रहेको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ । जसमा मंगलबारे बडाबारी हुँदै पाथीभरा पर्यटकीय क्षेत्रबाट ओली चौक तर्फ र केदार उप्रेतीको घरबाट बोडोसा चौक हुँदै कञ्चनश्री चन्द्रमार्ग जोड्ने सडक कालोपत्रे योजना ५.५ की.मी., मेजर्नी चौक उत्तर कन्तारगुटुबाट दलित बस्ती हुँदै रामहरी चौक जाने कालोपत्रे सडक योजना ४ की.मी., कुलुङ्गे चौकबाट ढडुवा हुँदै जम्बा चौक पश्चिम हुलाकी राजमार्ग जोडने सडक ४ की.मी., जनजागृति माविबाट किरात चोक हुँदै लाटी होली जोड्ने सडक कालोपत्रे ७ की.मी रहेका छन ।

नेपाल सरकारबाट अल्पसंख्यक जातहरु मेचे र राजबंशी समुदायलाई लक्षित गरी तिनीहरुलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकाबासीहरुलाई स्वच्छ खानेपानीको आपूर्ति व्यवस्था मिलाउन विशेष अनुदानको रुपमा प्राप्त दुई करोड बजेटबाट यस वर्ष ७ की.मी. पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न गरेको छौँ भने मेचे समुदायहरुमा खानेपानीको सुविधा उपलब्ध गराउन आवश्यक धारा सामग्रीहरु निःशुल्क वितरणको लागि खरिद कार्य सम्पन्न भई हस्तान्तरण हुन बाँकी छ– दाहालले भने ।

खानेपानी पाइप तथा फिटिंग्स लगायत अन्य खानेपानी वितरणसँग सम्बन्धित सामग्रीहरुको खरिद कार्य सम्पन्न भई आगामी आ.व. मा गाउँपालिका क्षेत्रभित्रका तीन वटै खानेपानी उपभोक्ता समितिसँग छलफल, सहकार्य र समन्वय गरी अतिआवश्यक क्षेत्रमा खानेपानी पाइप विस्तार गर्ने कार्य गरी जनताको शुद्ध खानेपानी प्राप्त गर्ने हकलाई मूर्तरुप दिने गाउँपालिकाको योजना रहेको दाहालको भनाइ छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न सवै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने नीति बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हल्दिवारी गाउँपालिकालाई समेत १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्न आवश्यक पर्ने सर्वे लागत नेपाल सरकारले व्यहोर्ने गरी रु. १८ करोड विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

अस्पताल भौगोलिक हिसावले केन्द्रमा रहने गरी वडा नं. १को चक्ला चोकमा निर्माण हुने गरी ठेक्का बन्दोवस्त भई सम्झौताको चरणमा रहेको छ । त्यस्तै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आयोजना सञ्चालन गर्ने गरी भेलागढी शहीद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजनाको लागि रु. पाँच करोड विनियोजन भएकोमा चिल्ड्रेन पार्क लगायत अन्य संरचना निर्माण हुने गरी सो को समेत ठेक्का बन्दोबस्त भई सम्झौताको चरणमा रहेको छ ।

काठेपुलमुक्त गाउँपालिका अभियान अन्तर्गतको विभिन्न स्थानमा ३९ वटा स्ल्याव कल्भर्टहरु निर्माण सम्पन्न भई सकेका छन् । परिस्थिति सामान्य भएको अवस्थामा आगामी आ.व.को पहिलो चौमासिकमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भई मंसीर महिनादेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह हुनेछ ।

त्यस्तै रमाइलो चौक बाघडाँडा–लक्ष्मी मावि–पाराखोपी हुँदै गरामनी जोड्ने कालोपत्रे सडक, पिपल चौक–हल्दिबारी–भेलागाडा चौक हुँदै गरामनी जोड्ने कालोपत्रे सडक योजना र भेलागुढी शहीद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना (पहिलो चरणको ठेक्का) समेत आगामी आ.व को पहिलो चौमासिकभित्र सम्पन्न हुने छन् । भेलागुढी शहीद स्मृति लोकतान्त्रिक पार्क निर्माण आयोजना, दोश्रो चरणको ठेक्का अन्तर्गतको निर्माण कार्य आ.व. ०७८।७९ भित्र सम्पन्न हुनेछ भने अन्य बहुवर्षीय आयोजनाहरु आगामी आ.व. मा समेत बजेट विनियोजन गरी द्रुत गतिमा सम्पन्न गर्ने लक्ष राखिएको गाउँपालिकाले जनाएको छ ।

यता कृषि क्षेत्रको विकासका लागि समेत हल्दिबारी गाउँपालिकाले ‘हल्दिवारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने मूल नारालाई अघि सारेको छ । ‘हल्दिबारीको वाचा, झापाभरी माछा’ कार्यक्रममार्फत कृषकहरुलाई माछापालन गर्न उत्प्रेरित गरी अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

‘एक घर, एक मौरी घार कार्यक्रम’ अन्तर्गत कृषकहरुलाई उनीहरुको समेत लागत साझेदारी रहने गरी मौरीको घार वितरण गरिएको बताइएको छ । ५० प्रतिशत लागत साझेदारीमा कृषकहरुलाई सवै खाले मौसममा सिञ्चाई सुविधा उपलब्ध गराउने उद्देश्यले मोटर सहितको वोरिङ निर्माण गर्न ३२ हजार रकम प्रति किसान अनुदान १७५ जना कृषकलाई वितरण गर्नको लागि अनुगमन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उन्नत जातका कृषिसँग सम्बन्धित वीऊ विजनहरु आवश्यकता अनुसार वितरण गर्ने गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला
माछा पोखरीमा डुबेर झापामा एकको मृत्यु
मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य
बिर्तामोड नगरपालिकामा अपारदर्शीता बढेको भन्दै जागे युवा, नगरसभा चल्न नदिने चेतावनी