दुहागढीमा २२ करोडको होल्डिङ सेन्टर


झापा । काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई लक्षित गरी नेपाली सेनाले झापाको मेचीनगर–१४ दुवागढी हडिया खोला नजिक एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बुधवार सम्पन्न बैठकले उक्त स्थानको दक्षिणतर्फबाट चार विगाह क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले स्थानको बारेमा टुंगो लगाउँदै तत्काल काम अगाडि बढाउने निर्णय गरेको हो । करीब २२ करोड रुपैयाँको लागत रहेको होल्डिङ सेन्टरको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

प्रजिअ तिमिल्सिनाका अनुसार दुवागढीमा बन्ने होल्डिङ सेन्टर फेब्रिकेटेट अत्यन्तै व्यवस्थित हुने छ । उक्त कार्य छोटो समयमै सम्पन्न हुने बताइएको छ । होल्डिङ सेन्टरका लागि मेचीनगर–७स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय भएकोमा उक्त जग्गा अपुग हुने देखिएकोले अर्को स्थानको खोजी गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । जग्गा खोजी गर्दा हडिया खोला नजिकको जग्गा उपयुक्त देखिएको तथा मेचीनगर वडा नं. १४को सर्वपक्षीय बैठकले समेत उक्त जग्गा सरकारले निर्माण गर्ने होल्डिङ सेन्टरका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र तिलोचन रिमाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नं. गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाह्रकोटी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरी पौडेल र रेडक्रस सभापति ढकालको सहभागिता थियो । नाका सहज हुने बित्तिकै भारत लगायत तेस्रो मुलुकबाट काँकरभिट्टा हुँदै नेपाल आउने नागरिकलाई होल्डिङ सेन्टरमा राखी आवश्यक स्वास्थ्य प्रक्रिया पूरा गरेपछि मात्र गन्तव्यमा पठाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै
सुकुम्बासीविहीन बन्दै मौवाखोला गाउँपालिका