प्रहरी चौकीमा आक्रमण गर्ने समूहको खोजीमा विशेष टोली परिचालित


सुनसरी । सुनसरीको धरानमा बिहीबार साँझ प्रहरी चौकी भित्रै पसेर गुण्डागर्दी समूहले प्रहरीमाथि आक्रमण र कार्यालय तोडफोड गरेको घटनालाई नेपाल प्रहरीले गम्भीरता पूर्वक लिएको छ ।

निषेधाज्ञाको समयमा धरान १५ स्थित वडा कार्यालय नजिकको अस्थायी प्रहरी चौकीमा गुण्डागर्दी समूहले धारिलो हतियारले आक्रमण गरेका थिए । त्यस क्रममा चौकीका इन्चार्ज असई सुमन दाहाल, एक हबलदार र एक सिपाही घाइते भएका थिए । असई दाहालमाथि ती समूहले खुकुरी र तरबारले आक्रमण गरेका थिए ।

आक्रमणबाट दाहालको दुवै हातका औला र शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । हातमा गहिरो चोट लागेको कारण सामान्य अप्रेसन गर्नु परेको जनाइएको छ । प्रहरी कार्यालय भित्रै आक्रमण भएपछि प्रहरी प्रधान कार्यालयले समेत घटनाको विषयमा चासो लिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा हुने गरी भएको आक्रमणमा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई निर्देशन दिएको स्रोतको दाबी छ । अहिले आक्रमण गर्ने समूहको खोजीमा प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट) समूह, जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टिम, सङ्घीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको छुटाछुटै टिम परिचालित भएको छ ।

प्रहरीमाथि आक्रमण गर्ने ९ जनाको पुष्टि भएको र सबैको पहिचान खुलेको कारण चाडै उनिहरु पक्राउ पर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले अपराध न्युजलाई जानकारी दिए ।

“सबैको पहिचान खुलेको छ, चाडै हामी सबैलाई पक्राउ गछौ” उनले भने “यो समूहको खोजीमा प्रहरीको विभिन्न युनिट समेत परिचालित भएको अवस्था छ ।” आक्रमणमा संलग्न सबै धरानकै रहेको र उनीहरू मध्ये केही लागु औषध प्रयोगकर्ता भएको प्रहरीको ठहर छ। दुई युवालाई यी ९ जनाको समूहले बुधवार दिउसो देखिनै आक्रमण गर्न खोजेपछि सुरक्षाको लागि प्रहरी चौकी पुगेका थिए । सोही क्रममा यो समूहले चौकीमा रहेका दुई जनालाई आक्रमण गर्न जाँदा प्रहरीले रोकेको थियो ।

खुकुरी, छुरा र तरबारसहित आएका युवा समूहले उल्टै प्रहरी असई दाहालमाथि खुकुरी र तरबारले अन्धाधुन्ध प्रहार गरेका थिए । सो क्रममा प्रहरी चौकी समेत तोडफोड भएको थियो । यी दुई समूहको विवाद लागु औषधकै कारण रहेको प्रहरीको दाबी छ । घटनामा संलग्न एक जनालाई प्रहरीले राती पक्राउ गरिसकेको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले आक्रमणमा संलग्न चाडै पक्राउ पर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, आर्थिक वृद्धि ऋणात्मक
प्रदेश १ सरकारले आज करिव ३४ अर्बको बजेट ल्याउँदै
बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन
गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी