प्रदेश १ का ६३ प्रतिशत संक्रमितले जिते कोरोना


विराटनगर । पछिल्लो नयाँ भेरिएन्टसहितको संक्रमणको जोखिम बढिरहँदा प्रदेश १ मा ६३ प्रतिशत कोरोना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ का १४ वटै जिल्लाबाट ११ हजार ९ सय ३७ महिला र २० हजार ४ सय २३ पुरुष गरि ३२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका हुन् । सबैभन्दा बढी मोरङमा ५ हजार ५७७ महिला र ८ हजार ९१५ पुरुष गरि १४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् । त्यसपछि सुनसरीमा ३ हजार ५८९ महिला र ५ हजार ७४६ पुरुष गरि ९ हजार ३३५ तथा झापामा १ हजार ७८३ महिला र ३ हजार १ सय ८८ पुरुष गरि ४ हजार ९७१ जना संक्रमणमुक्त भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो र दोश्रो चरणको महामारीसहित प्रदेश १ मा हालसम्म धनकुटामा २ सय ३७, भोजपुरमा ९९, खोटाङ्गमा १ सय, उदयपुरमा ५ सय २१, सोलुखुम्बुमा ३७, सङ्खुवासभामा ३ सय ८० र तेह्रथुममा १ सय २७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ईलामका ५ सय ३, पाँचथरका १ सय ५१, ताप्लेजुङ्गका १ सय ४५ र ओखलढुङ्गाका ४९ जना रहेको मन्त्रालयको तथ्याङ्क छ । जसमा स्थायी ठेगाना नखुलेका ३ सय ३७ महिला र ८ सय ७६ पुरुष गरि १ हजार २ सय १३ जनाले समेत कोरोना परास्त गरेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले पछिल्लो समय संक्रमणमुक्त हुनेको सङ्ख्या पनि सन्तोषजनक देखिएको जानकारी दिए ।

प्रदेश १ मा हालसम्म भने ५१ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७ सय ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको सरकारी तथ्याङक छ । तथ्याङ्क अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा मात्रै ९३ जना कोरोनामुक्त भएका छन् भने ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहुँचको आधारमा खोप
दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै