आहत छ काँकडभिट्टाको बर्मेली बस्ती


काँकडभिट्टा । गत माघ १९ को सैन्य ‘कु’ पछि म्यान्मार (बर्मा) मा लोकतन्त्र पक्षधर आन्दोलित छन् । दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेको छ । सैन्य दमन पनि तीव्र छ । सञ्चारमाध्यमका अनुसार यसबीचमा ४ सयभन्दा बढी आन्दोलनकारी मारिएका छन् ।

जसमा बालबालिकाको संख्या पनि उल्लेख्य छ । म्यान्मारमा जारी सैन्य दमन र हिंसाको खबरले मुलुकको पूर्वी सीमान्त सहरमा बस्ने बर्मेली–नेपाली चिन्तामा छन् । ‘आन्दोलनमा परेर आफन्तलाई केही भयो कि भनेर राम्ररी निद्रा पर्दैन,’ मेचीनगर–६ बर्मेली बस्तीकी ७० वर्षीया रोहिणी काफ्लेले भनिन् ।

म्यान्मारमा जन्मेहुर्केका र नेपाललाई कर्म भूमि बनाएका करिब ४० घरपरिवार बर्मेली बस्तीमा बस्छन् । यो बस्तीमा रहेकाहरूले सैन्य ‘कु’ पछि म्यान्मारका आफन्तसँग नियमित सम्पर्क गर्न पाएका छैनन् । रोहिणीले विगतमा त्यहाँका आफन्तसँग प्रायः फेसबुकको माध्यमबाट सम्पर्क गर्थिन् । आन्दोलन सुरु भएदेखि आफन्तको खोजखबरै थिएन । दुई दिनअघि उनले ठूलीआमाकी छोरी (बहिनी) देवी गौतमसँग फेसबुक म्यासेन्जरमा कुरा गर्न पाइन् । ‘सेनाले मान्छे मारिरहेको छ रे । सैनिक शासन नहटाएसम्म आन्दोलन गर्ने रे,’ बहिनीको भनाइ उद्धृत गर्दै रोहिणीले सुनाइन् ।

सैन्य ‘कु’ विरुद्धको आन्दोलनमा म्यान्मारका नेपालीभाषीसमेत उत्रिइसकेका छन् । आन्दोलनका क्रममा अहिलेसम्म कुनै नेपालीभाषी मारिएको या घाइते भएको खबर छैन । केही दिनअघि नेपालीभाषी आन्दोलनकारीलाई सैनिक सरकारले हिरासतमा राखेर छाडेको थियो । रोहिणीका श्रीमान् ऋषिरामले भने, ‘अहिले सेनाले गरेजस्तो अत्याचार त कचिन विद्रोहीहरूले पनि गरेका थिएनन् ।’ ८३ वर्षअघि म्यान्मारको मिचिना, नौनिखा गाउँमा जन्मेका ऋषिरामको परिवार कचिन विद्रोहीबाट लखेटिएर नेपाल आइपुगेको थियो । ‘यताको माओवादीले जस्तै बर्मामा कचिन विद्रोहीले सशस्त्र संघर्ष गरेका थिए,’ ऋषिरामले सम्झिए, ‘उनीहरूले हाम्रो गाउँलाई सेल्टर बनाएपछि लखेटिनुपर्‍यो ।’

ऋषिरामका अनुसार त्यो बेला म्यान्मारको सेनाले पीडित नेपालीभाषीलाई सहयोग गरेको थियो । त्यो गाउँबाट करिब ७ सय ७३ नेपालीभाषी परिवार विस्थापित बनेका थिए । केही अन्य समुदायका पनि थिए । सबैलाई सेनाले केही समय सहरमा आश्रय दिएको थियो । पछि रेल चढाएर यांगुनसम्म पठाउन मद्दत गरेको थियो । धेरैजसो नेपालीभाषी एकसरो लुगामात्रै लगाएर नेपाल फर्किएका थिए । यांगुनबाट जहाज चढेर कोलकाता हुँदै नेपाल प्रवेश गरेको ऋषिरामले सम्झिए । ‘त्यस्तो सहयोगी सेना आज कसरी राक्षस बन्यो !’ ऋषिरामले भने, ‘सेनाले गरिरहेको गतिविधि ठीक होइन ।’

८२ वर्षीय लोकनाथ बन्जाडेले म्यान्मारमा केही समय सैनिक शासन भोगेका थिए । जनरल ने विनले २०१८ फागुन १८ मा सैनिक ‘कु’ बाट पहिलोपटक म्यान्मारको सत्ता हत्याएका बेला उनलाई ‘सेनाले जे गर्‍यो ठीकै गर्‍यो’ भन्ने लागेको थियो । ‘त्यो बेला सैन्य शासन अनुशासित थियो, जनताको सहयोगी थियो,’ बन्जाडेले भने, ‘अहिलेको घटना सुन्दा त पत्यारै लागेको छैन । सेनाले यस्तो अपराध गर्न सक्छ ?’

बन्जाडेका अनुसार तिनताका सेनाले त्यहाँका जमिनदार, पुँजीपति र सामन्तको सम्पत्ति राष्ट्रियकरण गर्ने नीति सार्वजनिक गरेको थियो । घरबार, उद्योगधन्दा, राष्ट्रियकरण हुने भएपछि धेरैले सेनाको कदमको विरोध गरेका थिए । त्यही क्रममा नेपालीभाषीले पलायनको बाटो रोजेको उनले सुनाए । ‘एकातिर सैनिकले सम्पत्ति सरकारीकरण गर्ने र अर्कातिर कचिन विद्रोहीको डरधम्कीका कारण हामी दोहोरो मारमा थियौं,’ उनले भने, ‘नेपाल आउनुको विकल्प थिएन ।’

८५ वर्षीय टेकबहादुर कार्कीले नजिकबाट म्यान्मारको सैनिक सत्ताको अनुभव लिन पाए । बाबुआमाले जस्तो खेती किसानी गर्ने जाँगर नचलेपछि उनी घरबाट भागेर सैनिक भर्ती भएका थिए । तर उनले १० वर्षमात्रै सेवा गरे । ‘सेनामा भर्ती हुनेबित्तिकै नेपालीभाषी नेपाल हिँड्ने क्रम सुरु भइसकेको थियो,’ कार्कीले भने, ‘आफन्तसमेत धमाधम नेपाल आउन थालेपछि मलाई पनि जागिर खान मन लागेन ।’

राजीनामा दिँदा पनि स्वीकृत नभएपछि नेपाल जान लागेको भनेर हारगुहार गरेको उनले सुनाए । तर जागिर छाडेको १० वर्षपछि मात्रै उनी नेपाल छिरे । ‘बुबाआमाहरू २०२१ सालतिरै नेपाल आइसक्नुभएको थियो । म २०३७ सालतिर मात्रै आएँ,’ कार्कीले भने । उनले बर्मेली सेनाले विगतमा भएका ठूल्ठूला आन्दोलनमा समेत गोली नचलाएको स्मरण गरे । ‘जथाभावी गोली चलाएर निर्दोष जनता मारेको मलाई थाहा थिएन,’ उनले भने, ‘त्यो बेलाको अनुशासित सेना अहिले किन उग्र भयो, थाहा छैन ।’

यसरी आए बर्मेली

विभिन्न समस्या भोगेर आएका बर्मेलीलाई तत्कालीन सरकारले मेची नदीको किनारमा राख्ने निर्णय गर्‍यो । तत्कालीन राजा महेन्द्र शाहले बर्मेली नेपालीभाषीलाई देश फर्किन आह्वान नै पनि गरेका थिए । कतिपय उनको आह्वान सुनेरै आए, अरू भने समस्या भोगेर बाध्यताले आए । सरकारले २०२२ सालमा म्यान्मारबाट आएका ३८ परिवारलाई जमिन दिएर पुनर्वास गर्ने घोषणा गर्‍यो ।

बन्जाडेका अनुसार बर्मा प्रवासी नेपालीका लागि भनेर यो क्षेत्रमा जमिन तोकियो । परिवार संख्याका आधारमा कम्तीमा २ बिघादेखि बढीमा ४ बिघासम्म जमिन दिइयो । राजा महेन्द्रले बर्मेली नेपालीलाई जमिन दिने बताएपछि यांगुनस्थित नेपाली दूतावासले कागजात बनाएर नेपालीभाषीलाई पठाएको थियो ।

त्यो बेला करिब २ लाख नेपालीभाषी म्यान्मारबाट पलायन भएको अनुमान छ । देशका ७ सीमावर्ती स्थानमा उनीहरूको बसोबासको व्यवस्थापन गरिएको थियो । काँकडभिट्टा र सुकुनाढिकी (झापा), चुनीमारी (मोरङ), भरतपुर (चितवन), धनेबा (नवलपरासी), छपिया (रूपन्देही) र महेन्द्रनगर (कञ्चनपुर) मा म्यान्मारबाट आएका नेपालीको व्यवस्थापन गरिएको थियो ।(कान्तिपुरबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै
बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु