गजेन्द्र स्मृति फुटबलः आयोजक, म्याङलुङ र फेदाप विजयी


आठराई (तेह्रथुम) । आठराईस्थित खाम्लालुङ खेलमैदानमा जारी स्व. गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगितामा बुधबार तीन टिमले जीत दर्ता गरेका छन् ।

पहिलो खेलमा आयोजक ए टिमले तेह्रथुमकै इवा खेलकुद विकास समितिलाई पराजित गर्यो । आयोजकका लागि विजय गिरीले खेलको १६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद १ हजार पाउन सफल भए । त्यस्तै, दोस्रो खेलमा सीवाईसी म्याङलुङ विजयी भयो ।

प्रतिस्पर्धी लिसिबुङलाई १-० गोलअन्तरले पराजित गर्दै सीवाईसी विजयी भएको हो । सिवाईसीका लागि प्रकाश लिम्बूले निर्णायक गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच लिसिबुङका युकेश मगर घोषित भए । उनले नगद १ हजार पाए । बुधबारको अन्तिम खेलमा नाइट स्टार फेदाप २ विजयी भयो ।

पाहुना टोली ताप्लेजुङको युनाइटेड हाम्पाङ युवा क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फेदापले जीत दर्ता गरेको हो । उसका लागि कप्तान सुनिल लिम्बूले २ गोल गरे भने गणेश भण्डारीले एक गोल थपे । खेलको म्यान अफ दी म्याच सुनिल लिम्बू घोषित भए ।

आयोजक आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।

पुरुषतर्फको विजेताले नगद १ लाख २० हजार र उपविजेताले नगद ८० हजार तथा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, ट्रफी पाउनेछ । भोलि (बिहीबार) महिलाको एक खेलसहित चार खेल हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
आहा रारा गोल्डकपको फाइनल खेल आज, संकटा क्लव र अफ्रिकन रूट खेल्दै
किरण चेम्जोङ एसियाकै उत्कृष्ट
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज