सेवाभन्दा सास्ती बढी


विराटनगर । चुस्त व्यवस्थापनमा अस्पतालहरुले चासो नदिँदा स्वास्थ्य बिमामार्फत उपचार गराउन स्वास्थ्य संस्था पुग्ने सर्वसाधारणले सास्ती बेहोर्रिरहेका छन् । स्वास्थ्य समस्याले पिरोलिएर प्रदेश १ को राजधानी विराटनगरका ठुला अस्पताल पुग्ने विरामीलाई बिमामार्फत् उपचार सेवा लिन र बिमाबापत पाइने औषधी लिनै सकस छ ।

मोरङ बेलबारीका लक्ष्मणजंग थापा स्वास्थ्य विमा सुविधा अनुसार उपचार गराउन विराटनगरको नोबेल शिक्षण अस्पताल पुगे । बेलबारी स्वास्थ्य केन्द्रबाट रेफर भएर अस्पताल आएका उनलाई ओपिडीमा उपचार पाउन बिहानैदेखि लाइन बस्नुप¥यो । ‘पुर्जा बनाउन विहान सात बजेदेखि लाइन बसकेको छु, यस्तो लाइन डाक्टरलाई देखाउनदेखि औषधी लिन सम्म बस्नुपर्छ’ उनले भने, ‘साह्रै हैरानी छ ।’

थापाजस्तै अरु बिरामी र तिनका आफन्तले बिराटनगरका अस्पतालबाट सेवा लिन दैनिक सयौंको भीड छिचोल्नुपर्छ । पुर्जा बनाउन, डाक्टर भेट्न, बिल काट्न र औषधि लिन हुने भीड, लाइन र झन्झट खेप्नुपर्छ । सरकारी कोशी अस्पतालसहित निजी क्षेत्रका ठूला अस्पताल नोबेल र विराट मेडिकल कलेजमा भोग्नुपर्ने झन्झट, अधिक भीड, समयमा डाक्टर र औषधी नभेटिदा टाढा टाढाबाट आएका बिरामी र तिनका आफन्त हैरान बन्दै आएका छन् ।

प्रदेश १ मा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया भने झन्झटिलो देखिन्छ छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भएका अस्पतालहरु विरामीको संख्या बढेका कारण भीड भएको बताउछन् । सरकारले लगाएको झन्झटिलो प्रक्रिया र समयमा भुत्तानी नहुने समस्याले गर्दा बिमावापतको उपचार गराउन आउने विरामीहरुले सास्ती पाउने गरेको नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपालले बताए ।

स्वास्थ्य विमा बोर्डका अनुसार हालसम्म प्रदेश १ मा कुल जनसँख्याको ३३ प्रतिशत अर्थात १५ लाख जनाले स्वास्थ्य विमा गराइसकेका छन् । विमितहरुको उपचारका लागि प्रदेश १ मा २० वटा सरकारी, १८ वटा स्थानीय सामुदायिक, ४० वटा स्वास्थ्यकेन्द्र र निजी क्षेत्रका ८ वटा आँखा १८ वटा अन्य अस्पताल सहित जम्मा १ सय २ वटा अस्पतालहरु तोकिएका छन् । सबै जिल्लाका स्वास्थ्य केन्द्र र अस्पताहरुलाई बिमा उपचारको प्रथम सेवा केन्द्र तोकिएको छ । यसबाहेक सुविधा सम्पन्न निजी अस्पतालहरुलाई पनि सेवा प्रदान गर्ने अनुमति दिइएको छ । विरामीले नाम चलेका ठुला अस्पतालहरु मात्रै जान रुचाउने कारणले अस्पतालहरुमा भीडभाड बढेको स्वास्थ्य बिमा बोर्ड प्रदेश नम्बर १ कार्यलयका प्रमुख दुर्गाप्रसाद आचार्य जिकिर गर्छन् ।
सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुको सेवा चुस्त नहुदा निजी अस्पतालहरुमा बिरामीको चाप बढ्दै गइरेको छ । निजी अस्पतालहरुले समेत बिमा कार्यक्रममार्फत् आउने बिरामीहरुलाई व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य बिमा कार्यक्रमप्रति नै सर्वसाधरणको रुचि घट्दै गएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यस्ता छन् गर्मीमा आरू खानुका फाइदा
टाउको दुःखाईको समस्या छ ? घरेलु खानपानबाटै यसरी हुन सक्छ बिसेक
पहिलो चरणमा लगाए एक लाख ८४ हजारले खोप
२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु