विकासमा पछि परेको माईपोखरी


किरण पौड्याल

इलाम । प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी । यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन् । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण भने कैयौँ सम्भावना भए पनि यो क्षेत्र छायाँमा परेको महसुस भएको छ ।

सरकारले १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरी प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसरी छनोट गरिएका गन्तव्यमा इलामको माईपोखरी पनि परेको छ तर सरकारले जुन रुपमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने भनेको छ त्यस रुपमा यो क्षेत्रको विकास हुन भने सकेको छैन ।
नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरी यी गन्तव्य छनोट गरिएको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेटेर प्रवद्र्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्नयोग्य बनाइने छ । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने सरकारको नीति छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो ।

यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश नं १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिएको थियो । यसका लागि सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गर्न रु ५० करोड विनियोजन गरेको थियो । यस गन्तव्यभित्र सूचीकृत इलामको माइपोखरीमा जिल्लाभित्र मात्र नभई जिल्ला बाहिर र भारतबाट समेत पर्यटकहरु घुम्न आउँछन् । हालसम्म यहाँ पक्की सडक भने पुगेको छैन । यसैले धेरै यात्रुहरु पैदल वा कच्ची सडकमार्फत् सवारीमा यहाँ आउनुपर्छ ।

कच्ची सडकमा सीमित सवारी मात्र गुड्ने भएकाले धेरै पर्यटकको यहाँ आउने उद्देश्य सपना मात्र हुन्छ । माईपोखरी पु¥याउन पक्की सडक निर्माण शुरु नगरिएको पनि होइन । पाँच वर्षअघिबाटै सडक निर्माण शुरु गरिएको छ तर हालसम्म आधा पनि पक्की भएको छैन । वर्षमा दुई किलोमिटरभन्दा बढी पक्की नहुने कारणले पनि अझै सडक पक्की हुन लामो समय लाग्ने देखिन्छ ।

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका सन्दकपुर गाउँपालिकास्थित माइपोखरी र सुलुबुङको बीचमा पर्छ । एक दशमलब ८८ वर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ ।

मेची राजमार्गको बिब्ल्याँटे बजारबाट करीब १२ दशमलव पाँच किलोमिटरको दूरीमा पर्छ । इलाम सदरमुकामबाट १५ किमी उत्तर समुद्र सतहदेखि दुई हजार १३० मिटरको उचाइमा रहेको छ । पैदल जाँदा इलाम–बिब्ल्याटे–जसबिरे हुँदै करीब तीन घण्टामा पुग्न सकिन्छ ।

मनमोहक जङ्गलले घेरिएको यो स्थानमा विसं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर रहेको छ । हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । धार्मिक आस्थाको केन्द्र भएकाले पनि यी पर्वमा सयौँको सङ्ख्यामा पर्यटक आउने गर्छन् ।

यो पोखरीका नौ कुना छन् । जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ । खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्छ । नौ कुने पोखरीका हरेक कुनामा माईभगवतीको पूजा हुन्छ । पूर्वको प्रशिद्ध यो सिमसार क्षेत्र विसं २०६५ कात्तिक १२ मा रामसार क्षेत्रमा सूचीकृत भयो । रामसार क्षेत्रमा सूचीकृत भएपछि यस आसपासको ९० हेक्टरको सडक अन्यन्त्र सार्नुपर्ने भएको छ । सडकमा कुद्ने सवारीले यस क्षेत्रको वातावरण बिग्रने भन्दै सडक सार्नुपर्ने छ । यसैले गर्दा तत्काल इलाम–माईपोखरी सडकको भित्तेको माथिल्लो क्षेत्रबाट देउराली बजारसम्मको सडक सार्नुपर्ने भएको छ ।

सडक सार्न सकश देखिएको छ । जग्गाको किचलोका कारण सडक सार्न लामो समय लाग्ने देखिन्छ । स्थानीयवासीको असन्तुष्टिका कारण सडकको डिपिआर बन्न सकेको छैन । यसैले पनि माईपोखरीमा पक्की सडक पुग्न लामो समय लाग्ने देखिन्छ । यता सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने केही समयमै सडक निर्माण गरेर पक्की गरिने बताउनुहुन्छ ।

जङ्गल क्षेत्रसहित यो क्षेत्र ९० हेक्टरमा फैलेको छ । त्यसमध्ये दुई हेक्टर सिमसार क्षेत्र छ । बाँकी ठाउँमा घना जङ्गल छ । माईपोखरी हुँदै पछिल्लो समय ट्रेकिङ रोडसमेत जाने भएको छ । बिब्ल्याँटे–माईपोखरी–छिन्टापु–सन्दकपुर–ढापपोखरी क्षेत्रलाई आधार बनाएर यहाँ ‘टे«किङ रोड’ निर्माण हुनेछ ।

जैविक महत्वको माईपोखरी

माईपोखरी जैविक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । यहाँ लौठ सल्ला, सुनाखरी, गलैँचे झ्याउ जस्ता बहुमूल्य औषधिय गुण भएका वनस्पति पाइन्छन् । सलक्क बढेका रुख हेर्दा कलमी गरेर मिलाए जस्तो देखिन्छ ।

वनस्पतिको सुगन्ध, वनको शीतल र चराचुरुङ्गीको चिरबिर सुन्दै जङ्गल सफारी गर्दा बेग्लै आनन्द हुन्छ । स्थानीय युवराज पीसीका अनुसार यस क्षेत्रमा २०० प्रजातिका फूल फुल्ने बिरुवा छन् । तीन प्रजातिका चाँप, चार थरी गुराँस र ६२ थरीका जडीबुटी पत्ता लागेको छ ।

रूखका हाँगामाथि फस्टाउने विभिन्न थरीका सुनाखरीले धार्मिक वनलाई आकर्षक बनाएका छन् । यहाँ धार्मिक वन समूहको तथ्याङ्क अनुसार तीन प्रजातिका माछा, छ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप र १४ प्रजातिका स्तनधारी पाइन्छन् । ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रुख भ्यागुतो जस्ता उभयचर प्रशस्तै पाइन्छन् । हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र ।

यस ठाउँमा ३०० प्रजातिका पंक्षीको अभिलेख गरिएको छ । त्यसमध्ये २०० प्रजातिका पंक्षीले यहीँ चल्ला कोरल्छन् । बाँकी बाहिरबाट बेलाबेलामा आउने गर्छन् । पीतमुहार, चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख धार्मिक वन समूहको अध्ययनले देखाउँछ । काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्धलगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन् । साइबेरियादेखि श्रीलङ्कासम्म बसाईँ सर्ने चराहरूसमेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ ।

माईपोखरीका सम्भावना

धार्मिकस्थलका रूपमा परिचित यो माईपोखरी क्षेत्रको संस्थागत विकासको प्रयास २०५० सालबाट भएको हो । त्यही वर्ष माईपोखरी संरक्षण समिति गठन भयो भने २०५६ सालदेखि वनस्पति उद्यान बनाउन शुरू भयो ।

विसं २०५९ मा उत्तरी क्षेत्रको विकास र पर्यटन विकासको योजना बनाइएको थियो । यहाँ रक गार्डेन, चिमाल प्रजनन् अनुसन्धान, जडीबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जडीबुटीका बिरुवा उत्पादन, डोमेस्टिकेसन तथा जर्मप्लाजम, शोभनीय बगंैँचा जस्ता संरचना बनेका छन् । केही वर्षअघि माईपोखरी सुकेको बताइए पनि त्यसयता बढेर झनै मनमोहक भएको छ । कोरोना महामारीपछि भने माईपोखरीमा पानीको सतह अझै बढेको माईपोखरी मन्दिरका पुजारी तुलाराम पौडेलको भनाइ छ ।

पछिल्लो समय माईपोखरी नजिकै अर्को रहेको मानवनिर्मित जोर पोखरीमा सौन्दर्यकरण गर्ने काम भइरहेको छ । सय पर्यटकीय क्षेत्रमा राखेपछि सङ्घीय सरकारमार्फत् रु एक करोड रकम गएको वर्ष निकासा भएको थियो । सोही रकमले ढुङ्गा निर्मित बाटो निर्माण गर्ने, प्यास्टिक लगाएर पानी भर्ने काम गरिएको छ ।

माईपोखरीलाई मात्र नभई अन्य पर्यटकीय क्षेत्रलाई समेत समेटेर काम गर्न लागेको पर्यटन व्यावसायीले बताएका छन् । माईपोखरीसँगै छिन्टापु र सन्दकपुरको एकीकृत विकासमा काम गर्दा पर्यटक बढ्ने अनुमान रहेको पर्यटनकर्मी देवी पौड्यालले बताउनुभयो । सबै क्षेत्रलाई विकास गर्न ‘प्याकेज’कार्यक्रम ल्याउँदा एक ठाउँमा पुगेका पर्यटक अन्यन्त्र पुग्ने अनुमान रहेको पौड्यालको भनाइ छ । माईपोखरीसँगै रहेको माईपातालमा समेत गाउँपालिकाकै लगानीमा ‘रेडपाण्डा बिल्डिङ क्षेत्र’ बनाइएको छ ।

सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा यो काम थालिएको हो । क्षेत्र निर्माणका लागि गाउँपालिकाले रु ७८ लाखमा ठेक्का पनि दिइसकेको छ ।

कोरोनाको मारमा माईपोखरी

अन्य क्षेत्रजस्तै कोरोना भाइरसको महामारीबाट माईपाखरी पनि प्रभावित बन्यो । दैनिक २० देखि ३० जनाको हाराहारीमा पर्यटक पुग्ने यस क्षेत्रमा कोरोनापछि नगण्य मात्रामा मात्र पर्यटक पुग्न थालेका छन् । त्यसमा पनि लामो समय त यहाँका व्यावसायीले व्यापार बन्द गर्नुप¥यो । विस्तारै जुर्मराउँदै आएपनि अपेक्षाकृत पर्यटक नआउँदा घाटा व्यहोर्नु परेको व्यावसायी निमादोर्जे शेर्पा बताउनुहुन्छ ।

मुख्य याममा पनि पर्यटक नआउँदा आर्थिक कारोवार ठप्प भएको यहाँका व्यावसायी शेर्पाको दुःखेसो छ । “हामीले खोलेर मात्रै पनि भएन । पर्यटक आउनुप¥यो”, शेर्पाले भन्नुभयो । आन्तरिक र बाह्य पर्यटकको चापाचाप हुने यो क्षेत्रमा यस पटक भने व्यावसायी नमज्जाले घाटा व्यहोर्नु परेको छ । यस्तै सरकारी क्षेत्रको आँखा नपुग्दा पनि माईपोखरी पछि परेको शेर्पाको बुझाई छ ।

यता गाउँपालिकाले भने यस क्षेत्रका पुराना रुख हटाएर नयाँ किसिमका वनस्पति रोप्न शुरु गरेको बताएको छ । यहाँका सल्ला र कटुसले पानीको सतह घटाउँदै लगेको भन्दै गाउँपालिकाले यस ठाउँमा सदावहार हरियाली राख्ने वनस्पति रोप्ने तयारीमा लागेको गाउँपालिकाका प्रवक्ता खनालले बताउनुभयो ।

अभावमा माईपोखरी

सडकपछि खाने बस्ने ठाउँको अभाव छ माईपोखरीमा । सामान्य होटल छेउछाउ भए पनि राम्रो खान बस्नका लागि आधा घण्टा हिँडेर देउराली बजार पुग्नुपर्छ । एकै दिनमा फर्किने पर्यटकलाई माईपोखरी उपयुक्त भए पनि लामो समय बस्नेका लागि समस्या देखिन्छ ।

होटल व्यावसायी शेर्पाले भने केही समयमा नै यी समस्या पनि हल हुने बताउनुभयो । अझैपनि माईपोखरीलाई धार्मिक रूपमा मात्र हेरिने कारणले अन्य क्षेत्र गुमनाम भएका छन् । जैविक पक्षमा कसैको ध्यान गएको छैन । विश्वमै लोपोन्मुख वन्यजन्तु पाइने भएपनि यतातर्फ कसैको ध्यान गएको छैन । गाउँपालिकाका प्रवक्ता खनालले यसका लागि पछिल्लो समय पर्यटन वोर्डसँगको समन्वयमा काम भइरहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
प्रधानमन्त्रीको गृह नगरका सुकुम्बासीको टहरामा डोजर
प्रदेश १ प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने
सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पुग्दा चार घर जल्यो