नेकपा विवाद : मुख्यमन्त्री राईसहित ८ विरुद्ध दाहाल–नेपाल पक्षको निलम्बनपत्र प्रदेश सभामा दर्ता


बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका ८ सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पदबाट निलम्बन गरेको घोषणा गरेको छ। सो समूहको संसदीय दलको निर्णय भन्दै मुख्यमन्त्री शेरधन राईसहितका आठजनालाई सांसद पदबाट निलम्बन गरेको घोषणाको व्यहोरा उल्लेखित पत्र प्रदेशसभामा पनि दर्ता गराइएको छ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उक्त पत्रको बोधार्थ आएको छ।

‘उहाँहरुले निलम्बन गरेको पत्र बुझाउनुभएको छ, अब हामी आन्तरिक पराशर्मामा छौँ, कानुनअनुसार जे हुने हो सोहीअनुसार प्रक्रिया अघि बढ्छ‚’ सचिव पराजुलीले भने। दाहाल–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ।

सो समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईलाई सम्बोधन गर्दै पठाएको पत्रमा पौष २६ गतेबाट निलम्बन लागू भएको उल्लेख गरेको छ। उक्त निलम्बन पत्रमा संसदीय दलको कुनै पनि बैठकमा सहभागी नभएको, पार्टी हितविपरीत काम गरेको अभियोग लगाइएको छ। प्रचण्ड–नेपाल समूहले २५ गते शनिबार निलम्बन गरिएको पत्र सबैलाई पठाएको जनाएको छ।

यसअघि दाहाल नेपाल पक्षले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनको स्थानमा भिम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ। संसदीय दलको नेता रहेका भिम आचार्यले यस्तो पत्र पठाएका हुन्। मुख्यमन्त्री राईसहित ८ जना ओली पक्षका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधव नेपालले पार्टी फुटाए : ईश्वर पोखरेल
उदयपुरमा ओली समूह कमजोर
प्रदेश– १ का मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन !
शक्ति प्रदर्शनदेखि तेस्रो लाइनसम्मको उदय