कोरोना कहर : माई मेला नलाग्ने


झापा । हरेक वर्ष मकर संग्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ । कनकाई नदीको किनारमा मकर संग्रान्ती अर्थात् माघे सग्रान्तीका दिन यहाँ मेला लाग्ने गरेको थियो । मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्या तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण नगरपालिकाले मेला नलगाउने निर्णय गरेको नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले कनकाई नगरपालिकाभित्र पर्ने कनकाई माई तथा कोटिहोम क्षेत्रभित्र प्रत्येक वर्ष लाग्दै आएको माई मेला कोरोना भाइरसको जोखिमको कारणले यस वर्ष हाट बजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कस जस्ता मनोरञ्जन लगायतका कुनै पनि गतिविधि नगर्न भनेका छन् ।

नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरु मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनहरूद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संग्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गरेको थियो ।

नेपालका राष्ट्रगुरु योगी नरहरिनाथको विशेष अगुवाई तथा विभिन्न क्षेत्रका धार्मिक सन्त तथा समाजसेवीहरूको सक्रियतामा विक्रम सम्बत २०४२ सालको पुस महिना भर (एक महिनासम्म) विश्वकल्याण कोटीहोम महायज्ञ यसै क्षेत्रमा आयोजना गरिएको थियो । तत्पश्चात् यस स्थानलाई कोटिहोम भन्न थालिएको हो र पछि विकसित हँुदै गएपछि कनकाई धामका रुपमा प्रशिद्ध भएको हो । यही धाम परिसरमा माई मेला लाग्दै आएको छ ।

महाभारत पर्वत श्रृंखलाबाट उत्पत्ति भई झापाको दोमुखा हुँदै वहने यो नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो । यो इलामका प्रमुख चार नदी जोगमाई, माई, पुवामाई र देउमाई मिसिएर बनेको छ । यो नदीलाई अन्य समयमा पनि पवित्र नदीको रूपमा पूजा र आराधना गरिँदै आएको छ ।

कनकाईमा विशेषगरी शनिवार र मंगलबार पूजा पाठ गर्नेहरूको बढी घुइँचो हुने गरेको छ । यस बाहेक रामनवमी, महाशिवरात्री, जनै पूर्णिमा, बुद्ध जयन्ती, ऋषि पञ्चमी, बालाचतुर्दशी आदि पर्वहरू र श्रावण महिनाभर जल चढाउने बोलबम भक्तहरूको भीड हुने गर्दछ । पूर्वमै प्रख्यात माघे सङ्क्रान्तिमा हुने माई मेला भने वर्षको एकपटक एक हप्तासम्म लाग्ने गर्दछ ।

यो मेलामा देशविदेशका लाखौंले मनोरञ्जन समेत लिने गरेका छन् । तथ्याङ्क अनुसार कनकाई धाम (कोटिहोम) मा बार्षिक पाँच लाख भक्त, दर्शनार्थी तथा पर्यटक आउने गरेका छन् ।

नेपालको पूर्वी क्षेत्रको अलावा पूर्वोत्तर भारतको दार्जीलिङ, सिक्किम, पश्चिम बङ्गाल र आसामका भक्तालु तथा दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन् । यद्यपि झापा, मोरङ जिल्लाका मृतकहरुका अन्तिम संस्कार गर्नुपरेमा कनकाई नदीलाई नै सबै भन्दा पवित्र मानिने चलन भएकोले मलामीजनहरूको पनि यहाँ उत्तिकै आवागमन रहन्छ ।
यस बाहेक यो स्थान नेपालमा सबैभन्दा बढी थर गोत्रीय संस्थाहरू एकीकृत भएको धामको रूपमा पनि चिनिन्छ । यस अलावा योगी नरहरिनाथले नेपालमा लगाएका एक सयभन्दा बढी कोटीहोममध्ये यो तेह्रौ कोटीहोम हो र महायज्ञ पश्चात् सबैभन्दा बढी विकसित भएको क्षेत्रको रूपमा लिइनछ ।

कन्काई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र , हरियालीपूर्ण जंगल, नजिकै देखिने चुरे पहाडको मनोरम दृश्य, कन्काई नदीको स्नान योग्य स्वच्छ चिसो पानी र महेन्द्र राजमार्गमै रहेको कारण कोटीहोम सम्झने भक्तजन धेरै छन् । अझ धार्मिक आस्थाको केन्द्र भएका कारण पनि यहाँ आउने भक्तजनको संख्या धेरै हुने गरेको छ ।

२०४२ सालमा कोटीहवन (कोटीहोम) महायज्ञ गर्दा प्रज्ज्वलित अग्नि कुण्ड आजपर्यन्त अविच्छिन्न प्रज्ज्वलित छ । स्व. योगी नरहरिनाले प्रारम्भ गरेको संस्कृत विद्यालयः कनकाई गायत्री वैदिक विद्यापिठ कोटीहोम र धार्मिक सहिष्णुता र सद्भाव को नमूनाः कोटीहोम मन्दिर र साँगाक छ्योइलिंग बौद्ध गुम्बा मात्र ५० मिटरको दूरीमा रहेकाले यहाँ सबै धर्मका धर्मानुरागीहरु माई मेला भर्न आउने गरेका छन् ।

कनकाई धाममा दर्जनौ मठ, मन्दिर, धर्मशाला, पाटी पौवा, निर्मित तथा निर्माणाधीन छन् भने विभिन्न धर्म सम्प्रदायहरु जस्तैः बौद्धमार्गीको गुम्बा, निम्बार्क, कबीर, प्रणामी, आर्य समाज आदिका आ–आफ्नै आश्रमहरु र विभिन्न थर गोत्रीय बन्धु संस्थाका आ–आफ्नै मन्दिर तथा धर्मशालाहरू पनि रहेका छन् ।

कनकाई धाम महेन्द्र राजमार्गसँग जोडिएको हुनाले राजमार्ग पारि कृष्णप्रणामी मन्दिर, निम्बार्की मन्दिर रहेका छन् । यस ठाउँको प्रशिद्ध तथा मूल मन्दिरको रूपमा भने कोटीयज्ञेश्वर शिव पाञ्चायन मन्दिर (कोटीहोम मन्दिर) लाई मानिन्छ । यस अतिरिक्त यहाँ अतिथि आवास तथा कार्यक्रम गर्न भनी बनाएका केही बहुउद्देश्यीय सामुदायिक भवन र फूलवारी (उद्यान वाटिका) पनि निर्माणका क्रममा छन् । यहाँ सबैभन्दा महत्वपूर्ण सर्पदंश केन्द्रको स्थापना गरिएको छ यसलाई कनकाई सहारा सर्पदंश उपचार केन्द्रको नामले चिनिन्छ ।

६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा अहिले सहजै सर्प दंशका बिरामीले सेवा समेत लिँदै आएका छन् । कनकाई माईको पूर्वी किनारमा अन्तिम संस्कार गर्ने बढ्दो प्रचलनलाई मध्यनजर गरी कनकाई आर्यघाट नामक संस्था गठन गरी सुविधायुक्त आर्यघाटको निर्माण गरिएको छ । कनकाई माईको पश्चिमी तटमा पनि घाट निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय