पृथ्वी जयन्ती राष्ट्रव्यापी मनाउन जनस्तरबाट दबाब दिउँः राप्रपा नेता लिङदेन


झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै नेता लिङदेनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेकैले अहिले ‘नेपाल’ देश बनेको उल्लेख गर्दै सरकारले राष्ट्र एकता दिवस मनाउने विषयमा कन्जुस्याईं गर्न नहुने बताए । उनले भने, ‘यो देशको राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि एकीकृत नेपालको राष्ट्रपति र प्रधानमन्त्री हो । पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए देश पनि रहने थिएन। उहाँहरू पनि नेपालको राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्नुहुन्नथ्यो ।’

नेता लिङदेनले कतिपय विरोधीहरूले पृथ्वीनारायण शाहबारेको टिप्पणीको कुनै तुक नरहेको बताए । उनले भने, ‘पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको छ। भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए। हिन्दुराष्ट्रको पहिचान त समाप्त पारे ।’

अन्य देशहरूमा पनि ती देशका निर्माता रहेका र तिनलाई ती देशहरूले सम्मान गर्ने गरेको लिङदेनको भनाइ थियो। तर नेपालमा भने देशको एकीकरण गर्ने राष्ट्र निर्माताको भूमिकालाई अवमूल्यन गर्ने गरेको उनले बताए । उनले भने, ‘जसले नेपाल भन्ने नाम र पहिचान दियो, जस्का कारण नेपाल भन्ने राष्ट्र छ, त्यही एकीकरण गर्ने राष्ट्र निर्मातालाई अपमान गर्ने काम भएको छ ।’

उनले केही समूहले पृथ्वीनारायण शाहको तस्वीरमा थुक्ने काम पनि गरेको बताए। तर, पृथ्वी जयन्ती मनाउने कुरा राप्रपाको मात्र नभएको लिङदेनको भनाइ थियो ।(खबरमञ्चबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल
प्रदेश १ मा नेकपाको रमिता : सभामुखको मौनतादेखि कुर्सी वेल्डिङसम्म
प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधव नेपालले पार्टी फुटाए : ईश्वर पोखरेल
उदयपुरमा ओली समूह कमजोर