भद्रपुर भन्सारका एक कर्मचारी निलम्बित, हाकिमसहित सबै कर्मचारीको सरुवा


झापा । भन्सार विभागले झापाको भद्रपुर भन्सार कार्यलयका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले एकजना कर्मचारी निलम्बन गरेको छ भने भन्सार प्रमुख फडिन्द्र खतिवडासहित सबै कर्मचारीलाई लिखित स्पष्टीकरण सोध्दै सरुवा समेत गरेको छ ।

भद्रपुर भन्सार कार्यालयमा व्यापारी, तस्कर र कर्मचारीकै मिलेमतोमा राजस्व चुहावटको धन्दा चलिरहेको समाचार सार्वजनिक भएको थियो । सेटिङमा नक्कली जीएसटी अर्थात् गुड्स एण्ड सर्भिस ट्याक्स बील बनाएर भन्सार कागजात मिलाउने, कम राजस्व तिरी बढी सामान लैजाने र रातारात तस्करका सामान कटाउन कर्मचारी नै सेटिङमा बस्ने गरेको तथ्य खुलेको थियो ।


त्यसपछि विभागले निर्देशक भीमप्रसाद अधिकारीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो । टोलीले भद्रपुर भन्सारको स्थलगत अनुगमन गरी थप अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक चरणमै भन्सारका नायब सुब्बा डोरराज सुनुवारलाई विभागले निलम्बन गरेको छ । त्यस्तै, भन्सार प्रमुख खतिवडा र जाँचपास सम्लग्न सबै ५ जना नायब सुब्बा र ५ जना कार्यालय सहयोगीहरु र अन्य १ जनालाई समेत लिखित स्पष्टिकरण सोध्दै सरुवा गरिएको छ । ‘हामीले टोली नै बनाएर स्थलगत अनुसन्धान सुरु गरिसकेका छौँ’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘प्रारम्भिक चरणमा दोषी देखिएका कर्मचारीको निलम्बन, स्पष्टीकरण सोध्ने र सरुवा गर्ने जस्ता विभागीय कारवाही पनि गरिसकेका छौँ ।’

भन्सार प्रमुख खतिवडा कैलाली भन्सार कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै भद्रपुर भन्सार कार्यालयका लागि वीरगन्ज भन्सार कार्यालयबाट प्रमोद पौडेल आउने भएका छन् । खतिवडाको घर राजगढ हो भने पौडेल भद्रपुर ७ अञ्जनीमोड निवासी हुन् ।

त्यसैगरी सुब्बातर्फ वीरेन्द्रकुमार पाण्डे वीरगन्ज भन्सारमा, विकास दाहाल विराटनगर रानी भन्सार र रेवती गिरीको नेपालगन्ज भन्सार कार्यालयमा सरुवा गरिएको छ ।

यहीँ घटनाका विषयमा गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापा र आन्तरिक राजश्व कार्यालय भद्रपुरले बनाएको अनुगमन टोलीले भने अझैँ प्रभावकारी अनुसन्धान गर्न सकेको छैन । हालसम्म टोलीले २ वटा फर्ममा मात्र छापा मारी अनुसन्धान अगाडी बढाएको छ । यहीँ नाका हुँदै बर्षौँदेखी ठुलो परिमाणमा कारोबार गरी राजश्व छल्दै आएका एक दर्जन बढी फर्महरुमा भने टोलीको आँखा अझै पर्न सकेको छैन ।

कर्मचारी, व्यापारी र तस्करको सेटिङ्ग मिलाउने मुख्य मध्यस्तकर्ता व्यापारी सुबोध कोठारीमाथि आवश्यक छानबिन, अनुसन्धान र कारबाही गर्न भने कसैले चासो दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड
बुद्धशान्ति गाउँपालिका एकसातालाई सिल
झापामा वडाध्यक्षको इँटा प्रहारबाट स्थानीय घाइते
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० बढी बसाइँ सरे