संकटमा पर्दै विश्वकै गुणस्तरिय काश्मिरी केशर


इलाम । काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपुर्वक टिप्ने गरिन्छ । जसमा अधिकांश महिलाहरु छन् । विश्वभरी महंगो मुल्यमा केशर बेचिन्छ । ‘म सानो छँदा मलाई केशरका खेतहरू हेर्न मन प¥थ्यो । बैजनी रङका फूलले ढकमक्क भुइँ पुरै ढाकेको देख्दा म छक्क पर्थेँ । जब म ठूलो भएँ, तब मैले बुझेँ केशर फुल्ने समयमा जमिन जति बढी बैजनी हुन्छ त्यति नै बाली राम्रो हुन्छ,’ दशकौँ देखि केशर खेती गर्दै आएका परिवारकी छोरी तथा बुहारी रिफत जानले भनिन् ।

विश्वका सबै भन्दा गुणस्तरीय केशर उत्पादनको लागि भारतको जम्मु कश्मिर परिचित छ । इरानको खोरासान प्रान्त पछि विश्वको दोश्रो सबैभन्दा बढि केशर उत्पादनका लागि कश्मिर क्षेत्रलाई लिइन्छ । जलवायु परिवर्तन, कमजोर सिँचाई प्रणाली र सस्तो ईरानी प्रजातिको केशरको आयातका कारण भारतको जम्मु कश्मीरमा केशर खेतीमा किसानहरुको आर्कषण घट्दै गएको काश्मिर कृषि विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो २ दशकमा काश्मिरमा केशर उत्पादनमा ६५ प्रतिशतले कमी आएको छ । बार्षिक रुपमा १६ मेट्रिक टन केशर उत्पादन हुने क्षेत्रमा अहिले ५.६ मेट्रिक टन मात्र उत्पादन हुँदै आएको छ । सन् १९९६ मा ५,७०७ हेक्टरमा केशर खेती हुन्थ्यो तर सन् २०१०–११ मा आएर यो आँकडा ३,८७५ मा झरेको थियो ।
बैजनी क्षेत्रहरु सम्झदै
जम्मू र काश्मिरका चार जिल्लाहरू पुलवामा, बुडगाम, श्रीनगर र किश्तवार मा केशर खेती गरिदै आएको छ । जसमध्ये पुलवामा जिल्लाको पाम्पोरले आफ्नो उत्कृष्ट गुणस्तरको कारण कश्मीरको ‘केशर सहर’ को उपाधि कमाएको छ । यस क्षेत्रको माटोको गुणस्तर खेतीका लागि उपयुक्त हुनुका साथै आफ्नो सुगन्ध, रंग र आयुर्वेदिक गुणका लागि परिचित बहुमूल्य ‘काश्मिरी केसर’ उत्पादन हुने गर्दछ । पाम्पोर क्षेत्रका २२६ गाउँका करिब ३० हजार परिवार केशर खेतीमा संलग्न छन् ।

क्रोसिन नामक रसायनको प्रचुरता हुने भएकाले यहाँको केशरलाई उच्च कोटीको केशरको रूपमा लिइन्छ । क्रोसिनले केसरलाई यसको गाढा रंग र आयुर्वेदिक गुण प्रदान गर्दछ । यहाँको केशरमा करिब ८.७२ प्रतिशत क्रोसिन हुन्छ भने ईरानी प्रजातिको केशरमा ६.८ प्रतिशत क्रोसिन पाइने गरेको छ । गत १० बर्षमा उत्पादकत्व खस्केकाले कृषकहरू स्याउ र ओखर जस्ता उत्पादकत्व बढि हुने बाली तर्फ मोडिन थालेका छन् । सन् २०११ को जनगणना अनुसार काश्मिर उपत्यकामा करीव ११,००० महिला (जनशक्तिको ५० प्रतिशत) केशर खेतीमा काम गर्दछन् ।

कमलो केसरको धागोलाई फूलबाट अलग गर्न महिलाहरु निपुर्ण हुने गरेका छन् । केशरको फुलभित्र हुने धागोमा तीन रेशा हुन्छन् जसलाई फुलबाट सुरक्षित तवरले निकालिन्छ । धागोलाई सेता कागजमा निश्चित तरिकालाई फैलाइन्छ । वातावरणमा भएको आद्रताले केशर कुहिने र हावा चाहिने भएकाले रेसाहरूलाई एउटा सूतीको कपडामा राखिन्छ । यो सम्पूर्ण प्रक्रिया महिला किसानहरूले पुरा गर्दछन् ।

जान र अन्य धेरै परिवारले विगत आठ–नौ दशकदेखि केशर खेती गर्ने गरेका छन् । बालीबाट प्राप्त आम्दानीले घर बनाउन र सन्तानको विवाह जस्ता ठूला खर्चहरू जुटाउन मद्दत पु¥याएको छ । तर जलवायु परिवर्तनका कारण उत्पादनमा आएको गिरावटले यस्तो आम्दानी घट्दो छ र किसानहरूले अब फेरि उत्पादन बढ्नेछ भन्ने आशा गुमाइसकेका छन् ।
महँगा कार्यक्रम तर सीमित सफलता
जलवायु परिर्वतनको असरलाई न्युनिकरणका साथै किसानहरुलाई खेतीमा प्रोत्साहनका गर्नका लागि सन् २००७ मा सरकारले केशर ऐन लागू गर्यो । जसले केशर फार्मलाई व्यवासयिक जग्गाको रुपमा विक्री वितरणमा प्रतिबन्ध लगायो । ऐनमा नियम उल्लंघन गर्नेलाई १० हजार भारतीय रुपैया जरिवाना र एक बर्ष जेल सजाय दिने व्यवस्था गरिएको छ ।

ऐनले थुप्रै जग्गा एकै पटक किनेर घर बनाउने थालेका भू–माफियालाई निरूत्साहित गरेको थियो । सरकारले सन् २०१० मा केशरको खेती पुर्नस्थापना गर्न भारू ४०० करोड लगानी गरेर राष्ट्रिय केशर मिसनको स्थापना गरेको थियो । । स्प्रिंकलर र धाराहरू मार्फत सिँचाई उपलब्ध गराउने, बिउको गुणस्तर बढाउने, उत्पादकत्व वृद्धि गर्न अनुसन्धान गर्ने, र किसानहरूलाई खेती गर्ने नयाँ तरिकाहरू’ सिकाउने मिसनको उद्देश्य थियो । दुर्भाग्यवश मिसनले उत्पादन बढाउन मद्दत गरेन ।

आफ्ना लक्ष्यहरू पूरा गर्न असफल मिसनका दुईवटा म्यादहरू (सन् २०१४ र सन् २०१९) समेत गुज्रिसकेका छन् । हालसम्म मिसनले निकासा गरेको २६६ करोड रुपैया मध्ये २४७ करोड खर्च भइसकेको छ ।  ‘केशर मिसनले उत्पादकत्व बढाउन खासै मद्दत गरेन’ विभागको ध्यान केवल इनारहरू खन्नुमा छ र बिजुलीको नियमित आपूर्ति नगरी स्प्रिंकलरहरू जडान गरिएका छन् ।’ उपत्यकाका केशर उत्पादकहरुको सङ्गठनका उपाध्यक्ष मोहम्मद युसुफ वानीले भने । उनले थपे ‘सरकारले डिजेल मोटर जडान गरिदियो तर डिजेलको खर्च किसानहरूले बेहोर्ने भनिदियो । यसको लागत धेरै नै छ, उत्पादन भन्दा पनि बढि ।’

‘कोभिड–१९ को महामारीका कारण श्रमिकहरु उपलब्ध नहुनु र अचानक भएको लकडाउन जस्ता विभिन्न कारण विभागले समस्याको समाना गर्नुपरेको कृषि विभागका निर्देशक अल्ताफ एजाज आन्द्राबीले बताए । ‘खेतीका लागि उपलब्ध कुल जग्गा मध्ये हामीले ३३ प्रतिशतलाई सिँचाई योजनामा जोडिसकेका छौँ र बाँकी ६६ प्रतिशतका लागि आधारभूत पूर्वाधार विकास गरिसकिएको छ । सन् २०२० सम्ममा काम पूरा हुनेछ,’ उनले द थर्ड पोललाई बताए ।
जीआई ट्यागले जगाएको आश
यस वर्षको मे महिनामा, काश्मीरी केशरलाई भौगोलिक संकेत रेजिस्ट्रीद्वारा भौगोलिक संकेत (जीआई) ट्याग प्रदान गरेको छ । उपत्यका बाहिरका कसैलाई पनि ‘काश्मीरी केशरको’ नामबाट केशर उत्पादन गर्न र बेच्न प्रतिबन्ध लगाउनका लागि जम्मू काश्मिर सरकारको कृषि निर्देशनालय, शेर–ए–काश्मिर कृषि विज्ञान तथा प्रविधि विश्वविद्यालय काश्मिर, र केशर अनुसन्धान स्टेशन, दुसु (पाम्पोर)ले रेजिस्ट्रीमा संयुक्त निवेदन दिएका थिए ।

विश्व व्यापार सङ्गठन अन्तर्गतको बौद्धिक सम्पत्ति अधिकार सम्झौता (ट्रिप्स) को अनुच्छेद २२ (१) अनुसार, जीआई ट्याग संकेत यस्तो वस्तुलाई प्रदान गरिन्छ जसको गुणस्तर, ख्याति वा विशेषता कुनै एउटा भौगोलिक क्षेत्रसँग जोडिएको छ । यस्तो ट्यागले सो वस्तुको उद्गम थलो त्यही क्षेत्र हो भन्ने पनि जनाउँदछ । ‘जीआई ट्यागले काश्मीरी केशरलाई फेरि लोकप्रियता पाउन र मुल्य बृद्धि गर्न मद्धत पु¥याउँछ । यसले प्रमाणिकता पनि थप्नेछ जसका कारण किसानहरू आर्थिक रुपमा लाभान्वित हुनेछन् । यसले ईरानी केशरलाई काश्मिरी केशर भनी बेच्नेहरूलाई निरूत्साहित गर्नेछ, ‘अन्द्राबीले भने

वानी भने कम आशावादी छन् , ‘जब उत्पादन नै घट्दै गइरहेको छ र मिसनले किसानहरूलाई सहयोग नगरी म्याद गुज्रिएको छ यी सहायक पहलहरूले कसरी मद्दत गर्लान् ? उदाहरण को लागि जीआई ट्याग र आधुनिक उत्पादन विधिबाट तब फाइदा हुन्छ जब उत्पादन बढ्छ । उत्पादन त्यसबेला बढ्छ जब खेतमा सिचाई हुन्छ । तर सन् २०१० पछि यस्तो भएको छैन ।’ केशर उत्पादनले सामना गर्नु पर्ने अर्को चुनौती भनेको किसानहरू माझ बीउ परिवर्तन गर्ने अभ्यास न्युन हुनु हो ।

‘काश्मिरमा उत्पादकहरूले प्रति हेक्टर २ लाख २५ हजार बिउ रोप्दछन्, जबकि विज्ञानले ५ लाख रोप्नु पर्ने बताउँछ ’ शेर–ए–काश्मीर कृषि विज्ञान र प्रविधि विश्वविद्यालयका केशर विज्ञ बशीर अहमद ईलाहीले भने । ‘प्रत्येक चार वर्षे चक्रपछि किसानहरूले बीउ परिवर्तन गर्नुपर्दछ । तर (यहाँ) उनीहरुले प्रत्येक ३० बर्ष पछि मात्रै परिवर्तन गर्दछन् र यसले उत्पादकत्वलाई मात्र असर गर्दैन् बीउँको आकार समेत क्षति पुग्दा गुणस्तरमा ह्रास आउँछ,’ उनले थपे
कुनै जमानामा फस्टाउँदो यो ‘सम्पदा’ बालीलाई पुनर्जीवित गर्ने यी प्रयासहरूले थोरै मात्रै आशा जगाउँदा जान जस्ता महिला किसानहरू सरकार भन्दा भगवानलाई सम्झन्छन् ।

उनको परिवारको अन्य महिलाहरु जस्तै जानले पनि विश्वास गर्छिन की करिब १२ औँ शताब्दीमा कश्मीर आएका र यस भूमिलाई आशिर्वाद दिएका दुई प्रसिद्ध सुफी सन्त ख्वाजा मसूद वली र शेख शरीफुद्दीन वलीको आशिषका कारण यस भूमिले अनुपम गुण भएको केशर उत्पादन हुन्छ । आद्रतामा निर्भर केसर खेतीमा राम्रो उत्पादनको लागि सिँचाई आवश्यक छ । ‘सन् २०१९ को नोभेम्बर महिनामा यहाँ राम्रो हिउँ प¥यो र यस वर्षको सेप्टेम्बरको पहिलो हप्तामा राम्रो पानी परेको थियो । मलाई विश्वास छ केहि राम्रो भएको छ, र यस वर्ष भगवानको कृपाले बाली राम्रो हुनेछ,’ राम्रो उत्पादनको लागि दैवी हस्तक्षेपको खोजी गरिरहेका आन्द्राबीले भने । लाेकल सन्देश बाट सफिना नबीले द थर्ड पोलका लागि बनाएको सामाग्रीको भावानुवाद


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मरीच, केराउ, छोकडा र सुपारीको प्रतिवन्ध फुकुवा
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
अदुवाको भाउ घटेपछि किसानमा निराशा
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षका लागि ६ जना मैदानमा