कोरोना कहरले झापाका माहुरी पालक किसानलाई करोडौं क्षति


झापा । लकडाउनका कारण झापा जिल्लाका माहुरी पालक किसानलाई करोडौं क्षति पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण माहुरीको हेरचाह गर्न र मह काड्न नपाउँदा व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका किसानहरुले करोडौं रुपैयाँ क्षति व्यहोर्नु परेको हो ।

किसानले फागुनदेखि वैशाखसम्ममा २ पटक मह काड्नु पर्ने हुन्छ । तर, मह उत्पादनको मुख्य सिजनमा लकडाउन भयो । मौरीपालक किसान धनमाया पाठकले भनिन्, ‘जसका कारण चरनमा लगिएका माहुरी राखेको स्थानसम्म पनि जान पाएनौं ।’

लगिएका मौरीको निरीक्षण तथा मह काड्न नपाउँदा ठूलो घाटा भयो । त्यस्तै, अर्की किसान सन्तकुमारी सुनुवार मुखियाले पनि अघिल्लो आर्थिक बर्ष १६ लाखको मह बेचेको भए पनि यो वर्ष ९ लाखमा सीमित रहेको बताइन् । यस पटक किसानलाई ठूलो घाटा भएको उनको गुनासो छ ।

यता मह उत्पादनका लागि नमुना मानिएको झापामा मह उत्पादन घट्दा जिल्लाका किसानलाई २ करोड ५० लाखभन्दा बढी घाटा भएको नेपाल मौरी पालक महासंघले जनाएको छ । जिल्लामा यस वर्ष गत वर्षको तुलनामा ६० प्रतिशतले मह उत्पादनमा कमी आएको छ ।

जिल्लामा गत बर्ष ६० हजार केजी मह उत्पादन भएको थियो भने यस वर्ष उत्पादन घटेर २० हजार केजीमा सीमित भएको छ । उत्पादन घटेसंगै व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसानहरु समस्या परेको महासंघको उपाध्यक्ष देबी दाहालले बताइन् ।

जिल्लाको अर्जुनधारा, बिर्तामोड, कनकाई, बुद्धशान्ति, शिवसताक्षी, लगायतका स्थानीय तहका १२ सयभन्दा बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । जिल्लामा करीब मेलीफेरा र सेरेना जातका गरी २ हजार ५ सय ३० बढी मौरीका घार रहेको नेपाल मौरीपालक महासंघले जनाएको छ । उत्पादित मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँ लगायत सहरमा बिक्री हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्व चयन हुदै
काँकडभिट्टा सुक्खा बन्दरगाह निजी कम्पनीलाई
उखुको मूल्य बढाउन किसानको माग
इलाममा आलु बीउको हाहाकार