झापाको शनिश्चरे अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधी बिग्रिएको फेला


झापा । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालको मातहतमा सञ्चालित फार्मेसीले बिग्रिएको औषधी बिक्री गरेको भेटिएको छ । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधी बिग्रिएको जानकारी गराएपनि उक्त औषधी पटकपटक बिक्री गर्ने गरेको पाइएको छ ।

गत कार्तिक ४ गते अर्जुनधारा–१० की छुमादेवी गजुरेलले डाक्टरको सिफारिसमा अस्पतालको मातहतमा सञ्चालित रमेश फार्मेसीबाट रगतको मात्रा बढाउने डेन्फर एसटी नामक औषधि खरिद गरेकी थिइन् । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधी प्रयोग गर्ने बेलामा फुलेको र फुटेको अवस्थामा भेटिएको थियो । औषधीबारे फार्मेसीलाई जानकारी गराउँदा अर्को पाकेट दिएर पठाएको र त्यो पनि बिग्रिएको छुमादेवीले बताइन् । ‘फार्मेसीबाट औषधी ल्याएर खान खोज्दा फुटेको र फुलेको देखेँ’ उनले भनिन्, ‘यस्तो खान हुँदैन भनेपछि छोरालाई फर्काउन पठाएँ, पछि ल्याएको पनि त्यस्तै थियो ।’

फार्मेसीमा रहेको सो औषधी अधिकाशं बिग्रिएको अवस्थामा रहेको पाइएको छ । बिग्रिएको औषधीका बारेमा अस्पताल प्रशासन र फार्मेसी सञ्चालकलाई जानकारी भएपनि फार्मेसीबाट सो औषधी बिक्री भइरहेको भेटिएको छ । फार्मेसी सञ्चालक शिव मैनालीले दशैँ बिदाका बेला जानकारी भएकाले आफुलाई बिग्रिएको औषधीबारे थाहा नभएको बताए । ‘बिदाको बेला आउनुभएको रहेछ, साटेर पठाएका थियौँ’ उनले भने, ‘अहिले हेर्दा अरु पनि बिग्रिएको भेट्यौँ, अब बेच्दैनौँ, कम्पनीलाई जानकारी गराएर फर्काउछौँ ।

उक्त औषधी भारतीय कम्पनी डेनमार्क लाइफसाइन्सेसले उत्पादन गरेको हो । जसको प्रयोग गर्न सकिने मिती सन् २०२२ फेब्रुअरीसम्म रहेको छ । यस किसिमका औषधीले मानवस्वास्थ्यमा असर गर्ने भन्दै अस्पतालका सिनियर अधिकृत डम्बरबल्लभ मिश्रले तत्काल फार्मेसी सो औषधी बिक्री गर्न नदिने र उत्पादक कम्पनीलाई जानकारी गराउन निर्देशन दिने बताए । ‘यस प्रकारका औषधीले मानवस्वास्थ्यमा असर गर्छ नै हाम्रो सेवामा पनि प्रश्न उठ्छ नी ।’ उनले भने, ‘त्यसैले हामीले आजैदेखि उक्त औषधी नबेच्न निर्देशन दिएका छौँ ।’

बिरामीलाई गुणस्तरीय तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वास्थ्य बिमामार्फत् नागरिकलाई उपचार र औषधीको व्यवस्था गर्दै आएको छ । तर यसरी सरकारी स्वास्थ्य संस्थामार्फत् विक्री बितरण भएका औषधीहरुमै त्रुटी देखिदा सरकारी स्वास्थ्य सेवालाई आम नागरिकले विश्वास गर्न सकिरहेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह
महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
राप्रपाको मेचिनगर वडा अधिवेशन सम्पन्न
झापामा छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईको मृत्यु