आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
झापा । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने पूर्वी नाका काँकडभिट्टा यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छ । विशेषगरी दशैँका बखत निकै भिडभाड हुने काँकडभिट्टा–पानीट्याङ्की नाका क्षेत्रमा अत्यावश्यक काम परेर ओहोरदोहोर गर्ने सिमीत संख्या मात्रै छ ।

कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले भारतबाट यहाँको नाका हुँदै दैनिक तीनदेखि चारसय नेपाली स्वदेश फर्किरहेको बताए । ‘यसवर्ष विगतमा जस्तो नाका क्षेत्रमा चहलपहल छैन’ पोखरेलले भने, ‘सिमीत मानिसहरु आवतजावत गर्दैछन् ।’

विगतमा दशैँ शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक ३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए ।





