उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक



राजु पौडेल
झापा ।
हात्तीपीडित गाउँको रुपमा परिचित झापाको बाहुनडाँगीे कृषिजन्य उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । अन्नबाली हात्तीले सखाप पारेपछि त्यसलाई छोडेर विशेषतः औषधीय गुणयुक्त तेजपत्ता, मरिच र कागती खेती गर्दै आएका कृषकलाई लामो समय कोरोना महामारीले प्रभावित बनायो । बजारमा असर परेपछि अहिले भने कृषक आफैं उत्पादनसगै बजारीकरणमा जुटेका छन् ।


मेचीनगर नगरपालिकाको वडा नं १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ता, मरिच र कागतीको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी कृषिजन्य उत्पादन किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोना संक्रमणका कारण सिमा बन्द हुँदा किसानका उत्पादनले बजार पाएन । बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने गर्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गयो, कागती र मरिचले पनि मुल्य पाएन । यस्तो परिस्थितीमा २०६७ देखि तेजपत्ता खेतीमा लागेका व्यवसायीक कृषक रबि नेपाल स्थानीय उत्पादनको प्रशोधन र ब्रान्डिङमा लागेका छन् ।


नेपाल बन्धु कृषि फर्म नै दर्ता गरेर स्थानीयस्तरमा उत्पादन हुने नगदेबालिका रुपमा रहेका कृषिजन्य उत्पादनलाई भारत र तेस्रो देशसम्म पु¥याउन जुटेका हुन् । ‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु’ उनले भने, ‘गाउँमा तेजपत्ता, कागती, मरिचजस्ता उत्पादन नबिकेर किसानलाई टाउको दुखाई हुन्थ्योँ, अहिले भने सबैको म किनीदिन्छु भनेको छु ।’

अहिले उनले प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ताको विक्रीका लागि पठाइसकेका छन् । दशैंको सिजनमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उनको योजना छ । यसअघि उनले कागती र मरिच समेत प्याकेजिङ्ग गरेर बिक्री गरे । अब भने चाडैँ तेजपत्ता, बेसार, मरिच, अदुवालगायतका उत्पादन पिसेर धुलो उत्पादन गर्न मिल स्थापना गर्ने उनको योजना छ । योसँगै भारतीय बजार र तेस्रो देश बंगलादेश र दुबईमा समेत स्थानीय उत्पादनको स्याम्पल पठाइसकेका छन् । ‘भारतको हैदरावाद, दिल्ली र कलकता स्याम्पल पठाइसकेको छु’ उनले भने, ‘अब एक महिनाभित्रमा निर्यातको गर्छु र दुबई पठाउनका लागि पनि कुराकानी गर्दैछु ।’


बिरुवा लगाएको शुरुका केही वर्ष कागती, तेजपत्ता र मरिचको उत्पादन थोरै थियो । भारतबाट आउने विचौलिया व्यापारीले सबै किनेर लैजान्थे । भारत लगेर उतैको ब्रान्डमा नेपाली तेजपत्ता बजारमा विक्री हुन्थ्यो । रहरले नभएर बाध्यताले शुरु भएको खेती हुनाले यसको बजार प्रवद्र्धनका बारेमा ध्यान पुग्न सकेको थिएन । तेजपत्ताको उत्पादन शुरु भएको एक दशक बितिसकेको अवस्थामा प्याकेजिङ गर्न बल्ल एउटा उद्योग खुलेको छ । जसले गर्दा स्थानीय कृषकले उत्पादन गरेको वस्तुले समेत मुल्य पाउन थालेको छ ।

त्यस्तै, गाउँमै सञ्चालित प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलासहित २० जनाले रोजगारी समेत पाएका छन् । ‘गाउँमै प्याकेजिङ्ग उद्योग खुल्दा किसानहरुले आफ्नो वस्तु सहजै बिक्री गर्न पाईरहेका छन्’ स्थानीय कृषक शम्भा शेर्पाले भनिन् ‘केहीले गाउँमै राजगारी समेत पाएका छन् ।’
बङ्गलादेशलगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना छ । सरकारी पक्षको सहजीकरण अभाव र माग बमोजिमका बस्तु लैैजान नसक्दा भने निर्यातमा कठिनाई भइरहेको व्यवसायीको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मरीच, केराउ, छोकडा र सुपारीको प्रतिवन्ध फुकुवा
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
अदुवाको भाउ घटेपछि किसानमा निराशा
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षका लागि ६ जना मैदानमा