प्रशिक्षकमा बलियो उपस्थिति देखाउदै प्रवेश


सक्रिय खेल जीवनबाट सन्यास लिएपछि फुटबलरका लागि जीवनको अर्को अध्याय सुरु हुन्छ । कोही प्रशिक्षक बन्नतिर लाग्छन् । कसैको क्लब प्रशासन सम्हाल्ने  रुची हुन्छ । कति स्टारहरू आफुलाई खेलाडी एजेन्टका रुपमा अघि बढाउँछन् । फुटबल बाहिरका पेशा त छदैछन् । 

नाम चलेका धेरै अन्तराष्ट्रिय स्टारहरू अहिले प्रशिक्षकका रुपमा सक्रिय छन् । फ्रान्सलाई विश्व बिजेता बनाउने डीडीएर डेस्चाम्पदेखि रियल म्याड्रिडलाई तीन पटक च्याम्पियन्स लिग जिताउने जिनेदिन जिदानसम्म । युरोपियन क्लब फुटबलमा लगभग सबै मुख्य उपाधी जितेका पेप गर्डिओलादेखि भर्खरै करियर सुरु गरेका मिकेल अर्टेटा सम्म । अनि बेलायती फुटबलमा खेलाडीका रुपमा करिब एक दशक राज गरेका स्टेभन जेरार्ड देखि फर्यान्क लाम्पार्ड सम्म ।

नेपाली फुटबलमा पछिल्लो ५-६ वर्षमा गर्ब गर्न लायकका धेरै कामहरु भएका छैनन् । भुकम्प पछिको लिगमा रौनकता देखिएन । नियमन निकायमा रहेकाहरूको नेपाली फुटबल काठ्माडौं केन्द्रित हुनुपर्छ भन्ने मानसिकताले मोफसलमा पर्याप्त गतिविधि छैन । खेलाडी उत्पादनमा ह्रास आउने क्रम जारी छ । तर यती हुँदाहुँदै पनि केही क्षेत्रमा भने आशावादी हुने ठाउँ छ । त्यसमध्येको एक हो, घरेलु फुटबलमा नाम कमाएका पूर्ब स्टारहरुको कोचिङमा बलियो उपस्थिति । त्यस्तै पूर्व स्टारहरूकाे सूचीमा रहेकाे एउटा नाम हाे प्रबेश कटवाल ।

नेपाली घरेलु फुटबलमा बिभिन्न क्लबबाट करिब डेढ दशक खेलाडीका रुपमा  सक्रिय रहेका उनी अहिले प्रशिक्षक बनि बलियो उपस्थिति देखाउन खोज्दैछन् । कुनै पनि देशको घरेलु फुटबलमा खेलाडी र प्रशिक्षक दुवै भुमिकामा लिग जित्नु चानचुने कुरा होइन । त्यसमाथि पनि लिगमा प्रशिक्षकका रुपमा डेब्यु गरेकै सिजनमा लिग जित्नु भनेको दुर्लभ किर्तिमान नै राख्नु हो । ‘क्लब फुटबलमा लिग उपाधी भन्दा अर्को ठुलो पुरस्कार हुदैन । त्यसकारण पनि प्रशिक्षकका रुपमा करियर सुरु गरेपछि लिग जित्ने सपना त हुन्छ नै । सुरुकै वर्षमा नै जित्छु जस्तो चै लागेको थिएन ।’ कुराकानीको सुरुवाती प्रश्नको जवाफ दिदै पूर्व मिडफिल्डर प्रबेशले भने ।
 
त्यसो त प्रबेश आफ्नो खेल करियरको अन्तिम क्लब झापा ११ मा हुँदा नै कोचिङमा लागिसकेका थिए । २०७२ सालमा सम्पन्न राष्ट्रिय लिगमा झापा ११ को कप्तानी गरेका प्रबेशले त्यसको एक वर्ष पछि काठमान्डौमा सम्पन्न ललित मेमोरियल युथ १८ लिगमा सोही क्लबकै युवा टोलीलाई प्रशिक्षण दिएका थिए । २०७४ सालमा एफसीले प्रदान गर्ने ए कोचिङ लाईसेन्स प्राप्त गरेपछि प्रबेश पूर्णकालीन प्रशिक्षक भए । 
 
प्रबेशको सुरुवात
 
नेपाली फुटबलमा झापालाई खेलाडी उत्पादन गर्ने उर्वरभूमि मान्निछ । प्रबेशको शब्दमा उनको गाउँ सैनिक झापा भित्रैको अर्को झापा हो । उनी गाउँकै तालिम र खेलको अनुभवमा १४ वर्षको उमेरमा काठ्माडौं आइपुगे । ग्यालेक्सी पब्लिक स्कुलले आयोजना गर्न लागेको ग्यालेक्सी कपका लागि नेपालतर्फको टिम बनाउन देशभरीबाट छनौटका लागि खेलाडी बोलाइएको थियो । त्यसमा भाग लिन प्रबेशले साथीसँग काठ्माडौंमा पहिलो पटक पाइला टेकेका थिए । दुर्भाग्यबस उनी त्यसका लागि छनौट हुन भने सकेनन् ।

तर उनको फुटबल प्रतिको लगाव भने रोकिएन । लगत्तै उनले झापा जिल्लाको प्रतिनिधित्व गर्दै अन्डर १६ कोकाकोला कप खेल्न पाए । जनकपुरमा सम्पन्न फाइनलमा मिडफिल्डर प्रबेशको टिम सुनसरीसगँ पराजित भयो । तर प्रबेशका लागि सो प्रतियोगिता नै नेपालको युथ १६ टिममा प्रबेश पाउने माध्यम बन्यो । नेपालले सन् १९९९ मा काठ्माडौंमा सम्पन्न एफसी अन्डर १६ क्वालिफायर पार गर्दै अर्को वर्ष भियतनाममा हुने फाइनल चरणका लागि स्थान बनायो । तर आफूभन्दा उपल्लोस्तरको टोलीसँग स्वभाविक हार व्यहोर्दै नेपाल अंक तालिकामा अन्तिम स्थानमा रहँदै घर फर्कियो । 

कलिलो उमेरमा प्रबेशको खेल जीवन उकालो लाग्दै गयो । राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक स्टिफन कोन्सटानटिनले उमेर समूहका टोली पनि हेरिरहेका थिए । उनको नजरमा प्रबेश परिसकेका थिए । सन् २००१ मा भारतको पश्चिम बगांलमा आयोजना गरिने एयरलाइन्स गोल्डकपमा नेपालले अनौपचारिक टोली पठाउने भयो । त्यसमा भियतनाम पुगेर आएको अन्डर १६ टोली तथा राष्ट्रिय टोलीबाट खेलाडी समिश्रण गरी एन्फा ११ को नाममा नेपालले प्रतियोगितामा भाग लियो । त्यसमा प्रबेश नपर्ने कुरै भएन । 

लिग यात्रा

यसैबीच प्रबेशको १५ बर्षकै उमेरमा एनआरटीबाट नेपाली घरेलु फुटबलमा करियर अघि बढ्यो । कोकाकोला कप खेल्दा नै प्रबेश एनआरटीको आखाँमा परिसकेका थिए । एनआरटीमै डिफेन्डरका रुपमा खेलिरहेका प्रदीप बस्नेतको संयोजनमा प्रबेशले ट्रयाल दिए । पास भए र बिगंरका रुपमा२०५६ सालमा एनआरटीबाट जन्मोत्सव कप खेले  । त्यसको एक वर्षपछि उनी थ्रिस्टार क्लबतिर लागे । ललितपुरे क्लबमा त्यतिबेला पूर्वेली खेलाडीहरूको भिड थियो । सुरेन्द्र तामाङ, रितेश थापा, विश्ववन्धु पोखरेल, जनक सिं थारुलगायतका खेलाडी थ्रिस्टारले अनुबन्धन गरेको थियो । त्यसमै प्रबेश पनि मिसिए । उनले थ्रिस्टारमा २०६१ सालसम्म रहदाँ ए डिभिजन लिग जिते भने बुढासुब्बा गोल्डकपलगायतका मोफसलका महत्वपुर्ण उपाधी पनि हात पारे ।
 
मनाङ मस्र्याङदीले २०६२ सालको लिग जितेपछी एफसी प्रेसिडेन्ट कपमा भाग लिनका लागि टिममा केहि खेलाडी थप गर्ने भयो । त्यसै अनुरुप प्रबेशको सरुवा सिजनको लिग च्याम्पियनमा भयो । तर त्यहाँ उनको बसाइ लामो भएन । मनाङले २०६३ मा ठूला स्टारहरु सबैजनालाई रिलिज गर्यो । बसन्त गौचन, अनिल गुरुङ, नविन न्यौपानेलगायतका खेलाडीहरु एनआरटी गए । प्रबेश चाही आरसिटी तर्फ लागे । जहाँ उनी २०६८ सालसम्म रहे । त्यसपछि २०६९ सालमा मछिन्द्र । त्यसैबीचमा राष्ट्रिय लिगमा झापा जिल्लाको प्रतिनिधित्व गर्न झापा ११ जन्मियो । त्यसपछि प्रबेश गृह जिल्ला फर्के । उनको कप्तानीमा युवा खेलाडीहरुले भरिएको झापा ११ ले राष्ट्रिय लिगमा चौथो स्थान हासिल गर्‍यो । त्यतिमात्र होइन १० लाख पुरस्कार राशीको एनसेल कप पनि कब्जा गर्‍यो ।  

प्रशिक्षक प्रबेश 

मछिन्द्रले लिगका लागि बलियो टिम बनाउने भयो । त्यसका लगि राष्ट्रिय टोलीका सदस्यहरू तथा घरेलु फुटबलमा स्थापित नामहरु भित्र्यायो । तिनमा अधिकांश पूर्वेली थिए । खासमा खेलाडी आउने र प्रबेश नियुक्त हुने सँगसँगै जस्तो भयो । चाखलाग्दो कुरा के थियो भने मछिन्द्रले अनुवन्धन गर्दै गरेका खेलाडीहरु प्रबेशका लागि नयाँ भने थिएनन् । प्राय सबै प्रबेशसँगै खेलेका अथवा उनको प्रशिक्षणमा झापा ११ बाट खेलेकाहरु थिए । ‘क्लबले मैले गर्न सक्छु भन्ने ठान्यो होला । टिमका धेरै खेलाडीहरु मेरा लागि नयाँ थिएनन् । उनीहरु धेरै जनासगँ मैले झापा ११ मा हुदाँ सँगै खेलेको थिए । अनि कतिपय प्रतियोगिताहरुमा म उनीहरुको प्रशिक्षक पनि थिए,’ प्रबेशले भने ।  
‘सायद खेलाडीहरूले पनि मेरो नाममा जोड दिएको हुनसक्छ । अथवा क्लबले नै मेरो र टिमका सदस्यहरूबीच राम्रो तालमेल हुनसक्छ भनेर मलाई लगेको हुनसक्छ, ’ उनले थपे । 

सुजल श्रेष्ठ, बिशाल राई, बिशाल श्रेष्ठलगायतका राष्ट्रिय टिमका ६ जना अनि नेपाली क्लब फुटबलमा लामो अनुभव बोकेका बिराज मर्हजन, बुद्द चेम्जोङलगायतका खेलाडीहरुको समिश्रणबाट मछिन्द्र लिगमा टिम टु वाच नै बनेको थियो । ‘कमसेकम तेस्रो हुनुपर्छ भन्ने थियो । तर सबैले आफ्नो भूमिका राम्रोसगँ निभाए लिग नै पनि जित्न सकिन्छ भन्ने आत्मविश्वास सँगसँगै थियो,’ उनले भने ।  नेपाली क्लब फुटबलमा ठूलो प्रतिस्पर्धा नरहेको र राम्रो लयमा रहेका ४/५ जना खेलाडीहरु जसले टिममा ल्याउन सक्यो उसले लिग जित्नसक्ने सम्भावना रहने प्रबेशको कथन थियो । टिम राम्रो बनाए पनि अरु समस्या भने आइ नै रहे । एक त राम्रो अभ्यास स्थलको कमि त्यसमाथि केही खेलाडीहरू सागका कारण ढिलोगरी मात्र आइपुगे । घाइते खेलाडीको सुची अर्को समस्याको रुपमा छदै थियो । मछिन्द्रले करिब २० दिनको अभ्यासपछि आफ्नो तयारी सक्यो । एउटा क्लबले २० दिनको तयारीले लिग जित्नु चानचुने कुरा हुदै होइन । तर नेपाली परिपेक्ष्यमा नौलो पनि होइन ।
 
प्रबेशका लागि महंगो मछिन्द्र सम्हाल्नु कम चुनौतिपूर्ण थिएन । प्रबेशलाई साथीभाईले मछिन्द्र जानु अघि नसम्झाएका होइनन् । खेलाडीमा धेरै पैसा खर्च गरेका कारण मछिन्द्रमा दबाब बढी हुने र भर्खर करियर सुरु गरेको प्रशिक्षकलाई त्यसले असर गर्ने भन्ने उनीहरूको भनाइ थियो । प्रबेशलाई मछिन्द्रबाहेकको क्लबबाट प्रस्ताब नआएको पनि होइन । ‘मलाई एउटा मिडटेबल क्लबबाट प्रस्ताब थियो । तर मलाई त्यो क्लबलाई लिगमा सुरक्षित राख्नुमा भन्दा मछिन्द्र जस्तो क्लब सम्हालेर दबाबमा रहन नै मजा होला जस्तो लाग्यो । आखिर कोचिङ करियरमा लागेपछि रिस्क त लिनै पर्छ । अनि मछिन्द्रको जस्तो मौका सधै आउने पनि होईन,’ प्रबेशले भने । 

प्रतिस्पर्धा बिहिन नेपाली फुटबल
     
कुराकानीकै क्रममा प्रबेशले लिग तथा समग्र नेपाली फुटबलमै प्रतिस्पर्धा घट्दै गएको जिकिर गरे । खेलाडीको संख्या कम हुँदै गएको तथा फुटबलमा करियर बनाउन युवाहरूको रुची घट्दै गएको उनको भनाइ थियो । ‘ऐले राष्ट्रिय टिममा पर्न नै लागि बलियो प्रतिस्पर्धा छैन । हाम्रो पालामा राष्ट्रिय टिममा स्थान बनाउनका लागि घटिमा १०० जना खेलाडी दौडमा हुन्थे । एउटा घाइते भए त्यो स्थानमा पर्न नै कडा प्रतिस्पर्धा हुन्थ्यो । ऐले कहाँ छ र त्यस्तो ?,’ प्रबेश प्रश्न गर्छन् ।
  
खेलाडी उत्पादनमा ह्रास आउनुमा नेपाली फुटबलमा खेलेर बाच्नँ सकिने आधार नहुनु नै प्रमुख कारण रहेको उनको भनाइ छ । ‘लिग नै २-३ महिनाको मात्र हुन्छ । खेलाडीको अनुवन्धन लगभग ५ महिनाको हुन्छ । त्यती समयमा वर्षभरीलाई पुग्नेगरी कमाइ हुने पनि होइन । यस्तोमा त भएकै खेलाडी पलायन हुने सम्भावना हुन्छ । अहिले भएको पनि त्यही छ । खाडीमै राष्ट्रिय टिमलाई टक्कर दिने गरी टिम बनाउन पुग्दो खेलाडी छन् ,’ प्रबेश दुखेसो पोख्छन् ।
 
एन्फाले लिगलाई होम एन्ड अवे संरचनामा लगेर मोफसलका क्लबहरुलाई संलग्न नगर्ने हो भने नेपाली फुटबल उभो नलाग्ने उनको भनाइ छ । ‘राष्ट्रिय लिग हुदाँ झापा ११ ले प्रत्येक खेलमा कम्तिमा १० लाख गेटमनी उठाउथ्यो । स्थानिय क्लब र खेलाडी हेर्न दर्शक आउछन् । काठमाडौमा लिग हुदाँ केही खेललाई छाडेर रगंशाला सुनसान हुन्छ । कही चाही आफूले सर्मथन गरेको क्लबको खेल हेर्नै नपाउने र कही चाही खेलले दर्शक नै नपाउने । यस्तोमा फुटबल खेलको कस्तो विकासको परिकल्पना गर्ने ?’ प्रबेश गम्भिर प्रश्न गर्छन् ।
  
नेपाली फुटबललाई उकालो लगाउन जिल्लामा राम्रा प्रशिक्षकहरुको व्यवस्था गर्ने देखि ग्रासरुटमा लगानी गर्नुपर्ने सम्मका प्रबेशका माग छन् । यी माग नयाँ वा गर्न नसकिने खालका भने होइनन् भन्ने प्रबेशलाई हेक्का छ ।
  
र, अन्त्यमा

प्रबेशले उमेर समूहका प्रतियोगिताहरुमा नेपालको जर्सी लगाउने मौका पाए । उनी राम्रा युवा खेलाडीहरु मध्यमा गन्निथे । प्रबेशले सन् २००४ मा ओलम्पिक क्वालिफायर्समा नेपालको प्रतिनिधित्व गरे । उनी सम्मिलित नेपाली अण्डर २३ टोलीले होम एण्ड अवेमा प्यालेस्टाईनको सामना गर्‍यो । उनले सन् २००५ मा पाकिस्तानमा सम्पन्न सागमा पनि नेपालको जर्सी लगाउने मौका पाए । लामो समय घरेलु फुटबलमा गुजारे । क्लब फुटबलमा राम्रा र वलिया मानिएका क्लबबाट पनि खेले । तर दुर्भाग्यवश उनले नेपाली सिनियर टिममा कहिले पनि मौका पाएनन् । उनलाई अभ्यासमा डाकिन्थ्यो तर अन्तिम सूचीमा भने उनको नाम कहिले पर्दैन थियो । ‘सम्झिदा दु:ख लाग्छ । म एकदम राम्रो फर्ममा हुँदा पनि कहिले नेशनल टिममा परिन । म भन्दा धेरै राम्रा खेलाडी भएका भए पनि चित्त बुझ्थ्यो होला । तर त्यसो पनि थिएन,’ उनी दुखेसो पोख्छन् ।    

पछि उनी राष्ट्रिय टिमको अभ्यासका लागि बोलाउदा जानै छाडे । ‘सुरु–सुरुमा गए । उत्साह हुन्थ्यो । अन्तिम सुचिमा परिन्छ भन्ने आश पनि लाग्थ्यो । तर मौका नपाइने भएपछि अभ्यासमा बोलाए पनि जान मन लाग्न छाड्यो । सुरुमै पर्दिन भन्ने लागेपछी किन जाने ?’ उनी भन्छन् ।
 
खेलाडीका रुपमा राष्ट्रिय टिममा नपरे पनि कुनै दिन प्रशिक्षक बनेर देशको प्रतिनिधित्व गर्ने रहर चाही उनमा छ । ‘यो त स्वभाविक सपना हो । तर त्यसका लागि लामो बाटो तय गर्नु छ । अहिले त सुरुवात मै त छु,’ प्रबेशले भने ।  सुरुवात नै लिग जितेर गरेका प्रबेशको आउँदा दिन कस्ता होलान ? के ऐलेको बलियो लय कायम होला त ? फुटबलमा यस्ता प्रश्नहरुको उत्तर सहजै पाइदैन । तर नेपाली फुटबल चलायमान हुने हो भने धेरै प्रबेशहरु उत्पादन भने हुने नै छन् । खेलाडीका रुपमा र प्रशिक्षकरुपमा पनि । (इकागजबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सन्दकपुर : जहाँबाट देखिन्छ तीन देशको हिमाल
बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग
सय गन्तव्यमा परेको पटेक डाँडा पर्यटकको प्रतिक्षामा
काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क