इलामको माईजोगमाईमा आलु भण्डार स्थापना
नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न १ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ ।
स्थानीय कालिका कृषि सहकारी संस्थाको आलु भण्डार (रष्ट्रिक स्टोर) कृषि अनुसन्धान केन्द्र जौबारीको २० लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उक्त स्टोरको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा आलु अनुसन्धान केन्द्रका प्रमुख गणेश खत्री र वडा नं १ का वडाध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । रष्ट्रिक स्टोरमा १ सय टनसम्म आलु भण्डारण गर्न सकिने गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्जिव थार्मीले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसंग समवन्य गरी अघि बढिरहेको बताए ।
उनले सहकारीताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताए । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि माईजोगमाई गाउँपालिकालाई आलु खेतीका लागि राम्रो ठाउँ मानिएको छ ।
आलु अनुसन्धान केन्द्र पुर्नस्थापना भएपछि हाल गाउँपालिका क्षेत्रका धेरै जसो किसान आलु खेतीमा आकर्षित भएका छन् ।