जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग


झापा । भद्रपुर नगरपालिका-९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो ।

भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ । कुनैकुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्नेबाहेक जङ्गली हात्तीको दिनहुँ भोग्नुपर्ने आतङ्कबाट स्थानीयवासीले अब मुक्ति पाएका छन् ।

झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश नं १ सरकारले रु १४ लाख र सङ्घीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट रु २० लाख प्राप्त भएको अध्यक्ष पोखरेलले बताए ।

झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन ।

हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ । बाँकी काम धमाधम भइरहेको छ । असोजभित्र शतप्रतिशत काम सक्ने लक्ष्य रहेको वन समितिका अध्यक्ष पोखरेलले बताए ।

झापाको स्थानीय जङ्गलमा १० देखि १३ वटासम्म रैथाने जङ्गली हात्ती बाह्रै महिना बस्दै आएका छन् । जङ्गलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने उपद्रो गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय