१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह


काठमाडौं । आज रातिबाट ११ गतेसम्म देशका सबै नदीहरुमा बहाव बढ्ने भएकाले सो अवधिसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानको मापनअनुसार पनि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो अवस्थामा छ । आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।

यसैगरी आज नै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिरहा, धनुषा,  दोलखा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन जिल्ला हुँदै बग्ने नदीहरुमा आकस्मिक बहावको सम्भावना छ ।

गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, बैतडी जिल्ला भइ बग्ने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना औंल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने
प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित