कार्य योजना बनाएर झापामा शैक्षिक संस्था खुलाउने तयारी


झापा । कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम भोलिदेखि निजी तथा सामुदायिक विद्यालय खुलाउन लागेका हुन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकेको मापदण्डसँगै स्वास्थ्य मापदण्ड समेत पूरा गरी विद्यालय खुलाउन जिल्लाका स्थानीय तह अन्तरगत रहेका शिक्षा, युवा तथा खेलकुद शाखाहरूले आफ्ना पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक बिच छलफल गरेका थिए। सोही छलफलमा मन्त्रालयले बनाएको निर्देशिका बमोजिम विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। भद्रपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले निर्देशिकाले तोके बमोजिम असोज १ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको छ। बुधवार शिक्षा शाखामा बसेको छलफल पश्चात् यस्तो निर्णय गरिएको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार आजदेखि असोज १० गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयले विद्यार्थी पहिचान, अभिलेखीकरण तथा वर्गीकरण गर्ने निर्णय गरेको छ। त्यो भनेको विद्यार्थी भर्ना अभियान नै हो। असोज ११ गते पश्चात् मन्त्रालयले तोकेको निर्देशिकामा टेकेर नगर शाखाले एउटा कार्य योजना बनाएर पहिलो चरणमा कक्षा ८ देखि १० सम्म कक्षा सञ्चालन गर्ने बताइएको छ। ‘कार्य योजना विद्यालयले बनाउने हो,’ शाखाका कर्मचारी पौडेलले भने, ‘तर छलफलमा अधिकांश प्रधानाध्यापकले निर्देशिकाले तोके अनुसार यहाँका विद्यार्थीहरू  इन्टरनेट र सञ्चार क्षेत्रको पहुँच भन्दा बाहिर रहेकोले विद्यार्थीलाई विद्यालयमै राखेर पढाउनु पर्छ भनेका छन्।’  सोही बमोजिम कार्य योजना बनाउनु पर्छ जस्तो लाग्छ,’ उनले भने, ‘एउटा कक्षा कोठामा २० जना विद्यार्थी, प्रत्येक विद्यार्थी एउटा बेच्नमा राखिनुपर्ने र शिक्षकको दुरी पनि एक मिटर कायमसँगै मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्थापन गर्ने खालको हुनुपर्छ।’ भद्रपुरमा ३१ वटा सामुदायिक, ३३ वटा निजी र २ वटा धार्मिक विद्यालय रहेका छन्।

उता शिक्षा, युवा तथा खेलकुद शाखाले पनि आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए। बुधवार गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा बसेको बैठकमा शिक्षा शाखा, शिक्षक कर्मचारी, प्रधानाध्यापक, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा मन्त्रालयले तोकेको निर्देशिका बमोजिम नै असोज १ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरिएको शाखा प्रमुख बस्नेतले जानकारी दिए।

कचनकवल गाउँपालिका इन्टरनेट र सञ्चार क्षेत्रको पहुँच भन्दा बाहिर रहेकोले विद्यार्थीलाई प्रत्यक्ष शिक्षा दिनु बाहेक अन्य विकल्प नदेखिएको उनले बताए। सोही बमोजिम नै पहिलो चरणमा बाल कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई घरमै शिक्षण सिकाइको व्यवस्थापन मिलाउने र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई प्रत्यक्ष शिक्षाको व्यवस्थापन मिलाउन विद्यालयले कार्य योजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए।

कचनकवलका विद्यालयहरू विद्यार्थी सङ्ख्या धेरै रहेकोले कक्षा सञ्चालन गर्दा विद्यालयले जोरबिजोरको आधारमा कार्य योजना बनाउने पर्ने बताउँदै उनले भने, ‘त्यसमा पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरिनेछ।’गाउँपालिकामा ३० वटा सामुदायिक, १५ वटा निजी र १३ वटा धार्मिक विद्यालय रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर
झापाकी बृद्धासहित कोरोना संक्रमित तीन महिलाको मृत्यु
चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज