६ महिनादेखि ठप्प रहेका लामो दूरीका बस आजबाट गुडे


झापा । करिब ६ महिनादेखि ठप्प रहेका लामाे दूरीका सार्वजनिक बसहरू आजबाट गुड्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यातायात तथा हवाइ उडान ठप्प भएका थिए । भाइरसकाे संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू गरेकाे थियाे । लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बल्ल आजदेखि खुल्ने भएका हुन् । आजैदेखि आन्तरिक हवाइ उडान समेत खुल्ने बताइएकाे छ ।

मन्त्रिपरिषदकाे मंगलबार बसेकाे बैठकले १ असोज (आज) देखि नै लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएकाे थियाे । यससँगै यातायात व्यवसायी र मजदुरहरू आजबाटै सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् । सरकारले अनुमति नदिए पनि व्यवासायीले बस गुडाउने चेतावनी दिँदै आएका थिए ।

यातायात  व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । सरकारले कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको छ ।

काेराेना संक्रमणकाे जाेखि झनै बढेकाे वेला लामाे दूरीका बस सञ्चालन हुनुले संक्रमण झन् फैलने चिन्ता पनि छ । सरकारले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागू गर्न निर्देशन दिएकाे छ । जसअनुसार बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउनेछन् । यसैकारण तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय गरिएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न भने पाइनेछैन । साथै चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएकाे छ । यात्रुले पनि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेर यातायात सञ्चालन प्रक्रियाबारे थप छलफल गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने सरकारी निर्णयकाे स्वागत गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।

यसअघि पनि महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

करेन्ट लागेर वडाध्यक्षको मृत्यु
१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि इलामका २ पक्राउ
प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु