मोरङको कसेनी हत्या प्रकरण : मुख्य योजनाकार पक्राउ, यसरी भयो घटना


मोरङ । सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युवाहरूले मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामाथि बाँसको भाटा प्रयोग गरेर अस्थायी पुल बनाएका थिए ।

उनीहरूले त्यहाँबाट मोटरसाइकल तार्दा एउटासँग २५ रुपैयाँ लिन्थे । मानिसलाई भने पैसा लिइँदैन थियो । लोहन्द्रा खोलामा रहेको सुनसरी–मोरङ सिँचाई आयोजनाको साइफनसहितको पक्की पुल २०७४ साल साउनमा आएको बाढीले बगाइदियो । खोलामाथिको पक्की पुल पुन निर्माणको काम भने तीन बर्षपछि भर्खर थालिएको छ ।

पक्की पुल नभएसँगै खोला वारपार गर्न समस्या हुँदा स्थानीय युवाले बाँसको पुल बनाएको वडा अध्यक्ष विश्वबन्धु बस्नेत बताउँछन् । बाँसको अस्थायी पुलबाट दैनिक सयौँ सर्वसाधारणले खोला वारपार गर्थे ।

वडा अध्यक्ष बस्नेतका अनुसार त्यही पुलमा उठाउने गरिएको पैसाको विवादका कारण एउटै परिवारभित्र मानवीय क्षति भयो । भदौ ११ गते राति मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठ लगायतका युवाहरूले पुलबाट उठाएको पैसा आफूहरूलाई पनि दिनु पर्ने भन्दै विवाद गरेका थिए ।

त्यत्तिकैमा मोटरसाइकलमा आइपुगेका ग्रामथान गाउँपालिका–२ का ३३ वर्षीय कृष्ण चौधरी पनि विवादमा सामेल हुन्छन् । चौधरी त्यहाँबाट जानुको साटो कसेनीकै विनय सरदारलाई फोन गरेर बोलाउँछन् ।

केही युवा लिएर सरदार आइपुगेपछि उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाउँछन् । तर उक्त विवाद भोलिपल्ट ज्यान लिने घटनामा परिणत भएको वडा अध्यक्ष बस्नेतले बताए । रिसईबी साँधेर बसेका सरदारले २५/३० जना युवा बटुलेर अघिल्लो रात विवाद गर्नेको खोजी गर्दै भोलिपल्ट आक्रमण सुरु गरेको स्थानीय बासिन्दा बताउँछन् ।

झगडा सुरु हुन थालेको चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको उनीहरूकै आक्रमणमा परेर मृत्यु भएको हो । ‘पुलका कारण उत्पन्न विवादले मानिसकै ज्यान जाने कहालीलाग्दो घटनाको रूप लियो,’ वडा अध्यक्ष बस्नेतले भने, ‘जुन विवाद झगडामा परिणत हुँदा एकै परिवारका एक जनाको मृत्यु र तीन जना घाइते हुन पुगे ।’

उनका अनुसार अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै राई परिवारमाथि आक्रमण गरिएको पाइएको छ । तर उनीहरूको अघिल्लो घटनामा कुनै संलग्नता नभएको बस्नेतले बताए ।

विराटनगरमा नृत्य प्रशिक्षकको काम गर्ने अविवाहित चन्द्रकुमार कोरोना सङ्क्रमणका कारण गरिएको ‘लकडाउन’पछि गाउँमै गएर बसेको जानकारी बस्नेतले दिए । घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशाल कुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथान– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

फुपूको घरबाट ‘योजनाकार’ पक्राउ

कहालीलाग्दो घटनाका मुख्य अभियुक्त भनिएका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराह क्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले सरदारलाई घटना भएको १८ दिनपछि सोमबार राति ८ः३० बजेतिर नियन्त्रणमा लिन सफल भएको हो ।

फुपूको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पक्राउ गरेर उनलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी खड्काले दिए ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यही दिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । एउटै परिवारका उनीहरू उपचारपछि घर फर्किसकेका छन् ।

मृतक चन्द्रकुमार र घाइते समुन्द्र सइकुमारका भाइ र गौरव छोरा हुन् । मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर
झापाकी बृद्धासहित कोरोना संक्रमित तीन महिलाको मृत्यु
चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज