उडान भर्ने पूर्व तयारीमा चन्द्रगढी विमानस्थल (हेर्नुस् तस्विर)


झापा, भदौ २९ । कोरोना महामारीका कारण बन्द रहेको आन्तरिक उडान खुलाउन सरकारले तयारी गरेपछि झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले पूर्वतयारी सुरु गरेको छ । कार्यालयले आन्तरिक उडान खुलेपछि यात्रुलाई कोरोना जोखिमबाट जोगाउन सुरक्षाका लागि पूर्वतयारी सुरु गरेको हो ।

कोरोना संक्रमणका कारण लामो समयदेखि विमानस्थलहरु बन्द छन् । सरकारले आगामी असोज १५ देखि आन्तरिक उडान खुलाउने तयारी गरिरहेको छ । महामारीकै बीच सरकारले आन्तरिक उडान खुलाउने तयारी गरेपछि चन्द्रगढी विमानस्थलले मर्मतसँगै संक्रमण न्यूनीकरणको काम गरिरहेको छ । लामो समयदेखि उडान रोकिएको अवस्थालाई सदुपयोग गर्दै मर्मत, सुरक्षा र सतर्कता व्यवस्थापन र तयारीको काम भइरहेको कार्यालयले जनाएको छ ।

सरकारको निर्णय आउनासाथ विमानस्थल खुलेपछि पहिलो चरणमा ३ वटा विमान कम्पनीले काठमाडौँ–चन्द्रगढी–काठमाडौँ दैनिक ४ वटा उडान भर्ने तयारी गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख मुरारी पौडेलले जानकारी दिनुभयो । ‘सरकारको निर्देशनको प्रतिक्षामा छौँ’ उनले भने, ‘उडान भर्ने पूर्वतयारी लगभग सकेका छौँ ।’

सरकारले जुनसुकै वेला उडान सुरु गर्ने भएकाले यो विमानस्थलमा कोरोना संक्रमणको जोखिम कम गर्न यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीलाई पिपिईको व्यवस्था, भौतिक दूरीका लागि पहेँलो रङको चिह्न लगाउने कार्य, टिकट काउन्टर, प्रतिक्षालयजस्ता स्थानमा दुरी कायम हुने संरचनाको निर्माण र मर्मत–सम्भार साथै पूर्वतयारी अभ्यास समेत गरिएको छ ।

लकडाउनका कारण लामो समयदेखि ठप्प रहेको उडानहरु खुल्ने तयारी भएपछि ट्राभल्स तथा पर्यटन व्यवसायी समेत उत्साहित बनेका छन् । ‘५ महिनादेखि पर्यटन व्यवसायमा लागेको ताला खुल्दा केही हदसम्म राहत पक्कै मिल्छ’ जिल्ला ट्राभल्स संघ, झापाका उपाध्यक्ष गोपाल खनालले भने, ‘सम्पूर्ण सुरक्षाका उपाय अपनाएर काम गर्न तयार छौँ ।’

सुदुर पूर्वको यो विमानस्थलले झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग र पूर्वोत्तर भारतका नागरिकलाई हवाईमार्गबाट काठमाडौँ जोड्दै आएको छ । लकडाउनपूर्व सामान्य अवस्थामा ६ वटा विमान कम्पनीले १० वटा उडान भर्थेँ । जसबाट दैनिक एक हजार यात्रु प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)