यो झापा हो !


उज्ज्वल प्रसाईं (लेखक)

संघीय व्यवस्थापछि जिल्ला गौण हुन्छ भन्ने आम बुझाइ थियो । संघ, प्रदेश र स्थानीय सरकारहरू आफ्ना विशिष्ट पहिचान, स्वायत्तता, अधिकार र आपसी समन्वयका आधारमा सञ्चालित हुन्छन् भन्ने अनुमान थियो । तर, प्रदेश र स्थानीय सरकारलाई गौण बनाउन जिल्लाको उपादेयता अक्षुण्ण मात्र राखिएन, सीडीओ नामका स–साना राजाहरू पनि कायम रहे ।

यद्यपि यो स्तम्भको मूल विषय जिल्ला र सीडीओको उपस्थितिमा केन्द्रित छैन । प्रशासनिक एकाइका रूपमा कायम ‘जिल्ला’ आम संवादमा सामान्यीकृत गरिएका चारित्रिक विम्बका रूपमा पनि प्रयोग हुने गरेको छ । त्यही सेरोफेरोमा झापाको खबर सुनाउन खोजेको हुँ ।

झापा र स्याङ्जा अति बठ्याइँ र धेरैजसो धुर्त्याइँको विम्बका रूपमा आम नेपाली संवादमा सवार हुन्छन् । कतिपयका लागि यो क्षोभको विषय हुन सक्छ । धेरैले अनौपचारिक संवादमा यो सामान्यीकृत ‘स्टेरियोटाइप’ मा गाढा विश्वास गर्छन् भन्ने बुझिन्छ, तर प्रायः ठट्टाको आवरण दिएर विम्ब दोहोर्‍याउँछन् । हामी अरूभन्दा बाठा छौं भनेर प्रमाणित गर्नझैं प्रधानमन्त्री केपी ओलीले केही समयपहिले झापालाई ‘सुपर जिल्ला’ घोषणा गरिदिए । आफूले निर्वाचन जितेको क्षेत्र पनि झापाकै भएकाले अतिरञ्जित विशेषण जोडेर बोल्नु सामान्य राजनीतिक नेताको गुण हो, कुनै गम्भीर छलफलको विषय होइन । तर, शक्तिशाली पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले नै घोषणा गरेपछि धेरै झापालीले आफू ‘सुपर’ भएकामा विश्वास गरिदिए ।

यसरी विश्वास गर्ने कतिपयलाई भने ओलीले खासमा कुनै एउटा पनि गम्भीर काम गरेका छैनन्, मूलतः सिङ्गो व्यवस्थालाई नै ठट्टामा रूपान्तरण गरेका छन् भनेर बुझ्न अझै केही समय लाग्न सक्छ । बाठो, धूर्त र ‘सुपर’ जस्ता विशेषणले सुशोभित जिल्लाका पछिल्ला खबर सुनाउनलायक छैनन् । कोरोना संक्रमितको संख्यामा अरू केही जिल्लालाई उछिन्न नसक्नुमा बठ्याइँभन्दा धेरै संयोगको भूमिका छ । तर, संख्यामा तीव्र वृद्धि भए के गर्ने भन्नेबारे कसैसँग न सुपर योजना छ, न कुनै मजबुत तयारी नै । केही दिनपहिलेको घटना हो, यहाँका अस्पतालले कोभिडको शंकामा उपचार गर्न नमान्दा एक बालक र अर्का किशोरको ज्यान गयो । बितिसकेपछि गरिएको परीक्षणमा उनीहरू दुवै संक्रमित नभएको पुष्टि भयो । उपचारले बचाउन सकिने यी दुवै सामान्य परिवारका सदस्य भएकाले दोषका भागीदार ‘सुपर’ झापालीले सहजै उन्मुक्ति पाए ।

चन्द्रकला लाम्गादे एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी भएकामा कति झापालीले गर्व गर्छन्, थाहा छैन, तर उनको दलित पहिचानलाई लिएर झापालीहरू साह्रै खुसी हुन सकेनन् । उनको मूल थलो झापा भएकामा खासै चर्चा पनि कहिल्यै गरिएन । तीन महिनादेखि चारआलीस्थित आफ्नै घरमा बस्दै आएकी उनी गर्भवती थिइन् । संकटका अनिश्चितताबीच उनी आफ्ना श्रीमान् सुमन खातीसहित पेटभित्र हुर्किरहेको सन्तानलाई जन्म दिने तयारीमा थिइन् । छिमेकी एक परिवारले उनी कोरोना संक्रमित भएको शंका गर्‍यो, पटकपटक जात काढेर ‘रोग सार्लिस् !’ भन्दै थर्कायो । दुर्वचन सहन सक्ने सीमा हुन्छ । जात काढेर गाली गरेको सधैं सहेर बसे, हेपाइका अरू उपक्रम दोहोरिने निश्चित हुन्छ । त्यसैले एउटा विन्दुमा प्रतिकार अवश्यम्भावी थियो । दम्पतीले प्रतिकार गर्न कोसिस गरे, कुटाइ खाए । घाइते उनीहरू अहिले उपचाररत छन् ।

यस्ता घटना भइरहनु धेरैलाई सामान्य लाग्न सक्छ । झापा मात्रै होइन, नेपालका सबै जिल्लामा यस्ता घटना सयौंको संख्यामा भइरहेका हुन सक्छन् । जातीय विभेदको सवाल उठाउँदा, आफूलाई ‘सुपर’ झापाली सम्झनेहरूले नेपालमै जातीय विभेद नरहेको र कतै छ भने त्यो ‘पश्चिमतिरका दुर्गम गाउँमा मात्र हुन सक्छ’ भनेर व्याख्या गरेको सुन्न पाइन्छ । अर्थात्, झापामा कुनै समस्या नभएको उनीहरूको दाबी हो । कसैले यस्ता घटना औंल्याएर दोष देखायो भने, ‘सुपर झापाली’ ले त्यस्ता प्रश्नलाई नै ‘जातिवादी’ भनेर पन्छाइदिन्छन् । दलित मुद्दा सो समुदायका केही मान्छेले राजनीति गर्न र एनजीओ चलाउन उछालेको मात्रै हो भन्ने ‘सुपर’ धारणा झापामा व्याप्त छ । त्यसैले चन्द्रकलाको मुद्दालाई जातीय मुद्दा होइन भनेर पन्छाउने भरमग्दुर प्रयत्न भइरहेको छ ।

चन्द्रकलाले कुटाइ खाएको घटना सेलाउन नपाउँदै झापाली रमिकुल आलमको प्रहरीको गोलीबाट मृत्यु भयो । ३८ वर्षीय आलम पेसाले ट्र्याक्टर चालक थिए । बुधबार दिउँसो आफ्नो काम सकेर घर फर्केका उनी, बजारमा भइरहेको खैलाबैला हेर्न भीडतिर जाँदा, मान्छे तितरबितर भए, प्रहरीले गोली चलायो, उनको ज्यान गयो । अघिल्लो साँझ आफ्नै घरमा गोरु काटेका थिए ताजामुल हकले । कसैले प्रहरीलाई खबर गर्‍यो, गोरु काट्नु गैरकानुनी भएका आधारमा प्रहरीले ताजामुलसहित दुईलाई पक्राउ गर्‍यो । आफ्नो समुदाय र धर्ममा त्यसो गर्नु कुनै अपराध नभएकाले गाउँलेले सो पक्राउको विरोध गरे । सीमान्तकृत समुदायको मुद्दामा बन्दुकको बल नै समाधानको एक मात्र सफल सूत्रका रूपमा स्थापित गरेको राज्यको चरित्रअनुरूप गोली चलाइयो । पाँच जना सन्तानका श्रमिक बाबु सधैंका लागि ढले । तिनै सन्तानको भविष्य सुरक्षित राखिदिन रमिकुलका साथीभाइले ‘सहिद’ घोषणाको माग गरिरहेका छन् ।

राज्यका औपचारिक संस्थाले सामाजिक सद्भाव खलबल्याउँछन् । संविधानमा लेखिएका पंक्तिलाई आधार बनाएर व्यक्ति र समुदायविरुद्ध रिस फेर्न स्वयं राज्यका पहरेदार अघि सर्छन्, ज्यानै लिन्छन् । अनि समुदायको जायज आवाज दबाउन नागरिक तहबाटै अर्को ‘सुपर गफ’ अघि सारिन्छ— ‘सद्भाव कायम राखौं ।’ समुदायका चालचलन, खानपिन आदिप्रति पूर्ण बेवास्ता गर्नेलाई एक प्रश्न पनि नगरी सडकमा उभिएर जायज प्रश्न सोधिरहेकालाई सद्भावको पाठ पढाउने काममा ‘सुपर झापाली’ हरू अब्बल छन् । प्रत्येकपटक बहिष्कृत समुदायले आवाज उठाउँदा, झापामा ‘सद्भाव कायम राखौं’ को नगरा फुकियो । राज्यले खलबल्याएको सद्भावमा भने सुपर झापालीको नगराले मौनता साध्छ ।

मान्छेले इज्जतिलो जीवन जिउन पाउनुपर्छ भन्ने सवाल अचेल झापामा गौण छ । जिल्लाको ‘सुपर’ पहिचानलाई मजबुत बनाउन राजनीतिक सत्ताको उपयोग गर्नेहरूले मूलतः दुई काम गरिरहेका छन् । एक, पूर्वाधार विकास । दुई, त्यही पूर्वाधार विकासका लागि ढुंगा र बालुवाको बेपर्बाह दोहन । प्रधानमन्त्री ओलीको आफ्नै क्षेत्रमा बनिरहेको व्यापारिक कम्प्लेक्ससहितको ७२ फिट अग्लो पक्की धुरी नै यसको सग्लो प्रमाण हो । ठूलो धनराशि लगानी गरेर बनाउन लागिएको यो टावर आखिरमा कसको हितमा छ ? यस्ता प्रश्न सोध्ने झापालीहरू ‘सुपर’ कहलिँदैनन् । उनीहरूको प्रश्न सर्वथा त्याज्य मानिन्छ यहाँ ।

पूर्वाधार विकासकै लागि झापामा रेलको चर्चा पनि उत्तिकै बलियो छ । काँकरभिट्टाबाट इनरुवासम्म जाने रेलका लागि ठेक्कापट्टाका अदृश्य खेलहरू सुरु भएको गाइँगुइँ छ । त्यसभन्दा ज्यादा ‘सुपर’ नमानिने केही झापाली आफ्नो नाममा भएको थोरैतिनो खेतीयोग्य जमिन सकिने भो भन्ने भयानक ठूलो सन्तापमा छन् । घैलाडुब्बा घर भएका प्रसिद्ध कलाकर्मी पवन राजवंशी तिनैमध्येका प्रतिनिधि पात्र हुन् । कला शिक्षणबाट मुख्य गुजारा गर्दै आएका उनी धान खेती पनि गर्छन् । कोरोना संकटमा जागिर चट भएपछि उनी मूलतः खेतीकै भरमा छन् । यसै बेला आफ्नै घर र खेतबाट रेल कुद्ने सूचना पाउँदा उनी आत्तिएका छन् । जग्गातिर औंल्याउँदै उनले भने, ‘भएको यही पनि गयो भने कहाँ जाने हामी ? सरकारले दिएको मुआब्जाले यस्तै उब्जनी हुने खेत किन्न पाइन्छ ? अनि हाम्रो पुर्ख्यौली स्मृति, हाम्रो ग्रामथान सबै यत्तिकै सकिदिने ?’

यो वर्तमानको रीत मात्र भने होइन । बरु यसको ऐतिहासिक विरासत र कारण छ । झापाली इतिहासको हेक्का भएका पाठकलाई सबै दोहोर्‍याएर सुनाउनु पर्दैन । चासो हुनेका लागि ओलीले लगाइदिएको सुपर ब्रान्डको स्टिकर उक्काएर सतहमुन्तिर हेर्न झापाली विद्वान् लेखक लीला उदासीको ‘यो झापा हो’ शीर्षक कविताबाट पठन सुरु गरे हुन्छ । त्यही लामो कविताको एक अंशबाट झापाको खबर आजलाई बिट मारौं ।

थाहा छैन,

औलो त कसले भगायो झापामा

तर

आदिवासी पनि औलोपछि लागेर भागे

उनीहरू मुर्झाउँदै गए, हराउँदै गए

पछि आएकाहरू चम्किँदै गए

बम्किँदै गए

आउनेले नै झापा खाए

– लीला उदासी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव
कोरोनालाई जितेका झापाका आलम भन्छन्,– संयमता अपनाऔं, आत्तिनु पर्दैन