धान रोप्ने बेलामा डीएपी, हुर्काउन युरीया मल अभाव


झापा । तथ्याङ्कअनुसार मुलुककै सर्वाधिक धान उत्पादन गर्ने जिल्ला झापा हो । धानको उत्पादकत्व वृद्धि गर्न सरकारले झापामै धान सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, यहीँ सुपरजोन जिल्लाका किसान भने बर्षौंदेखिको नियती रासायनिक मल अभाव झेल्न बाध्य छन् ।

धान रोप्ने, हुर्काउने सिजनमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि रासायनिक मल अभाव भएको छ । झापाका किसानले धानखेती गर्ने बेलामा डीएपी मल पाएनन् । अहिले हुर्काउने बेलामा युरिया मलको अभाव छ । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका गोदाममा अहिले एक बोरा पनि मल उपलब्ध छैन ।

जिल्लामा कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका १ सय १० सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । जिल्लामा धानका लागि पाँच हजार मेट्रिक टन डिएपी र ८ हजार मेट्रिक टन युरियाको माग छ । तर कृषि सामग्री र साल्ट ट्रेडिङले सिजनमा कहिल्यै पर्याप्त मल आपूर्ति गर्न सकेका छैनन् ।

कृषि सामग्री र साल्ट टे«डिङमा गत वैशाखदेखि नै युरिया मल थिएन । झापाका लागि आवश्यक परिमाणको मल केन्द्रसँग माग भएपनि आवश्यकताअनुसार उपलब्ध नहुँदा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका सुचना अधिकारी नारायण टुडु बताउछन् । ‘हामीले प्रत्येक वर्ष आवश्यक परिमाणको माग लेखेर पठाउछौँ’ उनले भने, ‘यो वर्षका लागि ८ हजार मेट्रिक टन युरिया माग भएको थियो तर ६ हजार मात्रै आएकोले वैशाखदेखि मल बाँढ्न सकेनौँ ।’

नपाएपछि भारतबाट तस्करी

जिल्लामा धान रोपाईँसकिएपछि किसानलाई अहिले युरिया मल आवश्यक छ । झापामा मल अभाव भएपछि दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्करी भएर आएको मल किसानले महंगोमा किनेर प्रयोग गरिरहेका छन् ।

स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल वितरण गर्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानकै गुनासो छ । मध्यबर्खामा डिएपी र अहिले युरिया मल नपाउँदा किसानले महँगोमा भारतीय व्यापारीबाट मल खरिद गुर्नपर्ने बाध्यता रहेको बताउछन् । ‘साढेँ आठ सयमा पाउने युरिया २८ सय हाल्नुपरेको छ’ बुद्धशान्ती–१ का मोहनप्रसाद तिम्सिनाले भने, ‘यहाँ पाउदैन, धान पुरै पहेँलीसको, महंगो भएपनि मल त हाल्नुपर्नेभयो ।’

झापामा ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । समयमा मल नपाउँदा उत्पादन घट्नेमा किसान चिन्तित देखिन्छन् । ‘यसपालि मौसमले राम्रो साथ दिएको थियो’ अर्जुनधारा–६ का किसान खड्क सुवेदीले भने, ‘भनेको समयमा मल हाल्न पाइएन, त्यसैले धान सोचेजस्तो फल्ला जस्तो छैन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मरीच, केराउ, छोकडा र सुपारीको प्रतिवन्ध फुकुवा
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
अदुवाको भाउ घटेपछि किसानमा निराशा
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षका लागि ६ जना मैदानमा