पाँचथरका ‘खसी बा’को लोभलाग्दो कृषि कर्म


पाँचथर । इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् पाँचथरका ६० वर्षीय सेवानिवृत्त शिक्षक खेमप्रसाद न्यौपाने । व्यावसायिक बाख्रा पालन गरेर गाउँका बेरोजगार युवाहरुलाई समेत कृषि र पशुपालन क्षेत्रमा लाग्न प्रेरित गर्ने उनलाई जिल्लामै ‘खसी बा’ को रुपमा चिन्न थालिएको छ ।

पाँचथरको सदरमुकाम फिदिमबाट पाँच किलोमिटर टाढा, घनाजंगलको बाटो हुँदै करिब २० मिनेटको पैदल यात्रापछि न्यौपाने अर्थात ‘खसी बा’को बाख्रा फार्म पुगिन्छ । बाख्रा फार्म निकै ठूलो छ । जहाँ जस्तापाता, काठ, ढुंगा र माटो प्रयोग गरी बनाइएको चिटिक्क परेको घर । छेवैमा ग्वालीभित्र डल्ली गाई ।

जस्ता पाताबाट बनाइएको छाना, काठकै पिलर र बाराबेरी गरेर बनाइएको व्यवस्थित बाख्रा फार्म नपुग्ने कृषक कम नै हुन्छन् । शारीरिक रुपले अशक्त । पेशाले दुई दशक शिक्षण गरी सेवानिवृत भएपछि अहिले न्यौपाने ब्यावसायिक बाख्रा पालनतर्फ होमिएका हुन् ।

उनी उमेरले ६० काटिसकेका छन् । अहिले आफ्ना सन्तान, बेरोजगार युवा र विदेशबाट फर्किएका युवाले पनि सिकून् भन्ने उनको ध्येय छ । चरनको राम्रो संभावना भएकाले उनले जंगलको बीचमा बाख्रापालन गरेका हुन् ।

अहिले उन्को बाख्रा फार्ममा खसी बोका, माउबाख्रा, पाठापाठी छन् । उनले पालेका खसी खाईलाग्दा र चिल्ला छन् । मकै, खोले र पोषिलो घाँस खाएर चरेका खसी अन्यत्रका भन्दा राम्रा छन् ।

ब्यावसायिक रुपमा कृषि र बाख्रा पालन गर्ने कृषकलाई राज्यको पनि आँखा पुगोस् भन्ने उनको चाहना छ । शिक्षण पेशाबाट सेवानिवृत भएपछि त्यतिकै बस्न उनको मनले नमानेपछि कृषि पेशालाई रोजेका हुन् ।

बाबु नै बाख्रा फार्ममा लागेपछि उनलाई तीन भाइ छोराले सहयोग गरिरहेका छन् । बाख्रा फार्ममा घाँस, खोले गर्न पाउँदा उनकी श्रीमतीसमेत मक्ख छिन् । बिदेशिएका उनका छोरालाई पनि उनले आफ्नै इलममा लाग्ने बाटो देखाएका छन् ।

विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके विदेशमा कमाउने भन्दा राम्रो कमाउन सकिन्छ भन्ने उदाहरण स्वयं उनी बनेका छन् । न्यौपानेले अहिलेसम्म बाख्राफार्म निर्माण गर्न सात लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । उनको कर्मको मूल्याङकन गर्दे स्थानीय सरकारले समेत अब कृषि र पशुपालनतर्फ लगानी गर्ने भएको छ ।

‘खसी बा’ले पालेका खसी धेरैजसो पाँचथर, इलाम र झापाका बजारसम्म पुग्न गरेका छन् । त्यसैले बेरोजगार नबसी इलम गरे आत्मनिर्भर बन्न सकिन्छ भनेर उनले यहाँका युवाहरुलाई सिकाएका छन् ।  सरकारले पनि उनलाई सहयोग गरे अरु कृषकहरु पनि कृषि व्यवसायतर्फ आकर्षित हुने थिए । इमेज खबरबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय
झापाका थप दुई जना कोरोना संक्रमितको मृत्यु
भद्रपुर भन्सारमा नक्कली बिल बनाएर कराडौँ राजश्व छली, कर्मचारी नै सेटिङ्गका सुत्राधार (हेर्नुस् भिडियो)
सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा