भारतीय दूतावासको सहयोगमा निर्माणाधीन शीत भण्डार एक दशक बित्न लाग्दा पनि अधुरै


झापा । भारतीय दूतावासको सहयोगमा झापाको भद्रपुर–५ मा निर्माणाधीन शीत भण्डार अर्थात् कोल्ड स्टोर ९ बर्षदेखि अलपत्र छ । नियमनकारी निकायको समन्वय अभाव र निर्माण व्यवसायीको चरम लापरवाहीका कारण १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने कोल्ड स्टोर एक दशक बित्न लाग्दासम्म पनि अधुरै छ ।

झापाको भद्रपुर–५ मा कोल्ड स्टोर निर्माणका लागि २०६७ मंसिर २३ गते भारतीय दूतावासको आर्थिक सहयोगमा भद्रपुर नगरपालिकामार्फत् ठेक्का सम्झौता भई निर्माण प्रक्रिया अघि बढेको थियो । ठेक्का सम्झौता मितिले १५ महिना अर्थात् २०६८ चैतमा कोल्ड स्टोरेज निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण कार्य अधुरै छोडी निर्माण व्यवसायी पटकपटक सम्पर्कविहीन भए । जसका कारण झापाको दक्षिण पूर्वी क्षेत्रका कृषकको कोल्ड स्टोरको आवश्यकता अझँै पूर्ति हुन सकेको छैन । ‘यो त लापरबाहीको हद नै भयौँ’ स्थानीय लक्ष्मण बस्नेतले भने, ‘संरचना पनि गुणस्तीय बनेको छैन, भएका सामान पनि हराउन थालिसके ।’

कोल्ड स्टोरेज निर्माणका लागि तत्कालिन अवस्थामा कृषक समूह नै गठन गरिएको थियो । समूहमा ५३ जना कृषक आवद्ध रहेर जनही ५० हजारका दरले सेयर लगानी गरेका थिए । कोल्ड स्टोर निर्माणका लागि समूहले १४ कट्ठा पौने ११ धुर जमिन खरिद गरेका थिए । कृषक समूहका अध्यक्ष भारतेन्द्र मल्लिक लामो समयसम्म कोल्ड स्टोरेज निर्माण सम्पन्न हुन नसक्दा त्यसबेला किसानले बनाएका सोच तुहिएको बताउछन् । ‘नगरपालिकाले समयमै सम्पन्न गरेर दिएको भए अरु योजना पनि भद्रपुरमा ल्याउन सकिन्थ्योँ’ अध्यक्ष मल्लिकले भने, ‘हाम्रा धेरै सोचहरु थिए, यो कोल्ड स्टोर समयमा नबनेकाले ती सबै तुहिए ।’

स्टोर निर्माणका लागि काठमाडौँको सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपैयाँमा ठेक्का पाएको थियो । हालसम्म कम्पनीले ३ करोड ७९ लाख ७८ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । अब भने निमार्ण कार्य अन्तिम चरणमा पुगेको र सञ्चालनको तयारी समेत भइरहेको भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ बताउछन् । ‘कहिलेदेखि सञ्चालनमा हुन्छ भनेर ग्यारेन्टी गर्ने अवस्थामा अहिले हामी छौनौँ’ उनले भने, ‘सञ्चालनको प्रत्रिया पनि मिलाउन छ, जे होस् चाडैँ सकेर सञ्चालनको तयारी गछौँ ।’

हालसम्म कोल्ड स्टोरका लागि भवन निर्माणको साथै कम्पाउन्ड वाल, आवश्यक टहरालगायतका निर्माण कार्य अन्तिम चरणमा छ  । कोल्ड स्टोरका लागि आवश्यक पर्ने थर्मोकुलर, ट्रान्सर्फमर, जेनेरेटर लगायतका उपकरण पनि जडान गरिएको छ । तर, समयमा निर्माण कार्य सम्पन्न नहुँदा र स्टोर सञ्चालनमा नआउँदा भौतिक संरचनाको दुरुपयोग र जडान गर्न ल्याइएका उपकरण तथा सामाग्री बिग्रन र हराउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु