बाढीसँगै बग्दै पुल तर्ने सपना, बर्षौंदेखि डुंङ्गाकै भर (फोटोफिचरसहित)


मोरङ मोरङ रतुवामाई–३ का तीर्थनारायण ताजपुरियालाई यसपटक रतुवा खोलाको पक्की पुल तरेर गौरीगन्जसम्म पुग्न पाइन्छ कि भन्ने आशा थियो । जहाँ उनी खेती गर्छन् त्यहाँ १२ वर्षपछि यो वर्ष भने ढुक्कले खेती गरिन्छ कि भन्ने थियो । तर, उनको सपना रतुवा खोलासँगै आएको बाढीले बगाइदियो । यस वर्षको बाढीले पक्की पुलसम्म जान स्थानीय तहले बनाएको बाटो मात्र बगाएन तीर्थनारायणजस्ता सयौँ स्थानीयको सपना पनि बगायो ।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज र मोरङको रतुवामाई जोड्ने रतुवा खोलाको पुल खोलाको चौडाइभन्दा सानो भएपछि निर्माण थालेको १२ वर्षसम्म सञ्चालनमा आएको थिएन । पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीले पुल निर्माण सकियो भन्दै खोलाबीचमा चार वर्षअघि छाडेपछि पुल सञ्चालनका लागि स्थानीय तहले तत्परता देखाए । गौरीगन्ज र रतुवामाईले दुवैतर्फ माटोको डिल बनाएर बाटो बनाए ।

यसमा गौरीगन्जले माटोको बोरासहित तारजाली गरेर ११ लाख खर्च गरेर डिल बनायो । रतुवामाईले नगरपालिकाकै स्रोत साधन खर्चिएर करिब सात लाख लागतमा माटो मात्र उठायो । तर, बर्खामा आएको बाढीले पश्चिमतिर हान्यो । रतुवामाईतिरको बाटो खोलामा परिणत भयो । फेरि एकपटक खोलाबीचमा पुल बन्न पुग्यो । आर्थिक वर्ष ०६४/६५ मा निर्माण सुरु भएको उक्त पुल खोलाको चौडाइभन्दा सानो बन्दा सञ्चालनमा आउन सकेको थिएन ।

खोलाको चौडाइ ४ सय मिटरभन्दा धेरै छ । पुल बन्यो दुई सय पाँच मिटरको ।  खोलाको बीचमा पुल हुँदा निर्माण सम्पन्न भएको लामो समयसम्म  सञ्चालनमा आउन सकेको थिएन ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४/६५ मा काठमाडौंको कालिका ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो ।

भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरे पनि पुलको लम्बाइ छोटो हुँदा पुललाई बीचमा पारेर खोलो बग्दा स्थानीयले हैरानी खेप्नुपरेको छ । निर्माण कम्पनीले काम सकियो भनेर पुल पनि जिम्मा लगाइसकेको छ ।

बाटो बगाएपछि स्थानीयको हैरानी भने उस्तै छ । ‘यो बाटो त अस्ति नै बगाउँछ जस्तो लागेको थियो । जस्तो सोचेको त्यस्तै भयो,’ गौरादहका गंगाप्रसाद गणेशले भने, ‘हिउँदको केही समय त बाँसको पुलमा पैसा तिरेर हिँड्नुपरेको थिएन । बर्खाले पुल बगाएपछि अहिले त आवतजावत नै बन्द भएको छ । बर्खामा पक्की पुल तर्ने सपना त सपना मात्र भयो ।’

बाटो भत्किएपछि खोला गौरीगन्ज आफन्तकहाँ आएका रतुवामाई–३ का अरुण ऋषिदेवले उर्लिएको रतुवा पौडेरै तर्ने आँट गरे । तर, उनी पारि पुग्न सकेनन् । खोलाले बगायो । उनी अझै पनि बेपत्ता छन् । गतवर्षसम्म त बर्खा लागेसँगै खोलामा डुंगा चल्थ्यो । तर, यसपटक त पुल छ भनेर डुंगा पनि चलेन । अहिले स्थानीयलाई वारिपारि गर्नै समस्या छ । ‘केही त पौडेर तर्छन् । तर धेरैचाहिँ ओहोर–दोहोर गर्नै सकेका छैनन्,’ गौरीगन्जका नारायण राजवंशीले भने, ‘कम्तीमा नाउ त चल्न दिएको भए पनि त काम हुन्थ्यो । सधैँ यस्तो सास्ती भोग्नुपर्ने हामीले ?’

हुलाकी सडकबाट गौरीगन्जबाट प्रदेश राजधानी विराटनगर ४५ किलोमिटरको दूरीमा पर्छ । तर, पुल नहुँदा दमक हुँदै विराटनगर जाँदा झन्डै दोब्बर दूरीको यात्रा गर्नुपर्छ । गौरीगन्ज र रतुवामाई क्षेत्रका धेरैको नाता दुवैतर्फ छ । रतुवामाईका केहीले गौरीगन्ज र गौरीगन्जका केहीले रतुवामाईमा खेती गरेका छन् । त्यसकारण पनि यो क्षेत्रमा ओहोर–दोहोर गर्नेको भिड लाग्छ । गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार दैनिक दुई हजार मानिस यहाँबाट ओहोर–दोहोर गर्छन् ।

रतुवामाई नगरपालिका नगरप्रमुख रविन राईले पुल निर्माणका लागि जति पहल गर्दा पनि सुनुवाइ नभएको बताए । ‘तत्कालका लागि सञ्चालनमा ल्याऊँ भनेर गरेका थियौँ । तर, बाढीले बगायो,’ उनले भने, ‘हामीले हुलाकी राजमार्ग हेर्ने कार्यालयलाई पनि भन्यौँ । हुलाकीले पुल महाशाखा भन्छ । पुलले हुलाकी भन्छ । यहाँका जनता सधैँ मर्नू ?’ तत्कालका लागि आवतजावत गर्न त्यहाँ दुवैतर्फको स्थानीय तह मिलेर बाँसको पुल बनाउने तयारी भइरहेको प्रमुख राईले जानकारी दिए ।

हुलाकी भन्छ– विभागले निर्णय गरेपछि काम गर्छौँ

उक्त पुल मोरङ–सुनसरी पुल आयोजनाले बनाएको भए पनि फाइल हुलाकीमै आइसकेकाले अब हुलाकीले नै बनाउने हुलाकी सडक निर्देशनालय इटहरीका इन्जिनियर नन्दकुमार गुप्ताले बताए ।

पुलको फाइल हुलाकी राजमार्ग निर्देशनालय र सडक विभागमा पठाइसकेकाले निर्णय आएपछि काम गर्ने उनले बताए । ‘हामीले फाइल पठाइसकेका छौँ । अहिले डिजाइन बनिरहेको छ । थप्ने हो कि तठबन्धन गरेर सञ्चालनमा ल्याउने हो माथिबाट निर्णय आएपछि काम हुन्छ,’ उनले भने, ‘गाउँपालिका र नगरपालिकाले बनाएको त अस्थायी थियो । अब आउने आर्थिक वर्षको अन्त्यसम्म केही न केही निर्णय आउँछ ।’(नयाँपत्रिकाबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)