अझै स्तरोन्नति भएन मेची अस्पताल: मेडिकल कलेज बनाउने सपना अधुरै


झापा । मेची अञ्चल अस्पताललाई २०७३ सालबाटै मेडिकल कलेजका रुपमा विकास गरेर लाने अवधारणा सरकारले अघि सारे पनि अहिलेसम्म अस्पतालको स्तरोन्नति समेत हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री हुँदा यो अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लाने अवधारणा अघि सारिएको थियो । जसका लागि तत्कालीन स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसहितको टोलीले अस्पतालको सम्भाव्यता अध्ययन गर्दै भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट २० करोड रुपैयाँ बजेट प्रदान गर्ने निर्णय समेत गरेको तत्कालीन अस्पताल व्यवस्थापन समिति अध्यक्ष राम कट्टेलले बताए । दुई वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम थालिएको थियो तर भवन निर्माण थालिएको चार वर्ष बितिसक्दा समेत अस्पतालको भवन निर्माण सम्पन्न हुन नसकेको कट्टेलको भनाइ छ ।

आफ्नो कार्यकालमा केही मात्रामा भए पनि अस्पताल सुधारका योजना अघि सारेको थिएँ तर, नेकपाको सरकारले मसहित देशभरका सवै अध्यक्षलाई कार्यकाल सकिन दुई महिना बाँकी छदैं हटायो– कट्टेलले भने – त्यसपछि अस्पतालको स्तरोन्नतिको काम खासै भएको छैन । संघीय सरकारले प्राथमिकतामा राखेर मेची अञ्चल अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लाने योजना सारे पनि मुलुक संघीय संरचनामा गएसँगै मेची अस्पताल प्रदेश सरकारको मातहतमा गएको थियो ।

अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि मेडिकल कलेजका रुपमा अघि बढ्न नसकेको कट्टेलको भनाइ छ । मेची अस्पतालको निर्माणाधीन भवन समयमा सम्पन्न हुन नसक्नु र जीर्ण अवस्थामा रहेको पुरानै भवनबाट सेवाग्राहीले अहिलेसम्म सेवा लिनु परेको उनको भनाइ छ । कुन बेला छत खस्छ पत्तो छैन, पानी पर्दा समेत चुहिने भवनबाट उपचारका लागि आएका विरामीलाई जोखिम युक्त भवनमा राखेर अस्पतालले अहिलेसम्म सेवा दिनुपर्ने बाध्यता छ– कट्टेलले भने– प्रदेश सरकारले तदारुकता देखाउँदै निर्माणाधीन भवनको काम तत्काल सम्पन्न गराएर नयाँ भवनबाट सेवा दिने वतावरण सृजना गर्नुपर्छ ।

भद्रपुरस्थित मेची अस्पताल यहाँको ठूलो सरकारी अस्पताल हो । योसहित १ नम्वर प्रदेश सरकारको मातहतमा दुई वटा ठूला अस्पताल छन् । कोशी अस्पताल र मेची अस्पताललाई प्रदेश सरकारले हेर्दै आएको छ । मेची अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लान सम्भाव्यता अध्ययनको क्रममा राज्यमन्त्री गुरुङको टोलीले चन्द्रगढीको कलवलगुढीमा रहेको प्रशिक्षण केन्द्रको ५२ बिगाहा जग्गाको निरीक्षण समेत गरेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतमा रहेको जग्गामा मेडिकल कलेज बनाउने भन्दै सम्भाव्यता अध्ययन गरिएपनि अहिलेसम्म मेडिकल कलेज बनाउने विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।

अस्पताललाई मेडिकल कलेज बनाउन भन्दै राज्यमन्त्री गुरुङसहितले भौतिक पूर्वाधारका विषयमा अस्पताल विकास समितिका पदाधिकारी तथा त्यहाँ कार्यरत चिकित्सकसँग छलफल समेत भएको थिए । जसका लागि राजनीतिक दलका प्रतिनिधि समेत सो विषयमा सहमत भएका थिए । तत्काल अस्पतालको स्तरोन्नतिका लागि भन्दै राज्यमन्त्री गुरुङले अस्पताललाई दुई करोड ८४ लाख ७० हजार रुपैयाँको अख्तियारीपत्र हस्तान्तरण गरेका थिए ।

स्वास्थ्यमन्त्री थापाले मेची अञ्चल अस्पताललाई नै प्रदेश नं. १को मेडिकल कलेज बनाउने बताएपछि उक्त विषयको अध्ययनका लागि राज्यमन्त्री गुरुङको टोली झापा आएको तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष कट्टेलले बताए ।

झापा क्षेत्र नं. ३का तत्कालीन सांसद कृष्णप्रसाद सिटौला र स्वास्थ्यमन्त्री गगन थापालाई हामीले भेटेर अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर लान प्रक्रिया अघि बढाउन आग्रह गरेका थियौं– कट्टेलले भने– त्यसपछि अस्पताल विकास समितिले प्रशिक्षण केन्द्रको जग्गाको नक्सा तथा धनीपूर्जा संलग्न गराई मेडिकल कलेज निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

मेची अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने विषयको अध्ययन गर्न स्वास्थ्य मन्त्रालयबाट डा. भोलामान श्रेष्ठ र डा. किरण रेग्मीसमेत सहभागी थिए– अस्पतालका तत्कालीन अस्पतालका अध्यक्ष कट्टेलले भने– हामीले शुरु गरेको प्रक्रिया अहिले कहाँ पुग्यो कुनै पत्तोपत्तो छैन ।

कट्टेलकै कार्य अवधिमा तत्काल आईसीयू सेवा सञ्चालन गर्न २० लाख रुपैयाँ समेत अस्पताललाई सरकारले प्रदान गरेको थियो । उनकै कार्यकालमा भौतिक संरचना सुधार, फार्मेसी, डायलासिस सेवा सञ्चालनलगायत शीर्षकमा बजेट पारदर्शी रूपमा खर्च गरेर अपुग भए थप रकम माग गर्न अञ्चल अस्पताललाई निर्देशनसमेत दिएका थिए । सोही बमोजिमको काम भए पनि अहिले त्यस यता कुनै काम हुन नसकेको कट्टेलको भनाइ छ ।

६ दशकभन्दा लामो समयदेखि सेवा दिँदै आएको मेची अस्पताललाई स्तरोन्नति गर्दै लाने अवधारणासहित प्रदेश सरकारले बजेट भाषणमार्फत नै २३ करोड रुपैयाँ प्रदान गर्ने बताएपछि झापावासी जति उत्साहित थिए निर्माणाधीन भवन समयमा सम्पन्न नहुँदा त्यत्ति नै निराश छन् । ६१ वर्ष पुरानो मेची अस्पतालमा सञ्चालनमा रहेको १३४ बेडलाई बढाएर ३०० बेड बनाउँदै यसलाई मेडिकल कलेज बनाउने प्रदेश सरकारको दायित्वमा पर्ने स्थानीयको भनाइ छ ।

उता कोभिड–१९को उपचारका लागि मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी भएको छ । प्रदेश सरकारले अस्पताल निर्माणको ठाँउ खोजी गरेर प्रतिवेदन दिन भनेपछि कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले उपयुक्त स्थानको खोजी गरेको हो ।

तत्काल नयाँ संरचना बनाउन नसकिने भएकाले मेची अञ्चल अस्पताल नजिकमा रहेको निमार्णाधीन भवनलाई नै प्रयोग गरिने र अहिले ल्याव स्थापनाको अन्तिम चरणमा रहेको बताइएको छ । अस्पताल सुधार कार्यक्रम अन्तर्गत अस्पतालको सुविधा सम्पन्न भवन निर्माण अन्तिम चरणमा रहेको छ । झापामा नै स्वाब परीक्षणसहित कोभिड अस्पताल निर्माणको पहल निरन्तर रुपमा हुँदै आएको छ ।

यता झापाको कनकाई नगरपालिकास्थित कोटीहोममा पनि मेची अस्पतालकै समन्वयमा कोरोना परीक्षणका लागि ल्याव स्थापना भएको छ । एक÷एक रुपैयाँ गर्दै दातासंग सहयोग जुटाएर स्थापना गरिएको ल्याव प्रदेश सरकारलाई हस्तान्तरणको तयारीमा आफूहरु रहेको एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेची अस्पतालको भवन निर्माण समयमा सम्पन्न नहुनुमा संघीय सरकारले पहिलो बर्ष समयमा बजेट पठाउनु र निर्माण व्यवसायीले काम नगर्दा भवन निर्माणमा ढिलाई भएको बताए । उनले अहिले प्रदेश सरकारले बजेट प्रदान गरेसँगै मेची अस्पताललाई कोरोना परीक्षण केन्द्रका रुपमा विकास गरेर लाने तयारी भइरहेको बताए ।

मेचीलाई झापावासीले मेडिकल कलेज बनाउन माग गरेको बताउँदै मेची अस्पताल मेडिकल कलेज भएको खण्डमा झापावासीलाई मात्रै नभई पूर्वका नागरिकलाई सहजता हुने धारणा राखे


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अन्तुका होम-स्टे र हाेटलले साउनभरी पाहुना नराख्ने
विराटनगर काेराेनाकाे उच्च जोखिममा : प्रदेश १ काे उच्च पदाधिकारीसहित १८ जनामा कोरोना संक्रमण
झापामा विद्युतीय रेलमार्गका प्रभावित अन्योलमा
अप्टिकल फाइभर विच्छ्याउने काम अलपत्र पर्दा मेचीराजमार्गमा क्षति