इलाममा दुई करोड लागतमा रंगशाला निर्माण


भगीरथ भण्डारी
इलाम ।  जिल्लाको सन्दकपुर गाँउपालिका–५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य धमाधम भइरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भइरहेका हो ।

केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, वौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा स्थानीय समाजसेवी तोयानाथ भट्टराईसँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताउनुभयो ।

जसमा अहिले प्रदेश र स्थानीय सरकारबाट ३५ लाख, फूटबल प्रेमीबाट एकलाख ४५ हजार र स्थानीयको सहयोगमा ८ लाख संकलनबाट काम भइरहेको हो । दुई वर्षमा सम्पन्न गर्नका लागि २५ रोपनी जग्गालाई वडा कार्यालयको माताहतमा ल्याएर रंगशाला निमार्ण कार्य शुरु गरेको हो । ‘यति बेला मैदान सम्याउने कार्य भैरहेको र रकम अपुग भएकोले बाँकी कार्यको लागि संघिय र प्रदेश सरकार साथै गाउँपालिकालाई गुहारेका छौं’ गुरुङले भन्नुभयो, ‘उहाँहरुले पनि सहयोग गर्ने वचन दिनुभएको छ ।’

करिब २ करोड लागत लाग्ने अनुमान गरिएको रंगशालाको लागि १६ रोपनी क्षेत्रफलको १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाइ ६ रोपनी क्षेत्रफलमा प्लेयर बकस, फोर्थ अफिसियल र बाँकी क्षेत्रफलमा कङ्क्रिड प्याराफिट बनाउने योजना अनुरुप काम सुचारु भएको हो ।

माईभ्याली गोल्डकपपछि सबैभन्दा धेरै दर्शक हुने र यहि चाप बर्सेनि बढेकाले रंगशाला बनाउनु अपरिहार्य रहेको वडाध्यक्ष जितबहादुर साँवा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले ३४ वर्षदेखि वर्षेनि भानुदय आधारभुत विद्यालयको खेलमैदानमा खेल आयोजना गर्नुपर्ने बाध्यता थियो तर यो रंगशाला निमार्ण सम्पन्न भए पश्चात विद्यालयको मैदानमा फुटबल खेलाउनु पर्ने बाध्यता हट्ने छ”। हाल जमुनाबाटै नेपाली राष्ट्रिय फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङले प्रतिनिधित्व गरिरहेकाले पनि इलामको जमुनालाई फुटबल क्षेत्रमा विकास गर्न पनि मैदानको आवश्यकता रहेको सावाँको भनाइ छ ।

यो क्षेत्रबाट दार्जेलिङ नजिक भएका कारण जमुनाका खेलाडी फुटबल खेल्न जाने र महिनौसम्म बस्ने गर्दछन । जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फुटबलमा पनि भारतको दार्जेलिङ र अन्य क्षेत्रबाट धेरै जसो फुटबल टिम आउने गरेका छन् । त्यस कारण पनि इलाममा हुने माईभ्याली पछिको पहिलो फुटबल विकासको रुपमा हेरिएको छ । पर्यटकीय क्षेत्रमा फड्को सन्दकपुर गाउँपालिकाको जमुना पर्यटकीय क्षेत्रका रुपमा पनि विकास भइरहेको छ ।

यहाँ जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपाल थेवे ढापपोखरी पनि रहेको छ जुन निमार्ण भइरहेको रंगशाला नजिकै छ । उक्त पोखरी मानव निर्मित हो । पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो पोखरीमा ०७१ मा बाँध बाँधेर पानी जम्मा गर्न शुरु गरिएको थियो । दुई वर्ष अघिदेखि डुङ्गा सञ्चालनमा रहेको र यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको समितिका अध्यक्ष एवं पूर्व फुटबल खेलाडी विप्लव भट्टराईले बताउनुभयो ।

सदरमुकामबाट २१ किलोमिटर उत्तरको जमुना स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई तीन वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । यहाँबाट सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा आज अहिलेसम्मकै बढी ९८ जनामा कोरोना पुष्टि
मालपोत कार्यालय उदयपुरका ६ कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण
पाँचथरका ‘खसी बा’को लोभलाग्दो कृषि कर्म
बेड अभावले अर्जुनधाराका संक्रमित ३ दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य