विभेद माथिको विभेद अझ दर्दनाक !!!


देशको राजनीतिक र संबैधानिक व्यवस्थामा व्यापक परिवर्तन भइ संविधान ऐन, कानुनमा ठुलो बद्लाप आएको छ । छुवाछूत , सामाजिक विभेद र अपराध बिरुद्ध राष्ट्रले अग्रगामी व्यवस्था निर्माण गरेको लगभग डेढ दशक बितिसकेको छ । तर त्यसको कार्यनयन भने अझैसम्म पनि हुन सकेको देखिदैन ।

राजनीतिक संघर्ष र आन्दोलन मार्फत प्राप्त भएका ती उपलब्धिहरुलाई नकार्न सकिदैन तथापि संरचनाको बैचारिक , सैद्धान्तिक र शान्तिपूर्ण संघर्ष अझैसम्म सामाजिक रुपमा माथि उठ्न सकेको छैन भन्ने तथ्य तपाई हामीमाझ छर्लङ्ग छ । अर्कोतर्फ उत्पीडित बर्ग, समुदाय र आम सर्वसाधारण जनतासमक्ष लोकतान्त्रिक गणतन्त्रको प्रभाव पुग्न नसक्नु सरकार र राजनीतिक दलहरुको कमजोर हो । जात प्रथा नभइ मानिसद्धारा निर्मित एउटा सशक्त व्यवस्था नै हो ।

यसको अन्त्य केवल मानसिक सोच र राजनीतिक व्यवस्थाको माध्यमद्वारा मात्र संभव छ । माक्र्सवादी सिद्धान्त अंगालेर बामपंथी आन्दोलन गर्ने कम्युनिष्टहरु आज सरकारमा झन्डै दुई तिहाइको बहुमतबाट विराजमान छन् । तर विडम्बना, सामाजिक दृष्टिकोण भने मान्छे मान्छे बिचको विभेद , अन्याय र अत्याचार बिच रुमलिएको छ ।

आफुलाई जात , विभेद , छुवाछूत , उच – निच, सानो – ठुलो अमान्य रहेको तर घरायसी बहाना र समाजको डरले मान्नुपर्ने बाध्यता रहेको भन्ने प्रतिक्रिया दिनेहरुको ठूलै जमात भेटिन्छ । पुस्तान्तरणसंगै यस्ता र यी बहानाहरु हस्तान्तरण गर्दै जाने हो भने यहीँ अभिव्यक्तिले अभिभावकको भुमिका निर्वाह गर्नेछ । अर्थात् अहिलेका पुस्ताले बाआमा र समाजको बहाना देखाएर यो विभेदलाई दीर्घजिवी बनाइरहने मनोबिज्ञान र षड्यन्त्र मात्र हो ।

सत्य र असत्य त केवल मान्छेले नै निर्धारण गर्ने कुरा हो भन्ने बुझ्न जरुरी छ । विश्व जगतलाई नियाल्ने हो भने आज विकासको क्षेत्रमा अग्रगामी छलाङ मारिरहेको छ तर हाम्रो समाज आजपनि अमानवीय विभेदको तलाउमा भड्किरहेको छ । यसले हामीलाई कत्तिसम्म पछाडि धकेलिरहेको छ भन्ने कुरा तपाई हाम्रा आँखा अगाडि छर्लङ्ग नै छन् ।

यहाँ दलित जातीहरूसँगको वैवाहिक सम्बन्धको कुरा त निकै परको विषय हो । गैरदलित भनिएका जातिहरूमा पनि चरम जातिय विभेद छ । जसले गर्दा स्वजातीयहरू भित्रै उप–जातिहरू छन् ।

उनीहरू भित्रै पनि एक जातिले अर्काे जातिको अस्तीत्व स्वीकार्नमा हिच्किचाहट र विभेद गर्छन् । उदाहरणका लागि उपाध्याय ब्राह्मणहरु जैसी ब्राह्मणले छोएको खादैनन् जैसीहरु क्षेत्रीले , त्यस्तै विश्वकर्माहरुको दमाई वा सार्कीसंग विवाह गर्नुहुदैन भन्ने चलन छ । त्यस्तै राइहरुले भुजेल संग, लिम्बुहरुले नेवारसंग आदि आदि । यसरी समग्रमा हेर्दा एक जातिले अर्को जातिलाई अथवा एउटै जातभित्र फरकफरक किसिमका विभेद अझैसम्म छताछुल्ल देखिन्छ ।

म आफैपनि स्वजातको उपजातसंग बिबाह बन्धनमा बाधिएको छु । त्यो सम्बन्धबाट समाजले म प्रति हेर्ने दृष्टिकोण म भित्र तितो यथार्थको रुपमा छर्लङ्ग नै छ । नेपाली समाजमा यी र यस्ता विषयलाई यसरी नै यथास्थितिमा छाड्ने हो भने अझै लामो समयसम्म सामन्तवादी अवशेषका रूपमा यो विभेद स्थापित रहिरहनेछ ।

विगतलाई नियाल्ने हो भने हालको अवस्थामा समाज शिक्षा र चेतनाका हिसाबले केही अगाडि बढेको देखिन्छ । तर विभेदका स्वरूपहरू अझैसम्म कायम नै छन् । विभेदमा न्यूनीकरण देखिएता पनि समाजमा प्रत्यक्ष विभेद र उत्पीडन भन्दा अप्रत्यक्ष विभेद र उत्पीडनको मार बढी छ । यो तमाम समस्याका हल नहुनुको प्रमुख कारण राज्य र राजनीतिक दलनै नै हुन भन्ने मेरो ठम्याइ हो । जुन अंशको भन्दा समग्र परिवर्तनको वाधक बन्दै आएका छन् ।

जातीय पेसा र विभेद देखाएर वाहियात तर्क गुर्न र उनीहरुमाथि जातीय विभेद लादि राहनु पाखण्डीपना र हेपाह प्रवृत्ति हो । राज्यस्तरबाट यस्ता बिषयहरुको सम्बोधन हुनुपर्छ । आरक्षण खारेज गरेर अवसरका निमित्त सबै जातजातिलाई प्रतिस्पर्धामा ल्याउनुपर्छ । हरेक पेशा र व्यवसायको सम्मान गर्ने संस्कारको बिकास गर्नुपर्छ । सामाजिक जनचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्छ । र मुख्यतः जातभित्रका उपजातहरुमा जुन विभेद छ त्यसलाई अन्त्य नगरेसम्म समग्र जातीय विभेद पनि अन्त्य हुनेछैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव
कोरोनालाई जितेका झापाका आलम भन्छन्,– संयमता अपनाऔं, आत्तिनु पर्दैन