पूर्वीय दर्शनमा आधारित रहेका तथ्यहरु बिस्तारै यथार्थमा पुष्टि हुँदै


  विष्णु चुडाल

ढुङे युग देखि वर्तमान २१ औं सताब्दी सम्मको मानवीय व्यबहारको विकासक्रमको अध्ययन गर्दा मानिसले थुप्रै सांस्कृतिक एवं सामाजिक मुल्य र मान्यताको विकास गरि सामाजिक स्थिरता र सन्तुलन ल्याउने प्रयास गरेको देखिन्छ। यहि मानवीय व्यबहार, संस्कृति, मुल्य मान्यता आदिको अध्ययन गर्न मानवशास्त्रको उत्पती भयो।

जसले मानिसको उत्पत्ति तथा विकास भएदेखी हालसम्मको मानवको सम्पुर्ण क्रियाकलापको अध्ययन गर्दछ अर्थात प्राचीन अवस्थादेखि वर्तमान समयमा भएका सामाजिक, सांस्कृतिक व्यबहारको अध्ययन गर्दछ। आदिम कालमा मानिस फिरन्तेबाट स्थिर बसोबासको अवस्थामा प्रवेश गरेको हुँदा मानिसको विकासक्रममा बिस्तारै चेतनाको वृद्धिका कारण अरु प्राणि भन्दा अलि फरक देखिएकाले कला, संस्कृति र चालचलनलाई निरन्तरता र परिमार्जित गर्दै मान्छे अगाडि बढिरह्यो।

भाषाको उत्पती र विकास सङसँङै लिपिको विकास पनि भयो। लिपिको विकास भैसकेपछी बिस्तारै मानिस इतिहास लेख्ने अवस्थामा पुग्यो। मानिस चेतनशील प्राणि भएको कारण नै सधैं परिबर्तन, प्रगति, निरन्तरता र विकास तर्फ लागिरह्यो। समय सापेक्षित हिसाबले अगाडि बढ्न सिक्यो। बिस्तारै मानिसले सानो समुह, समुदाय र समाजको विकास गर्दै संस्कृतिका आधारमा आफुलाई सृष्टि जगतको सर्बोच्च प्राणि बनायो।

मानिसको व्यवहार र विकासको अध्ययन अर्थात मानिसको शारिरिक र मानसिक पक्षको अध्ययन गर्नुका साथै यसले अनुसन्धानलाई केन्द्रविन्दुमा राखेर अगाडि बढनु पर्ने देखिन्छ। यसैले अहिलेको जटिल अवस्थामा बिश्वभरी फैलिएको महामारी कोरोना भाइरसले हाम्रो मुलुकमा पनि मानवको क्षति गरेको अवस्था छ।

महामारिका कारण विश्वभर लाखौं मानिसले अकालमा ज्यान गुमाइरहेका छन् । यसैले अहिलेको समयमा मानवशास्त्रले पनि अनुसन्धानलाई केन्द्रविन्दुमा राखेर स्थलगत अनुसन्धान र अध्ययनमा जोड दिने हुँदा यस्ता विभिन्न महामारीको कारण र नियन्त्रणका लागि गहन अनुसन्धानको आवश्यकता देखिन्छ ।

मानिसका विभिन्न दैनिक क्रियाकलापहरु धर्म, संस्कृति रहनसहन प्रत्यक्ष रुपमा मानवसँग जोडिएको हुँदा र मानिस जंगली अवस्थामा रहँदा एक्लै आफ्नो जिवनयापन गर्न नसक्ने कारणले गर्दा समुहको निर्माण र खोजी गर्दै सामुहिक रुपमा सिकार गर्न थालेको थियो। सामुहिक रुपमा आफ्नो समुहमा बस्न रुचाउने, रमाउने सामाजिक प्राणि अहिले यो त्रासमय वातावरणमा सुरक्षित र सामाजिक बन्न सकिरहेको छैन। यसको मुल कारण नै मानवीय व्यवहार र क्रियाकलाप हो।

साच्चै सुरक्षित र सचेत व्यवहार सबै मानिसले गरिदिएको भए अहिले यस्तो भयावह अवस्था भोग्नु पर्ने थिएन। बिश्वभरी फैलिएको कोरोना भाइरस माहामारी ले गर्दा अहिले सबै मानिसलाई एक्लै अर्थात सामाजिक दुरि कायम गरि बस्न बाध्य बनाएको सर्वविधितै छ।

ढुङेयुगमा मानव बस्तीको सुरुको अवस्था गुफा, ओडार, जङ्गल र झाडि बाट भएपनी बिस्तारै सुरक्षित बासस्थानको रुपमा सुरक्षित तरिकाले जिउनको लागि घर, गोठको निर्माण गरे। तर यही घरपनी अहिलेको परिवेशमा सुरक्षित भने देखिएको छैन। सुरक्षित महसुस हुने घरमै पनि एकातिर डर त्रासको वातावरण सृजना भएको छ भने अर्कातिर पुरानै अवस्थाको गुफा, जङ्गल र ओडार नै फर्किएर हेर्दा सुरक्षित हुने देखिएको छ।

त्यस्तै सिकारी र संकलन गर्ने युगबाट परिबर्तन हुँदै कृषि युगमा दस हजार बर्ष सम्म मानिसले गुजारा चलाएको अवस्था थियो तर हाल आएर सहरीकरणको तिब्र विकासका कारण कृषिलाई कम प्राथमिकता दिइरहेको वर्तमान परिप्रेक्षमा कोरोना सङ्क्रमणले पुनः कृषि युगमै फर्कने अवस्था पनि सृजना गराएको छ।

त्यस्तै यो महामारिले सहरीकरण , बजारीकरण, आधुनिकीकरण र पुँजीबादलाई धरापमा पारेको अवस्था पनि छ। यसै अनुरुप वैज्ञानिकहरुले पनि कोरोना माहामारी विरुद्धको खोप परिक्षणमा गहिरो ढंगले लागिपर्दा पनि प्रत्यक्ष प्रतिफल नआएको कारणले मानिसहरुलाइ यो भौतिकवाद र वैज्ञानिक आविष्कारमा समेत अनेकौं शंका उपशंकाको अवस्था छ अर्थात विज्ञानप्रति पनि प्रश्न चिन्ह खडा भएको छ।

कोरोना भाइरस माहामारीले त्रसित वर्तमान परिप्रेक्षमा बिश्वव्यापारीकरण र सहरीकरण वास्तवमा असहज प्रक्रियाहरु हुन् भन्ने बुजिन्छ। मानिसहरु अहिले माहामारिले गर्दा जर्जर आर्थिक अवस्थाका कारण भोकमरीको महसुस गर्न थालेका छन् । कतिपय अवस्थामा पैसा भएर पनि खान नपाउने वातावरण पनि सृजना भएको देखिएको छ ।

जंगली अवस्थामा रहँदा हाम्रा पुर्खाहरुले प्रयोगमा ल्याएका खानेकुरा, उनिहरुले गर्ने व्यहावरहरु पनि सहि हुन् भन्ने कुरा हामीलाई महसुस हुदै आएको छ। उनिहरुले आफ्नो भोक मेटाउन प्रयोग गरेको कन्दमुल , तरुल, भ्याकुरमा देखिएको शुद्धता र उनिहरुले आफ्नो सरसफाइ प्रति दिने ध्यानले पनि अहिले हामीलाइ सहि र सत्य हुन् भन्ने कुराको प्रतिबिम्बित गराएको छ।

त्यस्तैगरि विज्ञान तथा प्रविधि पनि असफल भएको परिवेसमा फेरि वेद, बुद्धका उपदेश , शान्ति ,बिश्वबन्धुत्वको भावना, टुनामुना , तन्त्रमन्त्र , धामीझाँक्रीको विकास पुनः प्रयोगमा आइरहेको छ।

त्यसैले यस्तो वर्तमान परिवेशमा मानवशास्त्रीय भुमिका ज्यादै महत्वपूर्ण छ। मानवको हरेक व्यवहार र चालचलनको कारणले गर्दा अहिले कोरोना भाइरस विश्वभर बिस्तार भैरहेको छ। यस्तो जोखिम अवस्थामा मानवशास्त्रको धेरै ठुलो महत्व देखिएको छ। यतिमात्र नभएर चिकित्सा मानवशास्त्र र फरेन्सिक मानवशास्त्रको पनि अझ बढी भुमिका देखिएको छ।

यदि हामीले हाम्रा पुर्खाहरुले भनेको कुरा लागू गरेका थियौ भने, नेपाली संस्कृतिलाई राम्रो अध्ययन गरेका थियौ भने यस्तो किसिमको कठिन समस्या हामीहरुले भोग्नु पर्ने थिएन।

यसकारण अबको अवस्थामा हाम्रा व्यवहारहरु के के हुन् र मानवशास्त्रले यसलाई कसरी हेर्ने गर्दछ भन्ने कुरा पनि महत्वपूर्ण पाटो हो। त्यस्तै जडिबुटी पद्धतिलाई पनि सर्बोपरी मान्दै आएको बेला नेपाली समाजले आधुनिकता सङसँगै एलोपेथिक भित्रिएको अवस्थामा अहिले वर्तमान परिवेशमा कोरोना महामारीले गर्दा हरेक मिडियाहरुले पुन बोजो, टिम्मुर, चिरैतो, अलैंची, अधुवा , तुलसी, ज्वानो, बेसार, मेथी, लसुनको विज्ञापन बजाइरहेका छन् ।

यसकारण पूर्वीय संस्कृति र व्यवहार कति बलियो छ भन्ने कुराको फेरि पनि पुष्टि गरेको छ। हजारौं बर्ष सम्म हाम्रा पुर्खाहरुले जडिबुटीय पद्धतिले धान्दै आइरहेको बेला हाम्रो समाजमा पछि एलोपेथिक भित्रिएपछि यो पद्धति छायांमा परिरहेको थियो तर अहिले पुनः यसको सुरुवात भएको छ । यो विषय पनि मानवशास्त्रको अध्ययनको मुख्य विषय हुन सक्छ।

अन्त्यमा, यो माहामारी वास्तवमा मानिसको व्यवहार, आधुनीकीकरण, सहरीकरण र यातायातको सन्चारले ल्याएको समस्या देखिन आएको भन्ने हाम्रो अनुमान छ। नेपालमा अहिले पनि हिमाली भेगका जिल्लाहरुमा विशेषगरी कोरोनाको संकेत पनि छैन । आखिर दुर्गम क्षेत्रमा बस्ती बसाउनु पनि धेरै फाइदाजनक देखिएको छ।

सुगमता र सहरीकरणका कारण मानव जातिले विभिन्न किसिमका रोगहरु आफैमा निम्त्याएको छ। अहिले मानिसहरु गाउँघर तिर कृषि र पशुपालनतिर आकर्षित देखिएका छन्। यसैले अब मानवको अस्तित्व जोगाउन तिर हामी लागौं। स्वास्थ्य संकटको बेला मानवले गर्नु पर्ने कर्तव्य र पालना पूरा गर्ने प्रण गरौं। स्वास्थ्य नै ठुलो धन हो। सबैको ख्याल गरौं। आफू पनि बाँचौ र अरुलाइ पनि बचाँऔ। हाम्रो सतर्कता र सावधानीले यो सम्भब छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यो झापा हो !
मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव