फेरिएको मैदान !


काठमाडौं । कोभिड-१९ को महामारी हुँदैनथ्यो भने भरत खवास फुटबलको मैदानमा हुने थिए। नेपाली फुटबल टीमका फरवार्ड उनी अघिल्लो पंक्तिमा रहेर भिडिरहेका हुने थिए।

महामारीका कारण सबै प्रतियोगिताहरू स्थगित भएपछि उनी मैदानमा छैनन्। होइन, उनी मैदानमा छन्। तर यसपाली मैदान फरक छ। खवास कोभिड-१९ महामारीविरुद्धको मैदानमा छन्। त्यो पनि अग्रपंक्तिमै। सुरक्षाकर्मीका रूपमा।

महामारीका कारण ४ चैतबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पुर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो। एन्फाको घोषणासँगै मोफसलका प्रतियोगिता तथा राष्ट्रिय टीमको तयारीमा रहेका फुटबल खेलाडी एकाएक फुर्सदिला बने।

फुटबल मात्र होइन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुनै पनि खेलकुद गतिविधि गर्नमा रोक लगाएपछि खेलाडीहरू अहिले फुर्सदमै छन्। तर विभागीय टीमका कतिपय खेलाडी भने खेल मैदानबाहिरको लडाईमा होमिएका छन्।

त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) तथा नेपाल पुलिस क्लबका कतिपय खेलाडी अहिले सुरक्षाकर्मीको ड्युटीमा खटिएका छन्। तीमध्ये एक हुन् भरत खवास।

उनी त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान हुन्। र, नेपाली सेनाका उप–सेनानी पनि। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट अपरेसन अफिसरको रूपमा खटिएका छन् भरत।

गत वर्ष उनी फ्लाइट डिस्प्याचर र फ्लाइट अपरेसन अफिसरको तालिमका लागि थाइल्यान्ड गएका थिए। त्यहाँको सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा उनले तीन महिनाको तालिम गरे। त्यतिबेला सिकेको सैद्धान्तिक ज्ञानलाई भरतले अहिले व्यवहारमा उतारिरहेका छन्।

“तालिम लिएको थिएँ तर अनुभव थिएन। मेरो लागि यो नयाँ काम हो, नयाँ अनुभव भइरहेको छ। शुरूमा गाह्रो पनि भएको थियो। अब सिक्दैछु,” बिहानदेखि बेलुकीसम्म त्रिभुवन विमानस्थलमा खटिएका भरतले भने, “सेनाको हेलिकप्टर कहिले कता कहिले कता जानु परिरहेको छ। बोक्ने सामग्रीको तौल, मौसमको अवस्थालगायतका विषयमा पाइलटलाई सघाउने हाम्रो काम हो।”

गत फागनुमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी बनेका थिए। ५० गोलको लक्ष्य पुरा गरेका उनी अब सन्तोष साहुखलले बनाएको १०० गोलको कीर्तिमान छुने लक्ष्यमा छन्।

२०५६ सालमा एन्फा एकेडेमी छिरेका भरत २०६३ सालमा संकटा क्लबसँग अनुबन्ध भएका थिए। संकटा क्लबबाट व्यावसायिक फुटबल शुरू गरेका भरत फ्रेण्ड्स, नेपाल पुलिस क्लब हुँदै त्रिभुवन आर्मी क्लबसँग अनुबन्ध भएका हुन्।

नेपाल पुलिस क्लबबाट लिग उपाधिको स्वाद लिइसकेका भरत गत वर्ष त्रिभुवन आर्मीलाई पनि आफ्नै कप्तानीमा उपाधि जिताउन चाहन्थे। तर, अन्तिम खेलमा मच्छिन्द्र क्लबसँग पराजित भएपछि उनको चाहना अधुरो रहन पुग्यो। बराबरी गरे मात्र पनि उपाधि पक्का हुने खेलमा त्रिभुवन आर्मी १-० ले पराजित भयो।

आखिर खेलाडी न हुन्। त्यसैले खेल्न नपाउँदाको पिडाले भने भरतलाई झस्काइरहन्छ।

“अहिले हाम्रो देश मात्र नभएर विश्व नै संकटको अवस्थामा छ। यो कठिन परिस्थितीमा काम गर्न पाउँदा गर्व लाग्छ। हिजो मैदान भित्र देशका लागि लड्थे, आज मैदान बाहिर खटिएको छु,««” भरतले भने, “यता व्यस्त भए पनि खेल्न नपाउँदा चाहिँ कस्तो खल्लो महशुस हुने रैछ, कता कता पिडा हुनेरैछ।”

भरतमात्र होइन नेपाली सेनामा आवद्ध ५५० जति खेलाडी अहिले आ-आफ्नो स्थानमा ड्युटीमा खटिएका छन्।

“हामीले विभिन्न युनिटबाट राम्रा खेलाडीहरूलाई केन्द्रमा ल्याएर खेलाउने हो। अहिले यो कोभिड-१९ महमारीले लगाइएको लकडाउनको अवस्थामा सबै आ-आफ्नो युनिटमा खटिनु भएको छ,” नेपाली सेनाको खेलकुद केन्द्रपति ब्रजेश खनाल भन्छन्।

भरतजस्तै नेपाली राष्ट्रिय महिला फुटबल टीमकी फरवार्ड हुन सावित्रा भण्डारी। महिला फुटबलमा सावित्राले आफ्नो नाममा थुप्रै कीर्तिमान बनाएकी छिन्। उनी नेपालमा मात्र होइन, भारतमा गएर पनि त्यहाँको घरेलु लिग खेलेकी थिइन्।

सावित्राले गत वर्ष भारतको महिला लिगमा गोकुलमबाट खेलेकी थिइन्। उनकै प्रेरणादायी प्रदर्शनमा गोकुलमले लिग उपाधि जितेको थियो। १६ गोल गरेकी सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बनिन्।

नेपालमै सम्पन्न दक्षिण एशियाली खेलकुदमा सावित्राले राष्ट्रिय टीमका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाइन्। यसअघि अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी सावित्राको गोल संख्या अहिले ३८ पुगेको छ।

एन्फाले महिला लिग गर्ने तयारी गरिरहेको बेलामा खेलकूद गतिविधी स्थगित भएपछि सावित्राले पनि फुटबल खेल्न पाएकी छैनन्। तैपनि उनी फुर्सदमा भने बसेकी छैनन्। सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी सावित्रा ड्युटीका लागि तयार अवस्थामा छिन्।

सशस्त्र प्रहरी बलले तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई तयारी अवस्थामा राखे पनि फिल्डमा भने खटाएको छैन। नेपाली महिला टीमले १३औं सागमा रजत पदक जितेको थियो। त्यसैले सावित्रा पनि अहिले तयार अवस्थामा छिन्।

“कोरोना भाइरस संक्रमणका कारण अहिले सारा विश्व एउटै समस्यासँग लडिरहेको छ। हाम्रो देशमा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढिरहँदा यसले अझै भयानक रूप लिन सक्छ। यो विषम परिस्थितिमा सशस्त्र प्रहरी बलमा रही देशको सेवा गर्न पाउँदा आफुलाई गौरवान्वित महशुस गरिरहेको छु,” साम्बा नामले परिचित सावित्रा भन्छिन्, “जस्तोसुकै परिस्थितीमा पनि देश र जनताको सेवामा आफुलाई समर्पित गर्नेछु। कोभिड-१९ को लडाईमा सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गर्दछु।”

एपीएफमा अहिले करारबाहेक पनि ४१६ खेलाडी छन्। एपीएफ क्लबका व्यवस्थापक सशत्र प्रहरी निरिक्षक विजय केसीका अनुसार अहिले ९७ जना खेलाडी फिल्डमा खटिएका छन्।

“हाम्रो प्लाटुन-प्लाटुन हुन्छ। १४ दिनको अन्तरालमा ड्युटी परिवर्तन भइरहन्छ। अहिले मात्र उपत्यकामा मात्र ९७ खेलाडीहरू फिल्डमा खटिएका छन्,” केसी भन्छन्, “एक लटमा त्यति खेलाडी फिल्डमा खटिएका हुन्छन्।”

नेपाल क्रिकेट टीमकी महत्वपुर्ण सदस्य इन्दु बर्मा पनि सशस्त्र प्रहरी बलकै खेलाडी हुन्। उनी पनि सावित्रा जस्तै फिल्डमा उत्रिन तयारी अवस्थामा छिन्।

ड्युटी जाने तयारीका लागि बुट कस्दै गरेकी इन्दुले भनिन्, “हामी फिल्डमै चाहिँ गएका छैनौं। स्ट्यान्डबाई बसिरहेका छौं। क्रिकेट मैदानमा खेलाडीका रूपमा देशका लागि खट्थ्यौं। अहिले सुरक्षाकर्मीको रूपमा देशका लागि खटिन पाउँदा गर्व लागेको छ। खुशी छु।”

नेपाल पुलिस क्लबका खेलाडीहरू भने अहिले फिल्डमै खटिसकेका छैनन्। नेपाल पुलिस क्लबमा करारबाहेक २८६ खेलाडी छन्।

“अहिले हामीले सबै खेलाडीहरूलाई फिल्डमा खटाउनु पर्ने अवस्था आएको छैन। खेलाडीहरू जो जहाँ जहाँ छन्, त्यही नजिकको प्रहरी चौकीमा सम्पर्कमा रहन भनेका छौं,” नेपाल पुलिसको खेलकुद शाखा इन्चार्ज प्रहरी निरिक्षक भरत शाहले भने, “सबै तयारी अवस्थामा छन्। परिआएको अवस्थामा तत्काल फिल्डमा उत्रन्छन्।”(देखापढीबाट साभार गरिएको)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा
झापाका हरिको फुटबल यात्रा
पर्यटकको रोजाईमा सन्दकपुर
प्रशिक्षकमा बलियो उपस्थिति देखाउदै प्रवेश