प्रधानमन्त्रीलाई खुल्ला पत्र ‘देश दुख्दा दुख्ने मुटु छ कि छैन?’


सम्मानिय प्रधानमन्त्री ज्यु ,

५०° को तापक्रममा विदेशमा पसिना बगाइरहदा म ती दिनहरुलाई सम्झन्छु जुन दिन म घर घरमा गएर राष्ट्रवादी बामपंथी गठवन्धनका लागि भोट माग्दैथिए ! हो प्रधानमन्त्री ज्यु , म त्यही नागरिक हु जो देशको राज्यप्रणाली, अस्थिरता र कुशासनलाई राजनीतिबाटै अन्त्य गरि बेरोजगारीले पिल्सिएर विदेश पलाएन भएका लाखौं युवाहरुलाई स्वदेश फर्काउने सोच राख्थे । अघिल्लो चुनावको समयमा बामपंथी गठबन्धनले प्रस्तुत गरेका महत्वकांक्षी योजनाहरु पढ्दा त्यसबाट म निकै प्रभावित पनि बने । सोच्थे देश अब बिकासको गतिमा अघाडि बढ्नेछ, स्थायी सरकार बन्ने छ, विदेशिएका लाखौं नेपालीहरु अब स्वदेशमै रोजगार गर्नेछन् । नभन्दै गठवन्धनले जनताको बहुमत पायो । देशमा दुई तिहाइको स्थायी सरकार बन्यो । मेरा सपनाहरु साकार बन्ने कुरामा अझ मजबुति थपियो । एकाएक म आफ्नो भविष्य देशभित्रै देख्न थाले । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ कि भन्ने अत्मबिस्वाश भित्रैबाट बढेर आयो ।

समय बित्दै गयो मेरा सपनाहरु त हेर्दाहेर्दै एकादेशको कथा झै हुनथाले । देशले दुई तिहाइको शक्तिशाली सरकार त पायो तर म जस्ता लाखौं नेपालीले आफ्नो पसिना स्वदेशमा बगाउने पनि अवसर पाएनन् । आम्दानी भन्दा ज्यादा राज्यलाई कर तिर्नुपर्ने भएपछि गरिरहेका व्यवसायहरु पनि बन्द भए । चौतर्फी भ्रष्टाचार मौलाउदै गयो । समृद्ध नेपाल र सुखी नेपालीको नारा नारामै मात्र सिमित रह्यो । अपराधीहरुले राजनीतिक संरक्षणको भरमा उन्मुक्ति पाउन थाले । बलत्कारीहरु समाजमा छाती फुलाएर हिड्न थाले । राज्यकोषको चरम दुरुपयोग भयो । युवाहरु पलायन हुने संख्या अझै बढेर गयो ।

सिमीत राजनीतिक क्षेत्रका व्याक्तिहरु वाहेक जनताको जीवनशैलीमा कुनै परिवर्तन आएन । नेतृत्व ब्याक्तिगत स्वार्थमा लिप्त भएर राष्ट्रिय स्वार्थ ओजेलमा पर्यो । जनताका लागि ल्याएको भनिएका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना देखि विदेशबाट फर्किएका युवालाई सौलियत दरमा व्यवसायीक ऋण उपलब्ध गराउने सम्मका कार्यक्रममा झुटा कागजपत्र र फर्म देखाएर राजनीतिक दलका कार्यकर्ताहरु पोसिए । अझ भनौं ती कार्यक्रमहरु सत्तारुढ दल बिशेष मात्र भयो । करारमा लिइएका कर्मचारीहरु आवश्यक योग्यता र मापदण्ड विपरीत राजनीतिक संरक्षणकै भरमा छनोट गरिए । यस्ता गलत क्रियाकलाप बिरुद्ध बोल्दा म जस्ता स्वतन्त्र नागरिक माथि आफ्नै क्षेत्रका जनप्रतिनिधिहरुबाट राजनीतिक घेराबन्दी गरियो । के नेतृत्वले आफ्ना कार्यकर्तालाई सिकाएको राजनीतिक संस्कार यहि नै थियो त भन्ने प्रश्न लिएर अन्ततः नैरश्यता र बेरोजगारीले पिल्सिदै म पनि विदेशीन बाध्य भए ।

अब अहिले बिश्वसंगै नेपाल पनि कोरोनासंगको लडाइँ लडिरहेको छ । यो कठिन समयमा म जस्ता लाखौं बिदेशीएका युवाहरु सरकारप्रति आशावादी बन्नु स्वभाविक हो । तर तपाईले दिने ती युवा लक्षित अभिव्यक्तिका कारण फेरिपनि यो आशा निराशामा परिणत हुदैछ । अर्काको देशमा पसिना बगाएर आफ्नो देशको अर्थतन्त्र धान्ने युवाहरु अहिले कोही सिमानामा त कोही सडकमा भोकभोकै भौतारिरहेका छन् । यस्तो जटिल समयमा पनि आफ्नो देश फर्कन पाउने नागरिकको अधिकारलाई किन कुन्ठित गरिदैछ ? उचित क्वारेन्टाइनको व्यवस्थापन गरि नेपाली नागरिकलाई स्वदेश फिर्काउनु सरकारको दायित्व हैन र ? विश्वलाई एकपटक नियालौ अन्य मुलुकहरुले आफ्ना जनतालाई दिएको स्वास्थ्य सेवा र संरक्षणबाट केही पाठ सिकौं ।

आफ्ना देशका लाखौं नागरिकहरु यसरी अलपत्र पर्नु र पारिनु भनेको देश दुख्नु हो । कि तपाईसंग देश दुख्दा दुख्ने मुटु छैन प्रधानमन्त्रीज्यु ? विदेशमा रहेका सबै नागरिकहरु कोरोना संक्रमित होइनन् तर चाडै नै उचित व्यवस्थापन हुन नसके त्यो अवस्थापनि सृजना नहोला भन्न सकिन्न । त्यसैले समयमै त्यसतर्फ सरकारको ध्यानाकर्षण होस् नत्र भोलि देशले ठुलो नागरिक क्षति भोग्नुपर्ने छ । यो कठिन समयलाई जनताले सरकारको परिक्षणकालका रुपमा नियालिरहदा आफ्नो गुमेको प्रतिष्ठालाई पुनर्जीवित गर्ने सन्दर्भमा जनताप्रति भद्दा मजाक नगरी संवेदनशील बन्नुहोस् । म जस्ता लाखौं जनताले दिएको भोटको अपमान नगर्नुहोस् । जनता नै देशका सर्वोच्च शक्ति हुन ।

आदरपुर्वक कृष्ण ढकाल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यो झापा हो !
मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव