बिर्तामोडको इतिहास : जिजु मुमा बडामहारानीको पेवा थियो


बिर्तामोड (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा बिर्तामोडले नयाँ परिचय बनाएको छ । तीब्र शहरीकरणतर्फ उन्मूख बिर्तामोड नगरपालिकालाई छोटो समयमा गाउँबाट नगर बन्ने सुवर्ण अवसर मिल्यो । १ नं प्रदेशको झापा जिल्लामा अबस्थित बिर्तामोड नगरपालिका, २०७१ बैशाख २५ गते साविक अनारमनी गाविस र चारपाने गाविस समावेश भई पहिलो पटक गठन भएको हो ।

त्यसपछि २०७३ फागुन २७ गते साविक बिर्तामोड नगरपालिकामा छिमेकी गरामनी गाविसलाई पनि समावेश गरिएको हो । २३ हजार ४७७ घरधुरी र १ लाख ४६ हजार ७९५ जनसंख्या रहेको बिर्तामोडको इतिहासका बारेमा खोज्ने खासै चासो राखेको जस्तो लाग्दैन । बरु भएका पुराना संरचना भत्काउने र ऐतिहासिक नामहरुलाई बदल्ने प्रयास भएको पाइन्छ । जुन दुस्प्रयासहरु भर्खरै बिर्तामोडमा बसाइ सरेर आएकाहरुले नै गर्ने गरेका छन् ।

बिर्तामोडका ८० प्रतिशत बासिन्दा बाहिरबाट आएर बसेका हुन् । बिर्तामोडको नेतृत्वसमेत ‘आयातित ’हरुको हातमा पुगेपछि पुराना कुराहरु ओझेलमा पर्दै गएका छन् । बिर्तामोड, अनारमनी, गरामनी, चारपाने लगायतका ठाउँको इतिहास, ती ठाउँहरुको नामाकरणको खोजी गर्ने सवालमा जिम्मेवार स्थानीय सरकारले समेत चासो राखेको पाइदैन । यहाँ बिर्तामोडको संक्षिप्त इतिहासका बारेमा खोजी गरी प्रस्तुत गर्नेे जमर्को गरेको छु ।

बिर्तामोडको पुरानो तस्वीर (सिद्धार्थ नवीन उप्रेतीको फेसबुकबाट)
बिर्तामोडको नामाकरण
अहिले अल्पसंख्यक र अल्पमतमा परेपनि विगतमा झापा जिल्ला भूमिपुत्र आदिबासीहरुकै थियो भन्ने कुरामा दुईमत छैन । राजवंशी , धिमाल, ताजपुरिया, गन्गाई, सन्थाल ,चौधरी, माझीजस्ता जातिकै यहाँ बसोबास थियो ।
यो झापा जिल्लाको नाम राजवंशी भाषाबाटै रहन गएको हो । राजवंशी भाषामा ‘झापा’ को अर्थ हुन्छ छोप्नु । जंगलैजंगलले ढाकिएको ( छोपिएको) ले यस जिल्लाको नाम झापा रहन गएको बयोबृद्धहरु बताउँछन् । त्यसमा कोही कसैले पनि अहिलेसम्म विमति राखेको पाइदैन । तर पनि यसलाई सरकारी तवरबाट प्रमाणित गरिएको छैन ।
त्यसैगरी साविकका गाविसहरु अनारमनी र गरामनीको नाम पनि राजवंशी भाषाबाटै रहन गएको हो । हाल कालोपत्रे रहेको बिर्तामोड —भद्रपुर सडक उहिले अत्यन्त कष्टकर थियो । बीच जंगलको बाटोबाट जोखिम मोल्दै यस क्षेत्रका मानिसहरु गोरु गाडामा किनमेलका लागि मुख्य बजार भद्रपुर जाने गर्थे ।
त्यस कच्ची सडकमा ठूलठूला खाल्डा थिए । हिउँदभन्दा बर्खामा भद्रपुर आवतजावत गर्न निकै कठिनाई हुन्थ्यो । बिर्ताबजार र गरामनी क्षेत्रमा पनि ठूलठूला खाल्डा थिए । अध्याँरो र गहिरो खाल्डाहरुमा गोरुगाडा डुब्ने र भाँसिने गर्थ्यो । बिर्ताबजार क्षेत्रमा अध्याँरो खाल्डो रहेको र त्यही खाल्डोबाट अनारमनी नाम रहन गएको भन्ने भनाइ छ । राजवंशी भाषामा ‘आन्धार ’ भनेको अध्याँरो र ‘मनी ’ भनेको खाल्डो हो । शुरुमा ‘आन्धारमनी ’ भनिएकोमा पछि अपभ्रंश गरी अनारमनी रहन गएको बताइन्छ ।
त्यस्तै गरामनी क्षेत्रमा पनि बिशाल खाल्डा थिए । धेरै गोरुगाडाहरु खाल्डामा फस्ने गर्थे । राजवंशी भाषामा ‘गाराल ’को अर्थ गाढिएको हुन्छ । भासिने खाल्डो भएकाले त्यस ठाउँलाई ‘गारालमनी ’हुँदै पछि गरामनी भनिएको भनाइ सुन्न पाइन्छ । मलाई संझना छ —मेरो घर बिर्तामोड—९ देखि बिर्तामोड—भद्रपुर सडक निस्कने बाटोमा पनि धेरै खाल्डा थिए । हलीहरुले हाँक्ने गरेको गोरुगाडा बाटोमा फस्दा उनीहरुले निकै दुख झेल्नु पर्थ्यो ।

20200515_160104
त्यसैगरी ऐतिहासिक बिर्ताबजारको पनि छुट्टै इतिहास पाइन्छ । बिर्ताबजारको निकै वर्षपछि बिर्तामोड बनेको हो । बिर्ताबजार आउने चोक अर्थात मोड भएर बिर्तामोड भएको हो । नेपाली भाषामा ‘बिर्ता’ को अर्थ हुन्छ ‘पेवा’ । यो क्षेत्र कसैलाई गरिखान पेवा दिइएको र त्यसैबाट यो ठाउँको नाम बिर्ता रहन गएको हो ।

विक्रम सम्वत् १९९४ सालअघि राजा त्रिभुवनले आफ्नी आमा जिजु मुमा बडामहारानी दिव्यश्वरी लक्ष्मी देवी शाहलाई यहाँको करिब ८ हजार विगाहा जग्गा दान दिएको र पेवाको रुपमा रानीले पाएपछि यस ठाउँलाई रानी बिर्ता भनिएको हो । त्रिभुवनका पिता पृथ्वी वीर विक्रम शाह हुन् । राजा पृथ्वीका चारजना रानी रहेका थिए । रमण राज्य लक्ष्मी देवी शाह,दिव्यश्वरी लक्ष्मी देवी शाह,किर्ती राज्य लक्ष्मी देवी शाह र दुर्गा राज्य लक्ष्मी देवी शाह ।

पिता पृथ्वी वीर विक्रम शाहको ३६ वर्षको अल्पायुमै वि.सं. १९६८ मङ्सिर २६ गते मृत्यु भएपछि त्रिभुवन राजा बनेका थिए । आफ्नी आमालाई बिर्ता दिएपछि त्यसको रेखदेखका लागि खरदार रहेका भूपालमानसिंह कार्कीलाई वि. स. १९९४ मा लप्टन बनाएर राजा त्रिभुवनले यहाँ खटाएका थिए । बिर्ता पाएको जग्गा धेरै जंगल र थोरै आवादी रहेको थियो । वि.सं.१९९२ सालमा जन्मिएका यस क्षेत्रकै पुराना जानिफकार ९५ वर्षिय शम्भुप्रसाद पोखरेलका अनुसार त्यसबेला गरामनी, चारपाने र बिर्ताबजार क्षेत्रमा केही आवादी जग्गा थियो, बाँकी सबै जंगल ।

बिर्ता हेर्ने जिम्मेवारी पाएका कार्कीले नै बिर्ता कहलिएको यस ठाउँमा हाटबजार लगाएका हुन् । उनैले वि. स. १९९५ सालमा आफ्नो भवन बनाउने बेलामा दुर्गा मन्दिर बनाइदिएको पोखरेल बताउँछन् । तर, त्यस अघिदेखि नै राजवंशीहरुले त्यस ठाउँमा फुसको घरमा दुर्गा भगवतीको पुजाआजा गर्ने गरेका थिए ।

लप्टन कार्कीले बनाइदिएको त्यस ऐतिहासिक दुर्गा मन्दिरलाई बिर्तामोड—चन्द्रगढी सडक विस्तार गर्नेक्रममा अहिले पूर्वपट्टि सारिन लागिएको छ । बिर्ताबजारको विकासमा खास योगदान दिएका कार्कीले झापाको गाउँगाउँमा बाटो र पुलहरू पनि बनाए । एक वर्षको अवधिमा उनले ४४ वटा पुल बनाएको बताइएको छ । उनले मेची र कोशीमा प्राथमिक, मिडिल र हाइस्कुलहरूको स्थापना गरे ।

खासगरेर पूर्वाञ्चलका दर्जनौ बाटो, पुल, मठमन्दिर र स्कुलमा उनको तन, मन र धनले जरा गाढेको थियो । कार्की नेपाली परिवेशमा एउटा श्रद्धेय थिए । त्यसैले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले पनि उनलाई धेरै नजिक राखे । जनरल कार्कीको मेहनत, त्याग र तपस्याले उनी एउटा सामान्य खरदारबाट क्रमशः उठ्दै लप्टन, बडाहाकिम, काठमाडौं उपत्याञ्चलको कमिश्नर, मन्त्री र राजसभा स्थायी समितिको सभापतिसम्मको आसनमा पुगे । नेपालमा प्रजातन्त्र आउने वितिक्कै मानार्थ सैनिक मानपद्वी पाउने पनि उनी नै प्रथम नेपाली थिए । उनी ब्रिगेडियर जनरलसम्म भए ।

कस्तो थियो बिर्ताबजार ?

राणाकालीन समयमा जग्गाजमिन हेर्ने र कुत असुल्ने काम जमिन्दार र पट्वारीले गर्न गर्थे । हरेक जमिन्दार र पट्वारीले हेर्ने आ—आफ्नो मौजा ( इलाका) हुन्थ्यो । मुमा बडामहारानी दिव्यश्वरी लक्ष्मी देवी शाहले बिर्ता पाएको जग्गाभित्र अनारमनी मौजा पथ्र्याे ।

त्यसबेला अनारमनी मौजाको जमिन्दार भरतबाबु प्रसाई (सिके) र पट्वारी टीकाप्रसाद प्रसाई रहेको बयोबृद्ध पोखरेल संझन्छन् । तर,बिर्ताबजारका सबैभन्दा पुराना परिवारका सदस्य भुपेन्द्रसिंह राजवंशी अनारमनी मौजाको जमिन्दार टेकबहादुर गिरी र त्यसपछि उनका छोरा पदमबहादुर गिरी रहेको दावी गर्छन् ।

आफ्ना पिता मन्डालालले त्यस मौजाको पट्वारी चलाएको भुपेन्द्र बताउँछन् । झापामा भद्रपुर र शनिश्चरेपछि बिर्तामा बजार लगाइएको भन्दै उनी भन्छन्, ‘ हप्ताको दुई दिन सोमबार र बिहीबार हाट लाग्दै आएको शुरुदेखि नै हो ।’ भुपेन्द्रकै परिवारलाई बिर्ताबजारमा सबैभन्दा पुरानो परिवारको रुपमा मानिन्छ । यहाँ उनीहरुको सातौँ पुस्ता अघिदेखिको बसोबास रहेको पाइएको छ । ‘जंगलैजंगल भएको बेला अरु कसैको घर थिएन’ भुपेन्द्र भन्छन्, ‘हाम्रो परिवार मात्र थियो ।’ बिर्तामोड क्षेत्रमै पहिलोपटक बिजुली बाल्ने श्रेय पनि त्यही परिवारलाई जान्छ । बिर्ताबजारमा पहिलोपटक मिल संचालन गरेको राजवंशी परिवारले मिल चलाउन जोडिएको जेनरेटरबाट घरमा बिजुली बालेका थिए ।

बिर्तामोड— २ चैतुबारीका ९८ वर्षिय चन्द्रप्रसाद राजवंशीलाई पनि पुरानो जानिफकारका रुपमा लिइन्छ । उनका अनुसार बिर्ताबजारको नामाकरणदेखि यसको शुरुवाती विकास लप्टन कार्कीले नै गरेका हुन् । मुमा बडामहारानीलाई बिर्ता दिइएको जग्गा विभिन्न ब्यक्तिले भोगचलन गर्ने गरेका थिए ।

पछि त्यसलाई उनीहरुले आफ्नो नाममा उतारेको बिर्ताबजारका अर्का बयोबृद्ध उपासु राजवंशी बताउँछन् । उनी भन्छन् ,‘ पछिसम्म कतिपय जग्गा बेनिशा( पूर्जाबिहीन )थियो ।’ अनारमनी गाउँ पञ्चायतको कर्मचारी रही हाल सेवा निवृत भएका उपासुका अनुसार अहिले नगरपालिका भएको जग्गा, दुर्गामन्दिर, हाट लाग्ने ठाउँको पूर्जा थिएन ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोसी कोभिड अस्पताल सम्हालेका योद्धा
पाँचथरका ‘खसी बा’को लोभलाग्दो कृषि कर्म
लकडाउनमा जसले जनताको मन जिते !
फिफाको तारिफमा नेपाली खेलाडी ‘साम्बा’